१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

भक्तपुरको बाढीलाई पानी जहाजसँग तुलना गर्नु भक्तपुरबासीको पीडालाई ठट्टा गर्नु होः बस्नेत

'ठट्टा' गर्नेलाई कारबाही गर्न सरकारलाई सांसदको ध्यानाकर्षण
मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य तथा विशेष समयमा बोल्दै सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोका कारण भोग्नु परेको समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् ।

भक्तपुरको बाढीलाई पानी जहाजसँग तुलना गर्नु भक्तपुरबासीको पीडालाई ठट्टा गर्नु होः बस्नेत

गएरातिदेखि परेको वर्षाले गएको बाढी पहिरोका कारण देभभर नै दर्जनौँ बस्ती डुबानमा परेको, नागरिक घरबास नै छाडेर हिँड्नु परेको, राजमार्गमा पहिरोका कारण जोखिम बढेको र यातायात अवरुद्ध रहेको बारेमा सांसदले सरकारको ध्यानाकर्षण गराए ।


भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतले भक्तपुरमा भएको बाढीले डुबाएको क्षेत्रलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ओली सरकारले अघि सारेको पानी जहाजको योजनासँग तुलना गरेर मानवीय संवेदनामाथि खेलवाड गरेको आरोप लगाए । उनले सामाजिक सञ्जालमा बाढीले डुबाएको भक्तपुरको फोटो राखेर पानी जहाजसँग तुलना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले मानवीय पीडामाथि ठट्टा गरेको बताए । उनले संसदको विशेष समयमा बोल्दै भने, 'यसरी सामाजिक सञ्जालमा डुबानमा परेको फोटो राखेर पानी जहाजलाई तुलना गर्नु भक्तपुबासीको पीडासँग खेलवाड गर्नु हो ।'


उनले प्रहरी र सरकारले साइबर अपराध अनुसार यसरी पीडालाई 'जोक्स' बनाएर उडाउनेहरुलाई कारबाही गर्न माग गरे । यसैबीच उनले समसयमै उद्दार गर्न सफल भएकोमा सरकारलाई धन्यवाद दिए । उनले भने, 'सरकारलाई धन्यवाद दिन चाहन्छु । राति ३ बजेदेखि उठेर सेना, प्रहरी र सशस्त्र प्रहरी उद्दारमा खटिएका छन् ।' उनले अझै उद्दार कार्य जारी राख्न आग्रह गरे । उनले पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे । उनले भने, 'बाढीले सुकुम्बासीको बस्ती बगाएको छ । भूकम्प पीडितले ज्यान गुमाएका छन् । कतिपय ठाउँमा पुल बगाउँदा आवागम ठप्प भएको छ । यतातिर सरकारले तत्काल ध्यान दिन आवश्यक छ ।' बिहीबारको बाढीले नयाँ ठिमी र बालकोट जोड्ने फलामे पुल बगाएको छ ।


सांसद बस्नेतले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सके बाढी पीडितलाई सहयोग गर्न र नसके मानवीय संवेदनालाई हाँसिमजाक नगर्न आग्रह गरे ।


यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले पूर्व सावधानी नअपनाउँदा बढीको समस्या भोग्न परेको बताए । उनले भने, 'कुन ठाउँमा घर बनाउने भन्ने सरकारी संयन्त्रले यकिन नगर्दा भक्तपुरको चाँगुनारायणमा पुरुवा माटोमाथि घर बनाउँदा तीन जनाले ज्यान गुमाए ।'


सुवालले देशका अन्य ठाउँमा पनि भारतकै कारण डुबान भइरहेको छ आरोप लगाए । 'यस विषयमा सरकारको ध्यान जाओस् । हामीलाई अहिले रेल र पानी जहाज चाहिएको छैन,' उनले भने, ' जनतालाई शुद्ध खाने पानी चाहिएको छ। जनताले उद्दार कार्य चाहेका छन् । सरकारले पूर्व सावधानी अपनाएर डुबान र पहिरोको सुरक्षा दिओस् । भक्तपुर डुबान हुनुमा नदीको अतिक्रमणले भएको हो ।'


गएरातिदेखिको अविरल वर्षाले बिहीबार भक्तपुरको राधेराधे क्षेत्र लगायत विभिन्न ठाउँमा बाढी पसेको थियो ।

प्रकाशित : असार २८, २०७५ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?