दाहालको निर्वाचन क्षेत्रमा तीन अर्ब

रासस

चितवन — भरतपुर महानगरपालिका क्षेत्रभित्र शहरी विकास मन्त्रालयमार्फत रु तीन अर्बभन्दा बढीका विकास निर्माणका योजना सुरु हुने भएका छन् ।

दाहालको निर्वाचन क्षेत्रमा तीन अर्ब

यसमध्ये अधिकांश योजना ठेक्कामा लगाई सकिएको छ भने केही ठेक्का प्रक्रियामा रहेका छन् ।


शहरी विकासले बजेट विनियोजन गरेको भरतपुर महानगर क्षेत्र चितवन क्षेत्र नं ३ पर्दछ । यो पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित क्षेत्र हो ।


शहरी विकास मन्त्रालयमार्फत सञ्चालन हुन लागेका योजनाहरुमा अधिकांशतः सडक कालोपत्र गर्ने रहेका छन् । त्यसका अतिरिक्त अत्याधुनिक सिटी हल निर्माण, देवघाटमा शवदाह स्थल, बसपार्क सुधार, मन्दिर संरक्षण, रानीपोखरी व्यवस्थापन र भरतपुर अस्पतालमा कुरुवा घर निर्माण रहेका छन् ।


भरतपुर महानगरकी प्रमुख रेणु दाहालका अनुसार दुई अर्ब रुपैयाँ बराबरको रिङरोड र लिंकरोड ठेक्का लागिसकेको छ भने अन्य ठेक्का प्रक्रियामा रहेको छ । सो बजेटबाट ५९ किलोमिटर सडक कालोपत्र गरिँदै छ ।


त्यसैगरी, सिटी हल निर्माणका लागि रु ५० करोड बजेट शहरी विकास तथा भवन निर्माण विभागले छुट्याएको छ । भरतपुर महानगरपालिका–१८ को रानीपोखरी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, वडा नं ६ को लक्ष्मीनारायण मन्दिरलाई व्यवस्थापन गर्न र ९ नं वडामा रहेको केन्द्रीय बस टर्मिनल मर्मत सम्भारका लागि रु ४५ करोड सो विभागले विनियोजन गरेको छ ।


यसैगरी, भरतपुर अस्पतालको कुरुवाघर निर्माणका लागि सात करोड ५० लाख र देवघाटमा शवदाह स्थल निर्माणका लागि १७ करोड रुपैयाँ विनियोजन भएको दाहालले बताए । सिटी हलको जग्गा टुङ्गो लागि नसकेकाले आगामी आर्थिक वर्षमा काम हुने भए पनि अन्य सबै काम यसै आर्थिक वर्षदेखि सुरु हुने दाहाल बताए ।


महानगर प्रमुख दाहालले यस क्षेत्रका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा सो बजेट आएको बताए । उनले भनिन्, 'हाम्रो महानगरको विकास बजेटभन्दा बढी शहरी विकासले बजेट दिएको छ ।' भरतपुर महानगरको आउँदो वर्षको पूँजीगत बजेट रु एक अर्ब ६२ करोड ५६ लाख मात्रै रहेको छ । महानगरको कुल बजेटमा तीन अर्ब ३४ करोडको ४८ दशमलब ६६ प्रतिशत मात्र पूँजीगत खर्च रहेको छ ।


शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनका प्रमुख कुमार घिमिरेले सघन शहरी विकास कार्यक्रमअन्तर्गत विभागले भरतपुर महानगरमा विकास निर्माणका विभिन्न काम गर्न लागेको बताए । उनका अनुसार भारतसँग सीमा जोडिएका भद्रपुरदेखि धनगढीसम्मका २१ सदरमुकामका शहरमा विभागले काम थालेको छ ।


महानगरमा ठेक्का लागिसकेका करिब रु दुई अर्ब बराबरको सडक शुक्रबार शिलान्यास हुने र २०७७ साल असार मसान्तसम्ममा सम्पन्न हुने उनले बताइन् । नेपाल सरकारको वैदेशिक ऋणबाट महानगरमा विभिन्न योजनाको काम शुरु गर्न लागिएको हो ।

प्रकाशित : असार २८, २०७५ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?