कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सरकारी डाक्टरलाई गृहमन्त्रीका सल्लाहकारको आदेश : भने अनुसार गर्नु 

– डाक्टरले दुर्व्यवहार गर्नु भयो: जनयुद्धका : घाइते– आदेश दिनेलाई कारवाही नगरे आन्दोलन : सरकारी चिकित्सक संघ – पुलिसले चोरलाई केरकार गरे जस्तो गरियो : पीडित चिकित्सक
जनकराज सापकोटा

काठमाडौँ — बीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत डाक्टर भोजराज अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सुर्य सुवेदी ‘पथिक’ले गृह मन्त्रालय झिकाएर आफुले भने अनुसार काम गर्न दबाब दिएका छन् ।

सरकारी डाक्टरलाई गृहमन्त्रीका सल्लाहकारको आदेश : भने अनुसार गर्नु 

मंगलबार पथिकले डाक्टर अधिकारीलाई गृह मन्त्रालयमा बोलाएर अनुचित दबाब दिएका हुन् । सरकारी चिकित्सक संघले डाक्टर अधिकारीलाई ‘अपहरणको शैली’मा गृह मन्त्रालय लगिएको बताएको छ ।


द्वन्द्वकालका घाईतेहरुको अपांगताको रिपोर्ट ट्रमा सेन्टरका चिकित्सकहरुले स्वास्थ्य जाँच पछि दिईने रिपोर्टका आधारमा हुँदै आएको छ । यस्तो रिपोर्ट बनाउँदा आफुले भनेअनुसारको गर्नका निम्ति गृहमन्त्रीका सल्लाहकार पथिकले डाक्टरलाई अनुचित दबाब दिएका हुन् । पथिकले डाक्टरलाई गृह मन्त्रालयभित्रै बोलाएर केही जनयुद्धका घाईतेहरुको वर्गीकरण ‘मिलाएर’ गरिदिन दबाब दिएका थिए ।


कान्तिपुरसँगको कुराकानीमा पथिकले डाक्टरलाई आफुले गृह मन्त्रालयमा भेटेको र जनयुद्धका घाईतेहरुको वर्गीकरणको विषयमा कुरा भएको बताए । घाईतेको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने बर्गिकरणका आधारमा जनयुद्धका घाईतेहरुले विभिन्न शिर्षकका सुविधा पाउँदै आएका छन् । वर्गीकरणको माथिल्लो सुचीमा नाम पार्न सके धेरै सुविधा पाउन सकिने भएपछि पथिकले डाक्टरलाई दबाब दिएर केहीको रिपोर्ट मिलाएर बनाउन अह्राएका थिए । पथिकले भने, ‘त्यस्तो खास केही होईन । कुरा मिलिसक्यो । भेटेरै गफ गरौंला ।’

डा. अधिकारीले भने कान्तिपुरसंग पुलिसले चोरलाई थर्काए जस्तो व्यवहार गरेको बताए । 'वर्गिकरणको विषयमा तपाईले जे काम गर्नु भयो, त्यो ठिक भएन भन्ने उहाँको कुरा थियो' अधिकारीले भने । उनले आफुलाई २ घण्टा मन्त्रालयमा राखेर थर्काएको बताए ।


पथिकले ठाडो आदेशमा अस्पतालमा कार्यरत डाक्टरलाई गृह मन्त्रालय बोलाएर आफुले भनेअनुसार काम गर्न अह्राएको विषयलाई ट्रमा सेन्टरका कार्यरत चिकित्सकहरुले आफुमाथिको अपमान र अनुचित कामका निम्ति दिइएको दबाबका रुपमा बुझेका छन् । गृहमन्त्रीका सल्लाहकारको अनुचित दबाब पछि ट्रमा सेन्टरले तत्काललाई मेडिकल रिपोर्ट बनाउने काम बन्द गर्ने निर्णय गरेको छ ।


सरकारी चिकित्सक संघ नेपालले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डाक्टर भोजराज अधिकारीलाई ‘अपहरणको शैली’मा गृह मन्त्रालयमा लगेर घन्टौं दुर्व्यवहार गरेको भन्दै खेद प्रकट गरेको छ । दोषी उपर कडा कार्वाहीको माग गर्दै संघले कार्वाही नगरे जस्तो सुकै कडा कदम चाल्न बाध्य हुने जनाएको छ ।

गृह मन्त्रालयले भने द्वन्द्वका घाईतेहरुको सम्बन्धमा छलफलका लागि बोलाएको जनाएको छ । बोलाउँदा आफ्नो गाडी छैन, गाडी पठाई दिनुस भनेपछि गाडी पठाइएको गृहमन्त्रीको प्रेस सल्लाहकार किरण भट्टराईले बताए । उनले गृह मन्त्रालय अन्तर्गतको सशस्त्र द्वन्द्वमा घाईते भई अपांगता भएका व्यक्तिहरुको प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि २०७४ अनुसार गठित प्राविधिक समितिका सदस्य रहेका डाक्टरलाई छलफलका लागि बोलाउने अधिकार गृहसँग भएको बताए । तर, गृह स्रोतका अनुसार मंगलबार उक्त विषयका पुर्व निर्धारित कुनै छलफल कार्यक्रम गृह मन्त्रालयमा राखिएको थिएन् । सल्लाहकार भट्टराईले द्वन्द्वका क्रममा अपांग भएकाहरुलाई डाक्टरले दुर्व्यवहार गरे भन्ने रिपोर्ट गृहमा आएको समेत दाबी गरे । सल्लाहकारले भट्टराईले डाक्टरलाई लिन गाडी पठाइएको बताए पनि सल्लाहकार पथिकले भने कान्तिपुरसँगको कुराकानीमा गाडी नपठाएको बताएका छन् ।


अन्याय गरियो, अदालत जान्छौं : घाईते पदमराज परियार


हामीलाई डाक्टर भोजराज अधिकारीले दुर्व्यवहार गरे । रोल्पाकी सीता महरा जसको एउटा खुटट्को घुडा भन्दा तल छैन् । उनलाई सरकारले पहिले ६५ प्रतिशत अपांग भनेको थियो । पछिल्लो कार्यविधि अनुसार पनि उनको अपांगता ६५ प्रतिशत नै देखिन्छ । तर अहिले भोजराज सरले ३५ प्रतिशत तोकिदिनुभयो । त्यही विषयमा कुरा राख्न मंगलबार हामी सात जना वहाँलाई भेटन ट्रमा सेन्टर पुगेका थियौं ।


हामीले डाक्टर साव काम गर्नुहुन्छ भने तपाई कार्यविधि अनुसार काम गर्नुस् भनेर भन्यौं । तर डाक्टरसापले कार्यविधि अनुसार होईन म जे देख्छु त्यही गर्छु भन्नुभयो । यसरी त हामी १४ सय घाईते साथीको जीवन बर्बाद हुदैछ । डाक्टरले त हामीलाई तपाईहरुले गोली हाने पनि म काम गर्दिन भन्नुभयो ।


त्यसपछि हामी गृह मन्त्रीका स्वकिय सचिव विरु तामाङलाई भेटन गृह मन्त्रालय गयौं । हामीलाई अन्याय भयो, अभद्र व्यवहार गरियो भन्यौं । कार्यविधि अनुसार काम गर्नुपऱ्यो त्यस्तो डाक्टर हुँदैन भन्यौं । गोली हान्नुस् म गर्दिन मेरो अधिकारको कुरा हो भन्ने डाक्टरलाई कि सम्झाउनुभयो कि चेन्ज गर्नुपऱ्यो भन्ने कुरा राख्यौं । डाक्टरले हाम्रो पेटमा लात मार्नुभयो । वहाँ त काँग्रेसले नियुक्त गरेको मान्छे रैछ । वामपन्थीले गर्दा देश विगार्न थाले भनेर डक्टरले भन्नुभयो ।


केही होईन, बसेरै कुरा गरौला : पथिक

तपाईले ट्रमा सेन्टरको एकजना डाक्टरलाई गृह मन्त्रालय बोलाउनुभयो भन्ने कुरा बाहिर आईरहेको छ । खास कुरा के हो ?


त्यो खासै केही कुरा होईन । घाईतेहरुको वर्गीकरण तिनीहरुले गर्दैछन् । त्यसमा के के भएको छ भनेर बुझ्न हो । छलफल गर्न हो । अरु केही होईन ।

त्यति कुरा बुझ्न एक जना डाक्टरलाई सोझै गृह बोलाउनुभएको ?


उनले नै त्यो काम गरेका रहेछन् । त्यही भएर उनलाई बोलाएको । अरुले गरेको भए अरुलाई बोलाउथे ।


के छलफल भयो त ?


केही भएको छैन । राम्रै भएको छ ।


गृहमा के विषयमा मुख्य छलफल भयो ?


बसेर कुरा गरौला ।


फोनमा कुरा गर्न मिल्दैन ?


केही पनि होईन खासमा । घाईतेहरुको पुनर्मुल्याकंनको कुरा थियो । पुनर्मुल्याकंनको सन्दर्भमा के के प्रगति भईरहेको छ । अलि अलि घाईतेहरुको गुनासो गरेका थिए । हाम्रो पर्सेन्टेज घट्यो भनेर । त्यही हो ।


पर्सेन्टेज घट्यो भनेपनि त्यसबारे बुझ्न त विधिसम्मत प्रक्रिया हुन्छ होला नि त । तपाईले सोझै गृह बोलाएर सोध्दा त्यसको अर्थ अर्नथ लाग्ने हुदैन र ?


त्यस्तो होईन ।


तपाईले बोलाउनु भयो अनि लिन गाडी पठाउनुभयो कि वहाँ आफै आउनुभएको हो ?

आफै आउनुभएको हो ।


गाडी पठाउनुभएको पनि होईन ?


होईन ।


डक्टर कति समय गृह मन्त्रालय बस्नुभयो त ?


मसँग त दस मिनेट कुरा भएको हो । त्यो भन्दा धेरै कुरा भएको छैन ।

गृह मन्त्रीसँग पनि कुरा भएको हो ?


होईन ।




प्रकाशित : असार २८, २०७५ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?