कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

उपकुलपति कोइरालालाई कारबाही गर्न माग

सुदीप कैनी

काठमाडौँ — नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाई कारबाही गर्न माग गरेका छन् ।

उपकुलपति कोइरालालाई कारबाही गर्न माग

कोइरालाले विश्वविद्यालयको ऐन, नियम, विधि तथा प्रचलित परम्पराको उल्लंघन गरेर अनियमितता गर्दै आएको भन्दै दुवै संगठनले बुधबार प्रेस विज्ञप्ति निकालेर छानबिन गरी कारबाही गर्न कुलपति तथा प्रधानमन्त्रीसँग माग गरेका हुन् । ‘कुलपति भन्दा पनि अमुक राजनीतिक दलको कार्यकर्ता रहेको सार्वजनिक अभिव्यक्ति दिनु उपकुलपतिको पदको मर्यादा र गौरवलाई समेत चुनौती दिनु अराजकताको चरमोत्कर्ष हो,’ विज्ञप्तिमा भनिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा भने सत्तापक्षीय दुवै प्राध्यापक संगठन मौन छन् । उपकुलपति कोइराला कांग्रेस निकट हुन् ।


विश्व संस्कृत सम्मेलनमा जाँदा सामान्य प्रक्रियामा पनि पूरा नगरेकाले उनीमाथि छानबिनसहित कारबाहीको माग गरिएको हो । ‘प्रक्रिया पूरा नगरेका कारण सम्मेलन जान नपाउनुमा उपकुलपति नै जिम्मेवार हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।


उपकुलपति कोइरालाले विश्वविद्यालयमा गरेका अनियमितिहरुको सूची दाबी र आरोपसहित विज्ञप्तिमा समावेश गरिएको छ । संस्कृत विश्वविद्यालयअन्तर्गत १४ वटा विद्यापीठहरुमध्ये १३ वटामा प्राचार्य र अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरु आफुखुसी नियुक्त गरेको आरोप छ । सुरुमा ३ महिना र पछि अर्को व्यवस्था नभएसम्मका लागि भनेर प्राचार्य र अनुसन्धान केन्द्रका निर्देशक नियुक्त गर्नु गैरकानुनी भएको प्राध्यापक संगठनहरुको ठहर छ । संस्कृत सम्मेलनमा सहभागी हुन गएका अन्य ६ व्यक्ति पनि गैरसंस्कृतविद् रहेको विज्ञप्तिमा उल्लेख छ ।


उपकुलपति कोइरालालाई नियन्त्रणमा लिएर भ्रमणमा जान रोकिएको घटनाले प्राज्ञिक क्षेत्र र संस्कृत विश्वविद्यालयका पदाधिकारी समेत विभाजित हुँदै गएका हुन् । संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष रमेशप्रसाद ढकालले उपकुलपतिले आफूखुसी गतिविधि गर्दा विश्वविद्यालय नै बदनाम भएको बताए ।


क्यानाडामा भएको सम्मेलनमा गएका अनुसन्धान केन्द्रका निर्देशक काशीनाथ न्यौपाने बौद्ध दर्शन, वाल्मिकी विद्यापीठका प्राचार्य गणेशप्रसाद घिमिरे नेपाली, प्राध्यापक संघका अध्यक्ष नवराज कट्टेल नेपाली, सहपाध्यापक लेखप्रसाद निरौला नेपाली, उपप्राध्यापक प्रेमराज न्यौपाने बौद्ध दर्शन र उपप्राध्यापक केशव कोइराला तन्त्र विषयको रहेको ढकालले जानकारी दिए ।


संस्कृत विज्ञहरुलाई उपेक्षा गर्दै आफ्नो स्वार्थ अनुकूलका व्यक्तिलाई भ्रमणमा सहभागी गराइएको प्राध्यापक संगठनहरुको आरोप छ । विश्वविद्यालयका कुलसचिव कात्तिकेय झा पनि उपकुलपतिका गतिविधिप्रति असन्तुष्ट छन् ।

प्रकाशित : असार २८, २०७५ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?