नेपाली कामदार आपूर्ति गर्न मलेसियालाई दबाब

– नेपाली कामदार छिट्टै आउनेछन् : मलेसियाली गृहमन्त्री 
– कामदारमाथि लाग्ने भार हट्नुपर्छ : नेपाली श्रममन्त्री 
होम कार्की

काठमाडौँ — नेपाली कामदारलाई यथाशक्य छिटो ल्याउने वातावरण बनाउन रोजगारदाताले मलेसियन सरकारलाई दबाब दिएका छन् । नेपालले जेठ पहिलो सातादेखि नै मलेसियामा कामदार पठाउन रोक लगाएको छ । मलेसियामा सक्रिय रोजगारदाताको संगठनले गृह र मानव संसाधन मन्त्रीलाई भेटी नेपाल सरकारसँग छलफल गरेर मलेसियामाथि लगाइएको रोक हटाउन दबाब दिएको हो ।

सुरक्षा गार्ड आपूर्ति गर्ने झन्डै ७ सय रोजगारदाताको छाता संगठन ‘पीपीकेके एम’ को अग्रसरतामा बिहीबार पुत्राजयस्थित गृह मन्त्रालयमा दुई घण्टा धर्ना दिइएको थियो । वैदेशिक रोजगार व्यवसायी संघले नेपाल सरकारले श्रम स्वीकृतिमा रोक लगाउनुको कारणबारे मलेसियाका रोजगारदातालाई आधिकारिक जानकारी दिएपछि उनीहरूले आफ्नो सरकारलाई दबाब दिएका हुन् ।

सरकारले पूर्वस्वीकृतिमा रोक लगाउनुका साथै अन्तर्वार्ता पास भई भिसा आइसकेका झन्डै १३ हजार कामदारको अन्तिम स्वीकृतिसमेत रोकेको छ । आर्थिक भार पार्ने गरी लागू गरिएका व्यवस्था नहटाएसम्म कामदार नपठाउने नेपालको निर्णयसँगै जेठ पहिलो सातादेखि रोजगारदाताले नेपाली कामदार लैजान पाएका छैनन् । यसको सबैभन्दा बढी असर सुरक्षा गार्डको क्षेत्रमा परेको छ ।

मलेसियाले नेपालबाट मात्रै सुरक्षा गार्ड लिन पाउने व्यवस्था छ । सुरक्षा गार्ड आपूर्ति गर्ने रोजगारदाताले आफूहरू निकै समस्यामा परेको भन्दै यथाशक्य नेपाली कामदार ल्याउने वातावरण मिलाउन गृह मन्त्रालयलाई दबाब दिएको वैदेशिक रोजगार व्यवसायी संघका विशेष प्रतिनिधि कुमार केसीले बताए । ‘उत्पादन, फर्निचरलगायत क्षेत्रमा आबद्ध रोजगारदाताको छुट्टाछुट्टै संगठन क्रियाशील छन्, उनीहरूले सम्बन्धित मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छन्,’ मलेसियामा रहेका केसीले कान्तिपुरसँग भने, ‘सुरक्षा गार्डमा काम गर्ने रोजगारदाताले भने धर्ना नै दिए ।’

नेपाल सरकारले लिएको निर्णयबारे मलेसियाका रोजगारदातालाई जानकारी दिन संघले विशेष प्रतिनिधिका रूपमा केसीलाई पठाएको हो । मलेसियाले सरकारी कर्मचारीलाई सहजीकरण गर्ने विवादास्पद ‘माइजी’ कम्पनी खारेज गरेपछि रोजगारदाताले नेपाली कामदार नपाउने स्थिति बनेको छ । माइजीले मलेसियामै कार्यरत नेपाली कामदार उपलब्ध गराउने गथ्र्यो । यो कम्पनी जुलाई ३१ देखि बन्द हुँदै छ ।

मलेसिया सरकारले नेपाली कामदार ल्याउने वातावरण छिट्टै बन्ने जनाएको छ । ‘अर्को साता संसद् बैठक बस्दै छ । त्यसपछि यो विषय अगाडि बढ्नेछ । आशा छ, नेपालबाट छिट्टै कामदार आउने वातावरण बन्नेछ,’ गृहमन्त्री म्युहिदिन यासिनको भनाइ उद्धृत गर्दै रोजगारदाताका प्रतिनिधि पुवहन नथनमले भने, ‘नेपाली कामदारको विषय चाँडै हल हुनेछ । तपाईंहरूले राम्रो समचार पाउनुहुनेछ ।’

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले कामदारमाथि पर्ने आर्थिक भार पूर्ण रूपमा हट्नुपर्ने आफ्नो अडान यथावत् राखेको छ । ‘मलेसियाले नेपाली कामदारमाथि पूर्ववत् अवस्थामा थुपारेको भार पूर्ण रूपमा हटाउँछ भन्ने मैले आशा राखेको छु,’ श्रममन्त्री गोकर्ण विष्टले भने, ‘हालको स्थिति हटाउनका लागि कूटनीतिक तहबाट छलफल भइरहेको छ ।’

प्रकाशित : असार २८, २०७५ १८:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

यस्तो छ भक्तपुरमा डुबानबाट भएको क्षति विवरण, सात घण्टापछि खुल्यो राजमार्ग 

रमेश गिरी/रासस

भक्तपुर — अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भए ।

घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन हजारौं बासिन्दा बिचल्लीमा परेका छन् ।

बुधबार राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको थियो । नगरकोट, बागेश्वरी, छालिङ्ग, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एक मात्र निकासका रुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको हो ।

डुबानबाट अथाह क्षति

हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुर नगरपालिकाको जगाते, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौँ घर डुबानमा परेका छन् । यहाँका टहरा र माटोका घरहरु भत्किएका छन् भने जगातीस्थित सिद्धिस्मृति अस्पताल डुबानमा परेको छ । डुबानका कारण अस्पतालको उपचार प्रभावित हुनाका साथै आकस्मिक कक्ष बन्द भएको छ । यहाँका प्राविधिक सामानहरुमा समेत क्षति पुगेको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिए ।

त्यसैगरी, डा इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको र यन्त्र उपकरणमा क्षति पुगेको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए । भक्तपुरको राम मन्दिर र यहाँ सँगैको शान्ति निकेतन मावि डुबानमा पर्दा यहाँको पढाइ बन्द भएको छ ।

त्यसैगरी, मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र पूरै डुबानमा परेको छ । जमीन सतहबाट आठ फिट माथिसम्म पानी आएपछि विशेषगरी भुइँतला घरमा बस्नेहरुको सुरक्षाकर्मी र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उद्धार गरेको थियो ।

रातिदेखि नै पानी बस्तीमा पसेको थियो भने बिहानीपख बस्तीमा पानीको सतह बढ्दै गएको थियो । यहाँका बासिन्दाको भुइँतलाको सामानहरुमा क्षति पुगेको छ । बहुतले घरका मानिसबाहिर निस्कन नसक्दा कार्यालय, व्यवसाय र विद्यालय जाने मानिसहरु घरमै रोकिए । भुइँतलासम्म डुबानमा परेपछि त्यहाँका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिएको थियो ।

सूर्यविनायक नगरपालिका क्षेत्रको सिरुटार, बालकोट र कटुञ्जे क्षेत्रमा बाढी पसेर विनाश गरेको छ । कौशल्टार पुलमा बाढीले क्षति पुर्‍याएको छ भने बालकोट, कौशल्टार, सागबारी, कटुञ्जे क्षेत्रका माटोका भुइँतला घर र टहराहरु बगाएको छ । गोठहरुसँगै गाई, बंगुर, कुखुरा, बाख्राहरुसमेत पानीले बगाएको छ । बाढीका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति र पशुपक्षीको क्षति भएको तर के कति संख्यामा क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेको प्रहरीले बताएको छ ।

मध्यपुर अस्पताल, एसएसकलेज, सिबर्ड कलेज, अक्सफोर्ड स्कूल र ग्लोरी स्कूल डुबानमा परेको छ भने डुबानमा परेका बस्तीका बासिन्दालाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्नाका साथै डुँगा सञ्चालन गरेर सुरक्षित स्थानमा पुर्‍याएको थियो । यहाँका बासिन्दा दिउँसो अबेरसम्म पनि सहज रुपमा बाहिर निस्कन सकेका छैनन् । बजारसमेत डुबानमा परेकाले सयौं व्यापारीको खाद्यान्न, विद्युतीय सामान र भाटभाटेनी सुपर मार्केटका सामानहरु क्षति भएका छन् । डुबान क्षेत्रका एक दर्जन विद्यालय बन्द भएको छ ।

यता मनोहरा सुकुम्वासी बस्ती पूरै डुबानमा परेको छ । जडीबुटीस्थित मनोहरा खोला किनारामा रहेको सुकुम्वासी बस्ती पूरै डुबानमा पर्दा यहाँका बासिन्दाले राति १ बजेदेखि जागा बस्नु परेको स्थानीयवासीले बताएका छन् ।

सात घण्टापछि खुल्यो राजमार्ग

डुबानका कारण सडकमाथि तीन फिटसम्म पानी बगेपछि मध्यपुरथिमि शंखधरचोकदेखि सूर्यविनायकसम्म बन्द रहेको अरनिको राजमार्ग सात घण्टापछि सञ्चालन भएको छ । बिहान ५ देखि बन्द राजमार्ग मध्याह्न १२ बजेपछि सञ्चालनमा आएको थियो । बन्द अवधिभर राजमार्गमा यातायातका साधन रोकिँदा यात्रुहरु अलपत्र परेका थिए ।

तीनको मृत्यु, १५ घर भत्किए

अविरल वर्षाका कारण आएको पहिरोले घर थिच्दा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार मृत्यु हुनेमा ७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा, नातिनी २ वर्ष ६ महिनाकी सम्पदा लामाको मृत्यु भएको छ । छोरा बुहारी भने पक्कीघरमा बसेकाले जीवित रहेको प्रहरीको भनाइ छ । राति पहिरोले थिचेर मृत्यु भए पनि परिवारले भने बिहान मात्रै थाहा पाएर शव निकाल्न लगाएको थियो । मृतक तीन जनाको शव भक्तपुर अस्पतालमा राखिएको छ ।

पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङ्गमा दुई गरी १५ वटा घर भत्किएको छ भने बाढीले कति टहरा र माटोको घर भत्काए भन्ने तथ्यांक आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ । बाढीमा कति धनसम्पत्तिको क्षति भयो भन्ने यकिन तथ्यांक केही दिनपछि आउने बताइएको छ । पहिरोमा परेका र बास नभएकाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले पाल, भाडाकुँडा लगायतका सामग्री वितरण गरेको छ ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुखहरु सहितको टोलीले बिहीबार बाढी, पहिरो र डुबान क्षेत्रको निरीक्षण गरेको छ ।

टोलीले चाँगुनारायण नगरपालिकाको कुइँकेल गाउँमा पुगेर मनोहरा नदीले कटान गरी पुर्‍याएको क्षतिको अनुगमन गर्नुभयो । धार परिवर्तन गरी बस्ती नजिकै आएको मनोहरा नदीको कटानले बस्ती जोखिममा पारेकाले तत्कालै बस्ती सुरक्षित गर्न आवश्यक पहल थाल्न स्थानीयवासीले टोलीसँग माग गरेका छन् ।

प्रकाशित : असार २८, २०७५ १८:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT