३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चीन उडे ‘भद्र’ र ‘रुपसी’

अर्को जोडी साउनभित्रै पठाउने सरकारको तयारी 
अब्दुल्लाह मियाँ

काठमाडौँ — नेपालले उपहारस्वरुप चीनलाई दिएको जोडी गै‌ंडा लिएर चीनियाँ कार्गो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको छ । प्रधानमन्त्री केपी ओलीले दुई वर्ष दुई दिन अघिको निर्णयअनुसार बिहीबार दिउँसो छिमेकी मुलुक चीनलाई हस्तान्तरण गरेको एक जोडी गैंडा साँझ चीन उडेको हो ।

चीन उडे ‘भद्र’ र ‘रुपसी’

‘भद्र’ र ‘रुपसी’ नाम दिइएका गैंडा चिनियाँ कार्गो विमानबाट बिहीबार नै चीनको ग्वान्जाओ पुग्ने छन् ।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा २०७३ असार २६ को मन्त्रिपरिषद्ले चीनलाई दुई जोडी एकसिंगे गैंडा उपहार दिने निर्णय गरेको थियो । तत्कालीन वनमन्त्री अग्निप्रसाद सापकोटाले उक्त प्रस्ताव मन्त्रिपरिषद् लगेका थिए ।

अर्को जोडी पनि साउनभित्रै हस्तान्तरण गर्ने सरकारको तयारी छ । ती जोडी सौराहास्थित् ‘बुमा’मा छन् । साईटिसमा एक पटकमा कुनै मुलुकलाई एक जोडी वन्यजन्तु मात्र उपहार दिनसक्ने व्यवस्था भएकाले दुई पटक गरेर गैंडा हस्तान्तरण गर्न खोजिएको हो ।


राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को खुमलटारस्थित् परिसरमा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले साइटिस निर्यात प्रमाण पत्र, प्रजाति उत्पत्ति प्रमाणपत्रसहित जोडी गैंडा चिनियाँ राजदूत हु होङलाई हस्तान्तरण गरेका हुन् ।

गैंडा हस्तान्तरणअघि ११ असारमा नेपाल र चीन सरकारबीच सम्झौता भएको थियो । त्यसअघि २०७४ वैशाखमा चीनको चीनको राज्य वन प्रशासनसँग पनि सम्झौता भएको थियो ।

ती गैंडालाई चितवनको सौराहाबाट काठको बाकसभित्र राखेर मंगलवार राती काठमाडौं ल्याइएको थियो । उपहार दिइएका दुबै करिब दुई वर्षका हुन् । भालेको तौल ९ र पोथीको तौल करिब १२ सय किलो छ ।

राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खडकाका अनुसार भालेलाई चितवन निकुञ्जको खोरियामुहान र पोथीलाई निकुञ्जकै सुखिभार क्षेत्रबाट नियन्त्रण गरिएको हो । गत वैशाखमा नियन्त्रण गरेर सौराहास्थित् बुमामा राखेर हेरचाह गरिएको थियो ।


यी जोडी गैंडालाई ग्वान्जाओ चेमेलोङ सफारी पार्कमा राखिनेछ । यसअघि उक्त पार्कको हावापानी, वासस्थान, आहार र घाँसे मैदानबारे विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईको नेतृत्वमा गएको नेपाली विशेषज्ञहरुको टोलीले अध्ययन गरिसकेका छन् ।


नेपाली गैंडा राखिने पार्कको अवस्था हेर्न बुधवारै भेटेरिनरी चिकित्सक किरण रिजालसहित वन्यजन्तु प्राविधिकहरु दीपप्रसाद चौधरी र विनोद दराई ग्वान्जाओ गएका छन् । बिहीबार पनि गैंडासंग निकुञ्जका भेटेरिनरी चिकित्सक कमलप्रसाद गैरे र तीर्थ लामा गएका छन् ।

उनीहरुले नयाँ वासस्थानबारे अध्ययन गर्दै खानपिन र तीनका आनिबानी र गतिविधिबारे चिनिया प्राविधिकहरुलाई जानकारी गराउनेछन् ।


गैंडा हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले भद्र र रुपसीको ग्वान्जाओ बसाई स्वस्थ्य र सुखी हुने विश्वास व्यक्त गरे । ‘यी जोडीले आफ्नै घर ठानेर सुखी र खुसी भएर रमाएर बाँच्ने अपेक्षा छ,’ ओलीले भने, ‘हामी माइतीजस्ता भए पनि त्यहाँ जाँदा हालखबर बुझ्ने नै छौँ ।’


चिनियाँ राजदूत होङले यी दुर्लभ गैंडाको रेखदेख र हेरचाह गर्ने जिम्मा आफ्नो मुलुकको भएकाले निश्चिन्त बन्न आग्रह गरिन् ।

प्रकाशित : असार २८, २०७५ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?