१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भक्तपुर डुबान : मृतकका परिवारलाई जनही १ लाख, विस्थापितलाई १० हजार 

काठमाडौँ — भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा पहिरोले टहरा पुरिँदा मृत्यु भएकाका परिवारलाई जनही १ लाख रुपैयाँ राहत दिने भएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर अविरल वर्षापछि आएको पहिरोले टहरो पुरिँदा मृत्यु भएका एकै घरका तीन जनालाई जिल्ला विपद् व्यवस्थापन समितिबाट जनही एक लाख राहत वितरण गर्ने निर्णय भएको जनाएको छ ।

भक्तपुर डुबान : मृतकका परिवारलाई जनही १ लाख, विस्थापितलाई १० हजार 

बुधबार रातिदेखिको वर्षाका कारण घरपछाडिबाट पहिरो खस्दा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको थियो ।


त्यस्तै उक्त क्षेत्रका बाढी र पहिरोबाट विस्थापितको प्रतिपरिवारलाई १० हजार राहत तत्काल वितरण गर्ने निर्णय पनि भएको विज्ञप्तिमा उल्लेख छ । बुधबार रातिदेखिको पानीले काठमाडौं उपत्यकाका तीनै जिल्ला, उपत्यका बाहिरका काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङ, रसुवा, गोरखालगायत जिल्ला प्रभावित भएको भन्दै मन्त्रालयले ती क्षेत्रहरुमा नेपाली सेना, प्रहरी उद्धारमा खटाइएको बताएको छ । यस्तै सिन्धुली-धुलिखेल सडक विभिन्न स्थान पहिरोका कारण अवरुद्ध भएकोले आवागमन खुलाउन कार्य भइरहेको पनि जनाइएको छ ।


लगातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण सयौं घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।


त्यसैगरी भक्तपुरको जगाते, हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन मावि लगायतका बिभिन्न विद्यालयहरु समेत डुबानमा छन् ।

प्रकाशित : असार २८, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?