सरकार किम जोङ उनको शैलीमा : कांग्रेस

काठमाडौँ — सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति र ट्रमा सेन्टरका चिकित्सकलाई दुर्व्यवहार गरेर जनतालाई तर्साउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्‍मा विरोध गरेका छन् । 

सरकार किम जोङ उनको शैलीमा : कांग्रेस

कांग्रेस नेता प्रदीप गिरीले क्यानाडा जान लागेका संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला र ट्रमा सेन्टरका चिकित्सक डा. भोजराज अधिकारीलाई दुर्व्यवहार गरेर सरकारले तुजुक देखाएको बताए । ‘सरकारले जनतालाई तर्साउन खोजेको छ’ प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै गिरीले भने, ‘हाम्रा प्रधानमन्त्री दक्षिण एसियाकै शक्तिशाली हुनुहुन्छ । अहिले प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो । तुजुक र दम्भ देखाउने बेला होइन । उपकुलपतिमाथि भएको दुर्व्यवहारको घटना अन्जानमा भएको हो भने हुन्छ ।’


उनले सरकारले गरेको यी दुई दुर्व्यवहारको घटनाले लोकतन्त्र माथि नै प्रहार भएको आरोप लगाएका छन् । लोकतन्त्रमा जनतादेखि सरकार डराउने र तानाशाही व्यवस्थामा मात्र सरकारदेखि जनता डराउने गरेको उनले बताए ।


शून्य समयमा कांग्रेस सांसद अमरेशकुमार सिंहले ट्रमा सेन्टरका डा. अधिकारीलाई गृहमन्त्रीको आदेशमा अपरहण शैलीमा लगिएको भन्दै विरोध जनाए । सरकारले उत्तर कोरियाली नेता किमजोङ उनको शैलीमा बुद्धिजीवीलाई तसाईरहेको सिंहले बताए । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले उपकुलपति कोइरालालाई सम्मेलनमा पठाउन सरकारलाई आग्रह गरे । उपकुलपतिलाई क्यानडामा जान नदिएर मुलुकको स्वाभिमानमाथि क्षति भएको उनले बताए । ‘समापन समारोहमा भए पनि उपकुलपति कोइरालालाई पठाइयोस्,’ उनले भने, ‘नेपालको पहिचान, इज्जत र प्रतिष्ठामा आँच आउने काम नहोस् ।’


गिरीले डा.गोविन्द केसीले उठाएको मागमा सिंगो संसद् पार्टीको ह्वीपअनुसार पक्ष र विपक्षमा विभाजित भएकामा असन्तुष्टि जनाए । राजपाका सांसद अनिलकुमार झाले आफ्नो पार्टी केसीको सत्याग्रहको पक्षमा रहेको बताए । नेकपाका सांसद मोहन बानियाँले केसीको अनशनलाई बेमौसमी बाजा भन्दै कानुन हातमा लिने गरी अनशन बसेकोमा विरोध जनाए । ‘कसलाई के खान मन लाग्छ, उसलाई सरकारले पुर्‍याउन सक्दैन’ उनले भने ।


नेकपाका किसान श्रेष्ठले काठमाडौं उपत्यकाका सडक हिलाम्मे हुँदा पनि सरकारले नबनाएकोमा आपत्ति जनाए । सडकले नगरपालिका, नगरपालिकाले मेलम्ची आयोजनालाई दोष दिएर उम्कने गरेकोसमेत उनले बताए । सांसद कृष्णभक्त पोखरेलले नारायणघाट–मुङलिङ सडकमा भौगर्गिक अध्ययनबिनै अर्बौ रुपैयाँ खर्च गरेकोमा विरोध जनाए ।


सांसद खगराज अधिकारीले कास्की र म्याग्दीलाई हिमाली जिल्लामा राख्न माग गरे । नेकपाकै अर्का सांसद गणेश ठगुन्नाले दार्चुलालाई बाढीग्रस्त क्षेत्र घोषणा गर्न सरकारसंग माग राखे । नेकपाका सांसद गंगाबहादुर तामाङले बनेपा र पनौतीमा बाढी आउँदा किसानको धानबाली नष्ट भएकोले राहतको व्यवस्था गर्नु पर्ने बताए । उनले रोशी खोलाको क्रसर उद्योग नियमन गर्न सरकारसंग माग राखे । कांग्रेस सांसद जिपछिरिङ लामाले दोलखाका भूकम्पपीडितले तेस्रो किस्ता पाउन नसकेको बताए । भूकम्पले क्षति भएको गुम्बा अझै पनि त्रिपाल र जस्ता मुनी रहेको भन्दै उनले तत्काल पुनर्निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराए ।


साना दलको विरोध

राप्रपाले संसदीय सुनुवाई समितिमा साना दलबाट प्रतिनिधित्व गर्ने सांसदलाई सहभागी नगराएको विरोध जनाएको छन् । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले समितिमा आफ्नो पार्टीलाई प्रतिनिधित्व नगराएर बिचारलाई निषेध गरिएको दाबी गरे । ‘विचारको आधारमा कसैलाई निषेध नहोस् । सुनुवाई समितिमा राप्रपालाई समावेश नगरेकामा हाम्रो असहमति छ,’उनले भने ।

मन्त्री नहुँदा विधेयक पेस भएन

शिक्षामन्त्री गिरिराजमणि पोखरेल संसद्‍मा नआएपछि चिकित्सा शिक्षा विधेयक बिहीबारको बैठकमा पेस हुन सकेन । कार्यसूचीको ४ नम्बरमा शिक्षामन्त्री पोखरेलले विधेयक पेस गर्ने उल्लेख थियो । मन्त्री बर्दिया गएको जानकारी पाएपछि कार्यसुचीबाट हटाइएको संसद् सचिवालयले जनाएको छ । ‘मन्त्री पनि नभएको र कांग्रेसले पनि विरोध गर्न सक्ने भएपछि कार्यसूचीबाट हटाइएको हो’ संसद् सचिवालय स्रोतले जनाएको छ ।


प्रकाशित : असार २८, २०७५ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?