कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

डा. केसीको स्वास्थ्य जटिल

जीवन रक्षा गर्न र वार्ता टोली पठाउन माग
एलपी देवकोटा

जुम्ला — तेह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको चाल तल–माथि भइरहेको छ, बोल्न सक्ने अवस्थामा छैनन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुसार केसी हातखुट्टासमेत चलाउन नसक्ने अवस्थामा पुगेका छन् ।

डा. केसीको स्वास्थ्य जटिल

‘उहाँ बेडबाट उठ्न सक्ने अवस्थामा हुनुहुन्न,’ उनले भने, ‘संक्रमणबाट बचाउन हामीलाई चुनौती भइरहेको छ । मुटुको चाल तल–माथि भइरहेकाले कतिखेर के हुने हो, थाहा छैन ।’ जतिखेर पनि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको उनले जानकारी दिए । उनका अनुसार केसीको रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ । मांसपेसी सुन्निने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्नेलगायत समस्याले उनी ग्रस्त छन् ।

चिकित्सक टोलीले बिहीबार साँझ सार्वजनिक गरेको स्वास्थ्य प्रतिवेदनअनुसार डा. केसीको छातीको बीच भागमा दुखाइ बढेको छ भने रगतमा सेतो रक्तकोशिकाको मात्रा घट्दै गएको छ । स्वास्थ्य जटिल बन्दै गए पनि केसीले आवश्यक औषधि लिन नमानेको प्रतिवेदनमा जनाइएको छ ।

उनको स्वास्थ्य जटिल बन्दै गएपछि विभिन्न अधिकारवादी संघसंस्था र स्थानीय तहका जनप्रतिनिधिले सरकारसँग जीवन रक्षाको माग गरेका छन् । केसीका माग तत्काल सम्बोधन गरी उनको जीवन रक्षा गर्न माग गर्दै बिहीबार खलंगामा मानव अधिकार संगठनको अग्रसरतामा प्रदर्शन गरिएको छ भने चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले पत्रकार सम्मेलन गरेर केसीका मागप्रति सकारात्मक बन्न सरकारसँग आग्रह गरेकी छन् । संगठनले कृष्ण मन्दिरमा कोणसभा र अस्पतालमा धर्ना कार्यक्रम आयोजना गरेको थियो ।

स्थानीय महिलाले समेत डा. केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गरेका छन् । चन्दननाथकी नगर प्रमुख सेजुवालले तत्काल वार्ता टोली जुम्ला पठाउन सरकारसँग माग गरिन् । आफ्नो नगरपालिकाभित्र कुनै व्यक्तिको अनशनमै बसेको अवस्थामा मृत्यु हुने अवस्था आउँदा टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताइन् ।

निकास दिन संघको आग्रह
काठमाडौं (कास)– नेपाल चिकित्सक संघका प्रतिनिधिले नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत विभिन्न पार्टीका शीर्ष नेतासँग भेटेर डा. गोविन्द केसीको आमरण अनशनमा देखिएको ‘डेड लक’ अन्त्य गर्न आग्रह गरेका छन् । ‘हामीले दाहाललाई हाल देखिएको डेड लकको स्थिति अन्त्य गर्न आग्रह गरेका छौं,’ चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने । उनका अनुसार दाहालले चिकित्सक संघको टोलीकै अगाडि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई फोन गरेर चाँडै निकास निकाल्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीसँग पनि कुरा गरेर निकास निकाल्ने प्रतिबद्घता उहाँले जनाउनुभएको छ,’ डा. कार्कीले भने ।

संघको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहसँग पनि डा. केसीको आन्दोलन र मागबारे छलफल गरेको थियो । ‘देउवाले आज (बिहीबार) विधेयक आउने कुरा छ तर हामीले डा. केसीसँग सल्लाह नगरी दर्ता नगर्न सभामुखलाई भनेका छौं भन्नुभयो,’ कार्कीले भने । उनका अनुसार कांग्रेस शीर्ष नेताहरूले वर्तमान घटनाक्रमप्रति संवेदनशील रहेको जनाउँदै निकासका लागि पहल गर्ने बताएका छन् । विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापा तथा रवीन्द्र मिश्रले पनि चिकित्सक टोलीसँग डा. केसीका माग पूरा गराउन सक्रिय रूपमा लागिरहेको बताएका थिए ।

प्रकाशित : असार २९, २०७५ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?