भयावह बन्दै लागूऔषध प्रयोग

‘टाइम बम अन्डर द सिटी’

विराटनगर — कलेज पढदै गरेको छोराले अस्वाभाविक गतिविधि गर्न थाले पनि यहाँका एक दम्पतीले सुरुमा उति वास्ता गरेनन् । तर अनेक थरी र अनौठो माग गर्ने, झर्कने र कहिलेकाहीँ अन्तै बस्न थालेपछि भने उनीहरू झस्किए ।

भयावह बन्दै लागूऔषध प्रयोग

सोधखोज गरे । साथीकहाँ बसेको थिएँ भनेपछि अलि ढुक्क त भए । तर छोरो बिग्रन लागेको शंका लागेपछि निगरानी भने गर्न थाले । कलेजमा पनि अनुपस्थित हुने गरेको थाहा पाएपछि भने उनीहरू चकित भए । कारण पत्ता लगाए– लागूऔषधको दुव्र्यसन र गलत संगतले छोरोले बाटो बिराउँदै रहेछ । साथीहरूको लहैलहैमा उसले लागूऔषध सेवन गर्न थालेको निकै भइसकेको रहेछ ।


कति सम्झाइबुझाइ गर्दा पनि पार नलागेपछि जानकारको सल्लाहमा उनीहरूले छोरालाई सुधार केन्द्र राख्ने निधो गरेका छन् । ‘कसैगरी सही बाटामा ल्याउन सकिएन,’ ती दम्पतीले भने, ‘झन् बिग्रनुभन्दा सुधार केन्द्रमा राख्ने भएका छौं ।’


यो एउटा उदाहरण मात्रै हो । यस्ता कैयौं दम्पती छन् जसले आफ्ना सन्तानबाट वाक्क भएर सुधार केन्द्रमा राखिदिएका छन् । कतिपयले त सुधार्नै नसकेर वास्ता गर्न छाडेको उदाहरण पनि प्रहरीकहाँ प्रशस्तै छन् । सीमावर्ती भारतीय बजारबाट लागूऔषध ल्याएर बेच्ने, सेवन गर्ने अनि साथीभाइलाई पनि यसमा बानी लगाइदिने प्रवृत्ति विराटनगरमा मात्र होइन, पूर्वका मुख्य सहर र गाउँ बस्तीमा पनि फैलिएको छ । भारतीय बजारमा जाने, सेवन गर्ने अनि ल्याएर बिक्री गर्ने क्रम दिनहुँ बढिरहेको छ ।


‘टाइम बम अन्डर द सिटी’

लागूऔषध ओसारपसार र दुव्र्यसनको अवस्था कतिसम्म छ भने डेनमार्कका समाजशास्त्री खलिल अहमदले यसैमा गरेको अध्ययनपछि निष्कर्षमा भनेका थिए– टाइम बम अन्डर द सिटी । डेढ दशकअघि धरान आएका उनले लागूऔषध प्रयोगकर्ता युवायुवतीबीच अध्ययन गरेपछि तयार पारेको प्रतिवेदनमा उनले यस्तो उल्लेख गरेका थिए । उनले लागूऔषध ओसारपसार, सेवनमा लागेका खासगरी धरानको नयाँ पुस्ता र आसपास क्षेत्रमा स्थलगत अध्ययनपछि निष्कर्ष निकालेका थिए ।


धरानस्थित किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रको परामर्शदाताका रूपमा सन् १९९९ मा अनुसन्धान गरेका अहमदले विकराल देखिएको लागूऔषध कारोबार र प्रयोगको अवस्था नियन्त्रण नगरिए पारिवारिक/सामाजिक विचलनसमेत बढने भन्दै ‘कुनै पनि बेला टाइम बमजस्तै विस्फोट हुन सक्ने’ प्रतिवेदनमा उल्लेख गरेका थिए । अवस्था हेर्दा उनले भनेको गलत लाग्दैन ।


समग्रमा प्रदेश १ का प्रमुख सहरमा लागूऔषध कारोबार र प्रयोग भयावह रूपमा बढिरहेको तथ्यहरूले पुष्टि गरेका छन् । यसले घरपरिवारमा विग्रह ल्याएको छ । अभिभावकलाई निराश बनाएको छ भने कतिपय अवस्थामा ज्यानै जानेसम्मका घटना भएका छन् ।


सुनसरी, मोरङ र झापाका सीमावर्ती भारतीय बजारबाट सहजै भित्र्याइने लागूपदार्थ पूर्वका धरान, दमक, विराटनगर, इटहरी, बेलबारी, पथरी मात्र होइन, पहाडी जिल्लाका बजारसम्म पुग्ने गरेको छ । सीमावर्ती बजारमा चिया पसलमा समेत यस्ता औषधि बिक्री हुने गरेको छ ।


विराटनगरको सीमावर्ती टिकुलिया बस्ती छिर्ने मोरङ सुगर मिल नजिक दिनहुँ मोटरसाइकल र चारचक्के साधनमा आएका युवायुवतीको भीड देखिन्छ । उनीहरू सीमापारि गएर लागूऔषध प्रयोग गर्ने र बोकेर फर्कने गरेको प्रहरीले जनाएको छ ।


दिनहुँ पक्राउ पर्छन्

इलाका प्रहरी कार्यालय रानीका निरीक्षक सन्तोष निरौला टिकुलिया बस्ती पुगेर सेवन गर्ने र बोकेर आउने युवायुवती दिनहुँ पक्राउ पर्ने गरेको बताउँछन् । ‘पक्राउ नपरेको दिनै हँुदैन,’ उनले भने, ‘कहिलेकाहीँ पक्राउ परेकालाई राख्ने ठाउँ नै हुँदैन ।’ प्रहरीले दैनिक सरदर ५ युवालाई पक्राउ गर्ने गरेको छ । जोगबनी नाका प्रदेश १ को लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ झैं भएको उनको बुझाइ छ । उनका अनुसार यो नाकाबाट पारि गई खाएर आउने, थोरै खाएर केही बोकेर आउने र नखाई बोकेर मात्र आउने तीन थरीका समूह छन् ।


खासगरी धरान, इटहरी, धनकुटा, विराटचोक, बेलबारी, पथरी र विराटनगरका किशोरकिशोरी लागूऔषध कारोबारमा संलग्न भएको पाइएको प्रहरीको तथ्यांक छ । अधिकांश धनाढ्य परिवारका छन् । कतिपय परिवारबाटै टाढा रहेका र केही विपन्न परिवारका पनि छन् । पक्राउ परेका कतिपयका अभिभावकलाई बोलाउँदा लिनसमेत नआउने गरेको प्रहरी अनुभव छ ।


‘केही आउँछन्,’ निरौलाले भने, ‘तर आफ्नो सन्तान पटके दुव्र्यसनी भएको भन्दै छाडेर जाने गर्छन् ।’ कतिपयले त आफ्नो सन्तान ‘कहिल्यै सुध्रिएन’ भन्दै माया मारेर फर्कने गरेको गरेको एक प्रहरीले बताए । केही सेवनकर्ता र कारोबारी पटकपटक कारागारमा सजाय काटेर छुटेका समेत पाइएको छ । सामान्यत: दुव्र्यसनमा लाग्नेहरू १४ वर्षदेखि २४ वर्षसम्मका छन् ।


लागूऔषधका मुद्दैमुद्दा

इलाका प्रहरी रानीका अनुसार गत वर्ष ओसारपसारमा संलग्न १ सय १५ पुरुष र २ महिला पक्राउ गरी ९० वटा मुद्दा दर्ता भएको थियो । चालु वर्षको जेठसम्ममा १ सय ५० पुरुष र १० महिला पक्राउ गरी १ सय ३१ मुद्दा दर्ता गरिएको छ । त्यस्तै पारि खाएर आएका ५ सयभन्दा बढीलाई पक्राउ गरी चेतनामूलक प्रशिक्षण दिएर अभिभावकको जिम्मा लगाइएको छ । सामान्यत: ओसारपसारमा संलग्नलाई मात्र प्रहरीले मुद्दा चलाउने गरिएको छ ।


अघिल्लो वर्ष ओसारपसारमा ८ महिलासहित १ सय ८१ जना पक्राउ परेका थिए । १ सय १५ मुद्दा दर्ता भएको थियो । त्यसअघिको वर्ष ६ महिलासहित १ सय २४ जना पक्राउ परे जसमा १ सय २४ मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत मोरङमा यस्ता मुद्दा धेरै छन् । अदालतका अनुसार आव ०७२/७३ मा १ सय ७४ दर्ता हुँदा आव ०७३/७४ मा २ सय ४६ पुग्यो । चालु वर्षको जेठसम्ममा लागूऔषधसम्बन्धी २ सय १४ मुद्दा दर्ता भएका छन् ।


लागूऔषध ओसारपसार र सेवन गरेको अभियोगमा कारागार सजाय भोग्नेको संख्या मोरङ कारागारमा पनि उल्लेख्य छ । कारागारमा अहिले महिला पुरुष गरी कैदी र थुनुवा ८ सय ४४ छन् । कारागारका अनुसार त्यसमध्ये लागूऔषधका कैदी र थुनुवाको संख्या ८ महिलासहित १ सय ८४ छ ।


अदालतले लागूऔषध मुद्दामा कारागार पठाएका थुनुवामध्ये प्राय: १८ देखि २५ वर्षसम्मका छन् । ज्यान मुद्दामा कारागारमा कैद भोगिरहेका अधिकांश पनि दुव्र्यसनकै कारण ज्यान मार्ने उद्योगमा संलग्न भएको कारागार स्रोतको भनाइ छ । अधिवक्ता कविता बस्नेतका अनुसार लागूऔषध मुद्दामा प्रहरी नियन्त्रणमा रहेकाहरू पनि त्यही उमेर समूहका छन् । ‘लागूऔषध ओसारपसार र प्रयोग भयावह बनिरहेको छ,’ उनले भनिन्, ‘यो अवस्था देख्दा भोलिको समाजले कस्तो पुस्ता पाउला भन्ने चिन्ता लाग्छ ।’


बढदै कारोबार

विराटनगरमा वर्ष दिनमा मात्रै बरामद हुने लागूऔषध सरदर ५० लाख रुपैयाँ हाराहारीको छ । प्रदेश १ प्रहरी कार्यालयअन्तर्गत लागूऔषध नियन्त्रण युनिटका प्रहरी निरीक्षक राकेश पोद्दारका अनुसार केही समय थुनामा परे पनि पुन: ओसारपसार गर्दा समातिएका ४० प्रतिशत छन् । विराटनगरबाट भित्रिएको लागूऔषध अन्य जिल्लामा सहजै पुग्छ । लागूऔषध नियन्त्रणमा इप्रका रानी र युनिटले संयुक्त रूपमा काम गर्दै आएको छ ।


लागूऔषध प्रयोगकर्ताले पारिबाट एभिल, डाइजेपाम, नोरजेसिक, स्पास्मो प्रोक्सिवन, नाइट्रोसन, लुपिजेसिक, फेनार्गन, सिरिन्ज र खोकी लाग्दा प्रयोग हुने झोल औषधि कोरेक्स ल्याउँछन् । केही वर्षयता ओसारपसारका तरिका फेरिएको उनले बताए । ‘मोटरसाइकलको पेट्रोल ट्यांकीमा लुकाएर, शरीरमा टेपले टाँसेर समेत ल्याउँछन्,’ उनले भने, ‘खाएर पारिबाट आएको हो भने हेर्दै चिनिन्छ र खानतलासी गर्दा बरामद हुन्छ ।’


चालु वर्षको जेठसम्ममा इप्रका रानीले डाइजेपाम ४ हजार ७ सय ५०, नोरजेसिक ४ हजार ६ सय ७५, एभिल ४ हजार ४ सय ५०, फेनारगन २ हजार ७ सय ४० डाइलेक्स १ सय ५ बोतल, कोरेक्स १ सय ३० बोतल, नाइट्रोसन ४ हजार ३ सय ३०, स्पास्मो प्रोक्सिवन ७ हजार ५ सय ट्याब्लेट बरामद गरेको छ ।


आपसमै झगडा अनि मृत्यु

लागूऔषध कारोबारको मुख्य केन्द्र मानिएको जोगबनीको टिकुलिया बस्तीमा दुव्र्यसनीबीच पटक–पटक झडपसमेत हुँदै आएको छ । यही विवादमा अनेकपटक गोलीसमेत चलेको प्रहरी निरीक्षक निरौला बताउँछन् । उक्त स्थानमा ६ महिनाको अवधिमा दुव्र्यसनीबीच झडप हुँदा एक नेपाली र एक भारतीयको ज्यान गइसकेको छ । केही सख्त घाइते भएका थिए । प्रहरीका अनुसार छुरा प्रहारमा गत चैत २१ मा इटहरी १० का कृष्णकुमार सुनुवारको मृत्यु भएको थियो ।


त्यसअघि गोली चल्दा टिकुलियाका अमर दासको मृत्यु भएको थियो । स्थानीय पप्पु पटेल र सुरज दास घाइते भए । प्रहरीका अनुसार गोली हान्ने भारतीय मोहन मण्डल र अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको थियो । सुईमार्फत लागूऔषध प्रयोग गर्ने क्रम पनि उत्तिकै बढेको छ । यही कारण कतिपयमा एचआईभी संक्रमण भएको समेत पाइएको प्रहरीले जनाएको छ ।


सुध्रिएपछि पनि पुन: लतमै

लागूपदार्थ ओसारपसार र उपयोग बढेसँगै दुव्र्यसनी सुधार्न भनी पूर्वका विभिन्न सहरमा सुधार केन्द्र खुलेका छन् । विराटनगर महानगरमा मात्रै ६ वटा छन् । मोरङको बेलबारी र उर्लाबारीमा एक–एक केन्द्र सञ्चालनमा छन् । यस्तै धरान, झापालगायत स्थानमा पनि यस्ता केन्द्र खुलेका छन् ।


त्यस्ता केन्द्रबाट ३ महिना बसेर छुटेकामध्ये ४० प्रतिशत फेरि दुव्र्यसनमा फर्कने गरेको सम्बद्ध संस्थाका पदाधिकारीको भनाइ छ । आयआर्जनको उपाय नहुँदा अनि समाजले हेर्ने दृष्टिकोणका कारण सुधार केन्द्रबाट छुटेलगत्तै ४० प्रतिशत दुव्र्यसनी फेरि लतमा लाग्ने गरेको ‘रिचमन्ड फेलोसिप’ का कार्यक्रम संयोजक सञ्जीव चापागाईं बताउँछन् ।


लागूऔषध प्रयोग घटाउन स्कुल स्तरदेखि नै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको केन्द्र सञ्चालकहरूको धारणा छ । अभिभावकले पनि आफ्ना सन्तानको को कस्तो स्वभावको साथीसँग छ भनेर निगरानी गर्नुपर्नेमा उनीहरू जोड दिन्छन् । ‘यो विकराल अवस्थाबाट पार पाउन सरकार र मातहत निकाय मात्र सक्रिय भएर पुग्दैन,’ एक प्रहरी अधिकृत भन्छन्, ‘आनीबानी, संगत, निराशापन र उत्सुकताले पनि त्यतातिर लाग्ने पाइएकाले घरपरिवार र अभिभावकले उत्तिकै सजग हुनुपर्ने अवस्था छ ।’

प्रकाशित : असार २९, २०७५ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?