कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

माफिया डन पोस्ने ऐन ल्याइँदैछ : डा. केसी [अडियोसहित]

काठमाडौँ — चिकित्सा शिक्षा सुधारको मागसहित दुई सातादेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ । डा. केसीको जीवन रक्षा र उनको माग सम्बोधन गर्नुपर्ने भन्दै नेपाल चिकित्सक संघको अगुवाईमा माइतीघर-नयाँ बानेश्वरसम्म र्‍याली र प्रदर्शन गरिएको हो ।

माफिया डन पोस्ने ऐन ल्याइँदैछ : डा. केसी [अडियोसहित]

प्रदर्शनमा सांसद, नागरिक अगुवा, चिकित्सकलगायत विभिन्न पेसा, व्यवसायमा आवद्ध व्यक्ति सहभागी थिए ।

उनीहरु र्‍याली तथा प्रदर्शनपछि बानेश्वरमा भेला भएका थिए । त्यसक्रममा जुम्लामा अनशनरत डा.गोविन्द केसीको रेकर्डेड मन्तव्य सुनाइएको थियो । जसलाई जस्ताको तस्तै उतारिएको छ ।

....

नमस्ते उपस्थित महानुभावहरु । अहिले जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बोल्दैछु । म जुम्लामा सत्याग्रहमा छु । हामी जुम्लामै किन सत्याग्रह गर्नुपऱ्यो भने, हामी एक दशकदेखि लडिरहेका छौं, गाउँ गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पुगोस्, गाउँका निम्न वर्ग, निम्न, मध्यम वर्ग र विपन्न वर्गले पनि नर्स, स्वास्थ्यसम्बन्धी विज्ञहरु, स्वास्थ्य कार्यकर्ताहरु बन्न सकुन् । त्यसका निम्ती पढ्न सकुन् । त्यस्तो खालको ऐन बनोस् ।


जबकी नेपालको ८० प्रतिशतभन्दा धेरै जनसंख्या अपहेलित छ । उपेक्षित छ । त्यसैकारणले जुम्लाभन्दा अन्य उपयुक्त हुनै सक्दैन । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको आठ वर्ष भइसक्यो । तर, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । कर्णाली क्षेत्र राज्यबाट सबैभन्दा बेसी उपेक्षित क्षेत्र पनि हो । यहाँका मान्छे गरिब छन् । यहाँका मान्छे बेरोजगार, अशिक्षित छन् र यहाँ कुनै ठूलो स्वास्थ्य संस्थाहरु, मेडिकल कलेजहरु छैन । आठ वर्ष भयो अहिलेसम्म प्रतिष्ठान सञ्चालनमा आएको छैन । यदि त्यो सञ्चालनमा आएको भए यहाँका मान्छे डाक्टर बन्थे, नर्स बन्थे, यहाँका मान्छे स्वास्थ्य विज्ञ बन्थे, स्वास्थ्य कार्यकर्ताहरु बन्थे । यो क्षेत्रमा स्वास्थ्य सेवा गर्थे, स्वास्थ्य सेवाको गुणस्तर बढ्थ्यो । यहाँका मान्छेले स्वास्थ्य सेवा पाउँथे ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सबैले गुणस्तरीय स्वास्थ्य सेवा पाउँथे । प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाउँथे । यो ठाउँको समग्र विकास हुन्थ्यो । तर, अहिलेको सरकारले जसले उनीहरुलाई भोट दिएर दुई तिहाई बहुमत ल्याउन म२त गरे, उनीहरुको हक हितका विरुद्ध माफिया, डन नेताहरु पोस्ने खालको ऐन ल्याइँदैछ । हामीले आन्दोलन गरेर जनतामुखी र विद्यार्थीमुखी अध्यादेश बनेको थियो । त्यो अध्यादेशलाई तोडमोड गरेर मफिया, डन, माफिया नेता र भ्रष्ट नेतामुखी ऐन ल्याउन लागीराखेको छ । त्यसैको विरुद्ध मैले यो सत्याग्रह सुरु गरेको हो ।


अर्को कुरा म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सक्षम, दक्ष डाक्टरहरु छन् । हाल यहाँ विशेषज्ञ जनशक्तिको कमी छ । त्यो सरकारको कमजोरी हो । सरकारको उदासिनताले भएको हो । यहाँ भएका डाक्टर सक्षम छन् । मेरो यहाँ राम्रो हेरचाह भइरहेको छ । त्यसैले म यही नै सत्याग्रहलाई निरन्तरता दिइराख्छु, जबसम्म माग पूरा हुँदैन । तर, सरकारको तर्फबाट विभिन्न बहानाबाजी गरेर मलाई यहाँबाट उठाएर काठमाडौं लगेर यो सत्याग्रह तुहाउने प्रयास हुँदैछ ।तिनीहरुलाई मेरो स्वास्थ्यको यति नै सरोकार राख्ने भएको भए मेरो माग तुरुन्त पूरा गर । म अनशन तुरुन्त तोड्छु ।


यति सामान्य कुरा छ । त्यसकारणले जबसम्म मेरो माग पूरा हुँदैन, मेरो मागमा थुपै मागहरु छन्, त्यसमा चिकित्सा शिक्षा अध्यादेशमा कुनै पनि तोडमोड नगरीकन यथारुपमा पारित हुनुपर्छ र कर्णाली स्वास्थ्य विज्ञान तुरुन्त पुन: सञ्चालनमा ल्याउनुपर्छ । भ्रष्टाचार आयोगले दोषी पाएकाहरुलाई कारबाही गर्नुपर्छ । शिक्षामा राजनीतिक भागबन्डा र राजनीतिक हस्तक्षेप अन्त्य गर्नका लागि परासर कोइरालाले दिएको प्रतिवेदन तुरुन्तै कार्यन्वयन गर्नुपर्छ । त्यसका साथसाथै अन्य मागहरु पनि पूरा गर्नुपर्छ ।

प्रकाशित : असार ३०, २०७५ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?