कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राउटेलाई पहिलोपटक परिचयपत्र

पातलेखोला (दैलेख) — शनिबार दिउँसो स्थायी परिचयपत्र वितरण गर्न गुराँस गाउँपालिकाको पातलेखोला पुगेको सरकारी टोलीलाई शंका थियो– राउटेहरूले सहजै परिचयपत्र स्विकार्लान् त ? किनभने त्यसअघि नै लालीकाँडा बजारमा भेटिएका केही राउटेले भनेका थिए– ‘हामी परिचयपत्र लिँदैनौँ ।’ तर, बस्ती पुग्नेबित्तिकै मुखिया वीरबहादुर शाहीले टोलीलाई सहज बनाइदिए ।

राउटेलाई पहिलोपटक परिचयपत्र

‘तपाईंहरू हाम्रो घर आउँदा हामी खुसी छौं, हाम्रा जनता पनि खुसी छन्,’ उनले भने, ‘मुखियाले बोल्यो भने बोल्यो–बोल्यो, कसैले नलिने कुरै छैन ।’

समुदायका तीनमध्येका एक मुखिया वीरबहादुरको यही भनाइसँगै राउटे समुदायले पहिलोपटक परिचयपत्र लिने बाटो खुल्यो । उनीहरूले गुराँस गाउँपालिका वडा नं. ८ कायम हुने गरी परिचयपत्र लिए । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्मा, दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने र गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले संयुक्त रूपमा परिचयपत्र वितरण गरे । परिचयपत्र सबैभन्दा पहिले ग्रहण गर्ने व्यक्ति बने– महिनबहादुर शाही । ६० वर्षीय पूर्वमुखिया शाही हाल समुदायका संरक्षक छन् । सुरुमा ‘यो (परिचयपत्र) लिएर के काम ?’ भन्दै अन्कनाएका उनी केहीबेरपछि परिचयपत्रको महत्त्व बुझ्दा खुसी देखिए । ‘अब योभन्दा बढी (नागरिकता) त नलिने,’ उनले भने, ‘सरकारले भत्ता दिन्छ, चामल दिन्छ भने त ठिकै छ ।’

फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले पातलेखोलामा छन् । गाउँपालिकाले अति लोपोन्मुख समुदायका लागि दिइने सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र वितरण थालेको हो । गाउँपालिकाको असार १५ गते बसेको कार्यपालिका बैठकले राष्ट्रिय मूलधारमा ल्याई एकद्वारबाट भत्ता वितरण गर्ने र स्वास्थ्य तथा सुरक्षाका अन्य सुविधा प्रवाह गर्न परिचयपत्र दिने निर्णय गरेको थियो ।

यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेठ ३१ गते गाउँपालिकालाई परिचयपत्र वितरण कार्य सुरु गर्न भनेको थियो । ‘परिचयपत्र वितरणपछि पहिलोपटक उहाँहरूको विवरणसमेत सूचीकृत भएको छ,’ गाउँपालिका अध्यक्ष ओलीले भने, ‘सुरुमा परिचयपत्र लिन नमाने पनि पछि यसले राउटे समुदाय र राज्यलाई नै सहज बनाउनेछ ।’ अति लोपोन्मुख जाति राउटेको संख्या अहिले १ सय ४९ छ । उनीहरू ४२ घरधुरीमा बसेका छन् । परिचयपत्र लिए पनि उनीहरू एकै स्थानमा बस्न, लेखपढ तथा खेतीपाती गर्न र नागरिकता लिन भने अझै तयार छैनन् । यद्यपि, परिचयपत्र लिनुले उनीहरूमा बिस्तारै रूपान्तरणको संकेत देखिन थालेको छ । ‘हामीलाई पैसा दिए त भैगो, यो (परिचयपत्र) चाहिँदैन,’ बाटुली शाहीले भनिन्, ‘तैपनि मुखियाले लगिसके, म के गरुँ खै ?’

केही व्यक्ति असन्तुष्ट

मुखिया वीरबहादुर र संरक्षक महिनबहादुरलगायतले परिचयपत्र लगे पनि केही राउटे यसमा असन्तुष्ट देखिए । मुखियाद्वय सूर्यनारायण शाही र दिलबहादुर शाही शनिबार दिउँसो बस्तीमा भेटिएनन् । मुखिया वीरबहादुरले सरकारी टोलीसँग ‘सिकार गर्न गएका छन्’ भने पनि उनीहरू परिचयपत्र वितरण गर्न आउने जानकारी पाएपछि बिहानै गाउँतिर गएका थिए । यद्यपि, परिचयपत्र वितरणमा सहजीकरण गरेको सामाजिक सेवा केन्द्रले बिस्तारै सबै राउटेलाई परिचयपत्र वितरण गरिने जनाएको छ । केन्द्रका अध्यक्ष हीरासिंह थापाले सरकारले नै यो अभियान थालेकाले ढिलो, चाँडो सबै राउटेलाई वितरण गरी उनीहरूको जीवन सहज बनाइने बताए ।

अर्कोतिर, परिचयपत्रमा उल्लिखित जन्ममितिसमेत ‘अनुमानको भरमा’ राखिएको पाइएको छ । गाउँपालिकाले बनाएको परिचयपत्रमा सबैको जन्ममिति उल्लेख छ । आफ्नो उमेरसमेत नबताउने उनीहरूले जन्ममिति कसरी भने ? यो प्रश्नले जन्ममिति हचुवाको भरमा राखिएको आशंका गरिएको छ । २०३२ चैत १ गते जन्ममिति उल्लेख गरिएका हरिबहादुर शाहीले परिचयपत्र भिरे पनि मिति भन्न सकेनन् । ‘म कति वर्ष भएँ खै ?,’ उनले उल्टै प्रश्न गरे, ‘जन्ममिति भन्या के हो ?’

प्रकाशित : असार ३१, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?