३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

शान्तिकटानमा बाढीको त्रास

मोहन बुढाऐर

धनगढी — बर्खा लागेपछि धनगढी उपमहानगरपालिका–१५ शान्तिकटानकी सीतादेवी चौधरीलाई निद्रा पर्दैन । सुतेका बेला बाढीले बगाउला भन्ने डर लागिरहन्छ । उनले खाटलाई धुरीको खम्बामा बाँधेर सुरक्षित हुने जुक्ति निकालेकी छन् ।

शान्तिकटानमा बाढीको त्रास

‘खाटलाई खम्बामा बलियो सँग बाँध्छु,’ उनले भनिन्, ‘खाद्यान्न र लत्ताकपडा जोगाउन घरभित्रै अग्लो ठाउँ बनाएकी छु ।’ चुरेमा ठूलो वर्षा हुँदा बाढीले चुर्लुम्म डुब्छ, शान्तिकटान । चुरेबाट बग्ने दुई ठूला नदी खुटिया र शिवगंगाले बर्सेनि बस्ती डुबानमा पर्छ । दुवै नदी शान्तिकटानमै आएर मिसिएका छन् । नदी छेउमा वन विनाश र ढुंगा, गिट्टी र बालुका उत्खननले पछिल्लो वर्ष यो बस्ती डुबानमा परिरहेको हो ।

बस्तीको पश्चिम भएर बग्छ, खुटिया । पूर्वबाट शिवगंगा नदीले कटान गरिरहेको छ । हरेक वर्ष दुवै नदीको बाढीले प्रभावित हुँदै आएका स्थानीय समस्या समाधानका लागि पटक–पटक स्थानीयदेखि केन्द्र सरकार गुहारे पनि दीर्घकालीन समाधान हुन नसकेको गुनासो गर्छन् ।

चौधरी अहिले रोपाइँ गर्ने खेतमा बदाम खेती गर्न थालेकी छन् । बाढीले मलिलो र उर्वर जग्गामा बालुवा थुप्रिएपछि उनी यो वर्षदेखि बदाम लगाउन थालेकी हुन् । १० वर्षअघि शिवगंगा नदीमा आएको बाढीले उनको खेत बगरमा परिणत भएको थियो । त्यसपछि जीविकोपार्जनमा समस्या आयो । यो वर्ष नदीमा तटबन्ध निर्माण सुरु भएपछि चौधरीले बलौटे माटोमा बदाम फलाउने निर्णय गरिन् । उनको बदाम बेचेर खाद्यान्न संकट टार्ने योजना छ । ‘तटबन्धले घरखेत बचोस र बदाम बाली सप्रियोस्,’ उनले भनिन् ।

जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालयले शान्तिकटानको पूर्वी क्षेत्रबाट हुने नदी कटान नियन्त्रण गर्न करिब २ सय मिटर लामो तटबन्ध निर्माण गरिरहेको छ । चालु आर्थिक वर्षको अन्तिम महिनाबाट निर्माण सुरु भएको हो । तटबन्ध असार मसान्तसम्म सक्ने लक्ष्य रहे पनि अझै केही काम बाकी नै छ ।

‘जेजति काम भएको छ, त्यसले बाढी रोक्ला भन्ने विश्वास जागेको छ,’ तटबन्ध निर्माण उपभोक्ता समिति अध्यक्ष खुसीराम चौधरीले भने, ‘तटबन्धको भरोसामा यहाँका बासिन्दाले बगर खेती सुरु गरेका छन् ।’ किसानले बदाम र बलौटे माटोमा हुने तरकारी खेती उत्पादन सुरु गरिसकेका छन् ।

शिवगंगा नदीमा २०६४ मा आएको बाढीले शान्तिकटान बस्तीको ठूलो उर्वर भूमि बगाएको थियो । अर्का स्थानीय भिगराम चौधरीले त्यतिबेला शान्तिकटान क्षेत्रबाट दुई दर्जन बढी परिवार विस्थापित भएको बताए । खेत बगर बनेपछि पनि पोत बुझाउँदै आएका किसान अहिले तटबन्ध निर्माण हुन थालेपछि बगर खेतीमा आकर्षित भएका छन् ।

शान्तिकटान क्षेत्रमा मात्र होइन, जल उत्पन्न नियन्त्रण कार्यालयले यो वर्ष शिव गंगा नदीले कटान गर्दै आएको आधा दर्जन बस्तीको सुरक्षार्थ तटबन्ध निर्माण गरिरहेको जनायो । नगरपालिकाको कुचौनी, डुमलिया, दीपनगर, कैरघाट पथरी, शान्तिकटान र उर्मा हूलदंगा बस्तीमा उपभोक्ता समिति र ठेक्का प्रक्रियाबाट काम भइरहेको छ । यी सबै योजना झन्डै ४ करोडको लगानीमा निर्माण भइरहेका हुन् ।

प्रकाशित : असार ३१, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?