नेपाली कामदार आपूर्ति गर्न मलेसियालाई दबाब

होम कार्की

काठमाडौँ — नेपाली कामदारलाई यथाशक्य छिटो ल्याउने वातावरण बनाउन रोजगारदाताले मलेसियन सरकारलाई दबाब दिएका छन् । नेपालले जेठ पहिलो सातादेखि नै मलेसियामा कामदार पठाउन रोक लगाएको छ ।

नेपाली कामदार आपूर्ति गर्न मलेसियालाई दबाब

मलेसियामा सक्रिय रोजगारदाताको संगठनले गृह र मानव संशाधन मन्त्रीलाई भेटी नेपाल सरकारसँग छलफल गरेर मलेसियामाथि लगाइएको रोक हटाउन दबाब दिएको हो । सुरक्षा गार्ड आपूर्ति गर्ने झन्डै ७ सय रोजगारदाताको छाता संगठन ‘पीपीकेके एम’ को अग्रसरतामा बिहीबार पुत्राजयस्थित गृह मन्त्रालयमा दुई घण्टा धर्ना दिइएको थियो ।

वैदेशिक रोजगार व्यवसायी संघले नेपाल सरकारले श्रम स्वीकृतिमा रोक लगाउनुको कारणबारे मलेसियाका रोजगारदातालाई आधिकारिक जानकारी दिएपछि उनीहरूले आफ्नो सरकारलाई दबाब दिएका हुन् । सरकारले पूर्वस्वीकृतिमा रोक लगाउनुका साथै अन्तर्वार्ता पास भई भिसा आइसकेका झन्डै १३ हजार कामदारको अन्तिम स्वीकृतिसमेत रोकेको छ । आर्थिक भार पार्ने गरी लागू गरिएका व्यवस्था नहटाएसम्म कामदार नपठाउने नेपालको निर्णयसँगै जेठ पहिलो सातादेखि रोजगारदाताले नेपाली कामदार लैजान पाएका छैनन् । यसको सबैभन्दा बढी असर सुरक्षा गार्डको क्षेत्रमा परेको छ ।

मलेसियाले नेपालबाट मात्रै सुरक्षा गार्ड लिन पाउने व्यवस्था छ । सुरक्षा गार्ड आपूर्ति गर्ने रोजगारदाताले आफूहरू निकै समस्यामा परेको भन्दै यथाशक्य नेपाली कामदार ल्याउने वातावरण मिलाउन गृह मन्त्रालयलाई दबाब दिएको वैदेशिक रोजगार व्यवसायी संघका विशेष प्रतिनिधि कुमार केसीले बताए । ‘उत्पादन, फर्निचरलगायत क्षेत्रमा आबद्ध रोजगारदाताको छुट्टाछुट्टै संगठन क्रियाशील छन्, उनीहरूले सम्बन्धित मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छन्,’ मलेसियामा रहेका केसीले कान्तिपुरसँग भने, ‘सुरक्षा गार्डमा काम गर्ने रोजगारदाताले भने धर्ना नै दिए ।’

नेपाल सरकारले लिएको निर्णयबारे मलेसियाका रोजगारदातालाई जानकारी दिन संघले विशेष प्रतिनिधिका रूपमा केसीलाई पठाएको हो । मलेसियाले सरकारी कर्मचारीलाई सहजीकरण गर्ने विवादास्पद ‘माइजी’ कम्पनी खारेज गरेपछि रोजगारदाताले नेपाली कामदार नपाउने स्थिति बनेको छ । माइजीले मलेसियामै कार्यरत नेपाली कामदार उपलब्ध गराउने गथ्र्यो । यो कम्पनी जुलाई ३१ देखि बन्द हुँदै छ ।

मलेसिया सरकारले नेपाली कामदार ल्याउने वातावरण छिट्टै बन्ने जनाएको छ । ‘अर्को साता संसद् बैठक बस्दै छ । त्यसपछि यो विषय अगाडि बढ्नेछ । आशा छ, नेपालबाट छिट्टै कामदार आउने वातावरण बन्नेछ,’ गृहमन्त्री म्युहिदिन यासिनको भनाइ उद्धृत गर्दै रोजगारदाताका प्रतिनिधि पुवहन नथनमले भने, ‘नेपाली कामदारको विषय चाँडै हल हुनेछ । तपाईंहरूले राम्रो समचार पाउनुहुनेछ ।’

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले कामदारमाथि पर्ने आर्थिक भार पूर्ण रूपमा हट्नुपर्ने आफ्नो अडान यथावत् राखेको छ । ‘मलेसियाले नेपाली कामदारमाथि पूर्ववत् अवस्थामा थुपारेको भार पूर्ण रूपमा हटाउँछ भन्ने मैले आशा राखेको छु,’ श्रममन्त्री गोकर्ण विष्टले भने, ‘हालको स्थिति हटाउनका लागि कूटनीतिक तहबाट छलफल भइरहेको छ ।’

प्रकाशित : असार ३१, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?