१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

५ सय इन्जिनियर र ओभरसियर खटाइने

स्थानीय तह
अब्दुल्लाह मियाँ

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ५ सय इन्जिनियर र ओभरसियर (प्राविधिक) खटाउने तयारी गरेको छ । हरेक जिल्लामा रहने प्राविधिक कार्यालय खारेजीमा परेपछि सिनियर डिभिजनल इन्जिनियर, इन्जिनियर र सब–इन्जिनियर (ओभरसियर) लाई स्थानीय तहमा खटाउन लागिएको हो ।

५ सय इन्जिनियर र ओभरसियर खटाइने

मन्त्रालयले पहिलो चरणमा करिब ५ सय प्राविधिकलाई खटाउने तयारी गरेको छ । ‘साउन पहिलो साताभित्र प्राविधिक कर्मचारी खटाउने गरी काम गरिरहेका छौं,’ मन्त्रालयको स्थानीय तहका कर्मचारी प्रशासन शाखा स्रोतले कान्तिपुरसँग भन्यो, ‘अहिले सूची बनाउने काम भइरहेको छ ।’ हरेक स्थानीय तहको पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखामा रहेर प्राविधिकले काम गर्नेछन् । जिल्ला प्राविधिक कार्यालय खारेजीपछि त्यहाँका कर्मचारीलाई स्थानीय तहका प्राविधिक क्षेत्रमा काम गर्ने गरी पठाउन खोजिएको हो । उनीहरूले सडक, पुल, सिँचाइ आयोजना निर्माणक्रममा प्राविधिक सहयोग गर्नेछन् ।

संघीय राजधानीबाहेकका महानगरमा १ जना सिनियर डिभिजनल इन्जिनियर, ६ जना इन्जिनियर र ८ जना सब–इन्जिनियर रहने गरी संरचना बनाइएको छ । काठमाडौंसहित वीरगन्ज, विराटनगर, ललितपुर र भरतपुर महानगरपालिका यसभित्र पर्छन् । संघीय राजधानी रहेको महानगरपालिकाका हकमा एक जना सिनियर डिभिजन इन्जिनियर वा वरिष्ठ इन्जिनियर, ८ जना इन्जिनियर र ८ जना सब–इन्जिनियर रहनेछन् ।

यस्तै, उपमहानगरका हकमा १ जना सिनियर डिभिजनल इन्जिनियर, ४ जना इन्जिनियर र १० जना सब–इन्जिनियर, ७५ हजार बढी जनसंख्या भएका स्थानीय तहमा १ जना सिनियर डिभिजनल इन्जिनियर, ३ जना इन्जिनियर र ६ जना सब–इन्जिनियर रहनेछन् । ५० देखि ७५ जनसंख्या भएका स्थानीय तहमा १ जना सिनियर डिभिजनल इन्जिनियर, २ जना इन्जिनियर र ३ जना सब–इन्जिनियर रहनेछन् भने २५ देखि ५० हजार जनसंख्या भएका स्थानीय तहमा १ जना सिनियर डिभिजनल इन्जिनियर, २ जना इन्जिनियर र ३ जना सब–इन्जिनियर तथा २५ हजारसम्म जनसंख्या भएको स्थानीय तहमा १ जना इन्जिनियर र ४ जना सब–इन्जिनियर रहनेछन् । ७७ वटै जिल्ला समन्वय समितिमा १ जना इन्जिनियर र १ जना सब इन्जिनियर रहने मन्त्रालयले जनाएको छ ।

१७ उपसचिव खटाइयो
मन्त्रालयले १७ जना उपसचिवलाई दुई महानगरसहित १५ नगरपालिकामा खटाएको छ । सिर्जना थपलियालाई भरतपुर र कृष्णकुमारी श्रेष्ठलाई पोखरामा सहायक प्रशासकीय प्रमुख बनाएर पठाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै, शिवराम रेग्मीलाई सर्लाहीको वाग्मती, ज्ञानहरि घिमिरेलाई रुकुमको चौरजहारी, केशवराज सुवेदीलाई बर्दियाको राजापुर, कविराज उप्रेतीलाई सिरहाको मिर्चैया, हरि पंगेनीलाई जुम्लाको चन्दननाथ, दशरथ बुढालाई कैलालीको लम्की–चुहा, ज्ञाननाथ ढकाललाई सर्लाहीको बलरा र सुरेश सुनारलाई कैलालीको घोडाघोडी नगरपालिकामा सरुवा गरिएको छ ।

उपसचिवहरू बिकाउकुमार यादवलाई सर्लाहीको गोडैता, सूर्यप्रसाद उपाध्यायलाई खोटाङको हलेसी तुबारुङ, मेघनाथ रिजाललाई कञ्चनपुरको कञ्चनपुर, माधवप्रसाद ढकाललाई इलामको माई, यज्ञ पुरीलाई सुर्खेतको पञ्चपुरी, हरेन्द्रकुमार श्रेष्ठलाई बाराको कोल्हबी र रेखा पाण्डे केसीलाई खोटाङको दिक्तेल रुपाकोट नगरपालिकामा सरुवा गरिएको छ । मन्त्रालयका अनुसार नयाँ उपसचिवहरूलाई स्थानीय तहमा खटाइएको हो । मन्त्रालयले छिट्टै सबै स्थानीय तहमा प्राविधिकसमेत खटाउने जनाएको छ ।

प्रकाशित : असार ३१, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?