चुरे सिरानमा पहिरै पहिरा

भवानी भट्ट

कञ्चनपुर — यहाँका खोलामा बढेको अनियन्त्रित दोहन र वन विनासले चुरे क्षेत्र जोखिममा परेको छ ।  सिरानमा पहिरो जान थालेको छ । ठाउँठाउँमा भूक्षय भएको छ । चुरेको ब्रम्हदेव क्षेत्रका ६ ठाउँमा पहिरो खसेपछि तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् । 

चुरे सिरानमा पहिरै पहिरा

खन्याखोलाको सिरानमा ३/४ ठाउँमा ठूलो पहिरो गएको हो । यहाँ सुख्खायाममा समेत पहिरो खसिरहन्छ । चुरे फेदीबाटै जथाभावी ढुंगा, गिटी र ग्राभेललगायत निर्माण सामग्री झिकिँदा जोखिम झनै बढेको छ ।


‘रौटेला, खन्याखोला र कामीकाटे खोलामा पहिरोको जोखिम देखिन्छ,’ जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले भने, ‘वर्षा कम भएकाले अहिले त्यसको खासै प्रभाव नदेखिए पनि अत्यधिक वर्षा भए तल्लो तटीय क्षेत्रमा विपद् निम्तिन सक्छ ।’


गतवर्ष कामीकाटे खोलाको सिरानमा ठूलो पहिरो खसेको थियो । उक्त क्षेत्रमा वन कार्यालयले जैविक तटबन्ध निर्माण गरेर नियन्त्रण प्रयास गरेको छ । ठूलो वर्षा भएमा थेग्न कठिन हुने भएकाले उक्त क्षेत्र पनि उच्च जोखिममा रहेको शर्माले बताए ।


जिल्लाको पूर्वी क्षेत्रको तुलनामा पश्चिममा बढी जोखिम छ । चुरेमा सडक निर्माण लगायतका संरचना निर्माण हुँदा पनि यसले जोखिम बढाएको छ । झिलमिला जाने सडक निर्माण भएको क्षेत्रमा पनि पहिरो जाने खतरा रहेको ईलाका वन कार्यालय ब्रम्हदेबका सहायक वन अधिकृत जीवछ यादवले बताए । ‘चुरे त्यसै सम्वेदनशील छ, यसैमा भौतिक संरचना निर्माण तथा जथाभावी उत्खननले जोखिम बढाएको छ,’ उनले भने, ‘संवेदनशील क्षेत्रमा जैविक बाध, वृक्षारोपण लगायत काम भइरहेका छन्, तर त्यति मात्र पर्याप्त छैन ।’


बेदकोट र भीमदत्त नगरपालिकामा ठाउँ ठाउँमा चुरे पहाडमा भूक्षय जाँदा आकर्षक लिंगा बनेका छन् । क्षयीकरणकै कारण यस्तो भएको संरक्षणकर्मी बताउँछन् । उक्त ठाउँ निकै आकर्षक भएकाले हेर्नका लागि दर्शकहरुको घुइँचो नै लाग्ने गरेको पाइन्छ । स्थानीयसँगै बाहिरका पनि लिंगा हेर्न आउँछन् ।


महाकाली सिँचाई आयोजनाले गत वर्षदेखि खन्याखोला र कामीकाटे खोलामा तटबन्ध निर्माण गरिरहेको छ । ठेकेदारले सोही ठाउँबाट निर्माण साम्रगी झिक्दा ठूलो जोखिम निम्तिएको स्थानीयले बताए । ‘यसले चुरे मात्रै होइन बस्तीसमेत जोखिममा परेको छ,’ चुरे संरक्षण सञ्जाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवरले भने, ‘यसवर्ष चुरे फेदीबाट ठूलो मात्रामा निर्माण सामग्री ढुवानी भएको छ ।’


दुई वटा खोलामा तटबन्ध निर्माणपछि छरिएर जाने बाढी एकत्रित भएर आउँदा तल्लो तटीय क्षेत्रमा जोखिम हुने अध्यक्ष कुँवरले बताए । ‘यसले माथिल्लो क्षेत्रमा हुने कटान तथा पटानको समस्या त कम हुन्छ, तर तल्लो क्षेत्रमा भने जोखिम बढ्छ,’ उनले भने, ‘एकत्रित रुपमा आएको बाढी बस्तीमा पसे ठूलो नोक्सानी हुन सक्छ ।’


उनका अनुसार केही ठाउँमा छाडा चौपायासमेत लगेर छाडिएको छ । यसले पनि भूक्षय र पहिरोको जोखिम बढाएको छ । स्थानीयद्वारा नै बेदकोटको उत्तरी क्षेत्र राइढुंगामा एक/डेढ सय गाईगोरु छाडिएका छन् ।

प्रकाशित : असार ३१, २०७५ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?