कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बेनी–जोमसोम सडकमा सास्ती

खाल्डाखुल्डी र ग्रेड नमिलेको हिलाम्य सडकमा गाडी गुडाउँदा जोखिम बढ्यो
घनश्याम खड्का

म्याग्दी — राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक विस्तारमा लापरबाही भएको छ । ठेकेदार कम्पनीले समयमै काम नगर्दा यात्रु सास्ती भोग्न बाध्य छन् । खाल्डाखुल्डी र ग्रेड नमिलेको हिलाम्ये सडकमा गाडी गुडाउँदा जोखिम बढेको छ ।

बेनी–जोमसोम सडकमा सास्ती

बेनी–जोमसोम ७६ किलोमिटरलाई ७ मिटर पिचसहित १० मिटर चौडा बनाउन ४ प्याकेजमा काम भइरहेको छ । २ अर्ब ४९ करोडमा ठेक्का सम्झौता भएको थियो । बेनी–तातोपानीसम्म शर्मा/युनाइटेड जेबी कम्पनीले र दोस्रो तथा तेस्रो प्याकेजमा शर्मा/गजुरमुखी जेभीले काम गरिरहेका छन् ।

‘बेनी–जोमसोम–कोरला सडकमा सन्तोषजनक काम भएको छैन । मनसुनले सडक जोखिमपूर्ण बनेको छ,’ सडक निर्माणको स्थलगत अनुगमन गरी फर्केका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘सडकमा गाडी चिप्लिएर झन्डै दुर्घटनामा परिनँ, हिलाम्मे सडकमा गाडी फसेर उस्तै हैरान भयो । पब्लिक गाडीमा जनतालाई अझ कति सास्ती हुँदो हो ।’ पहिरोग्रस्त क्षेत्रमा डोजर चलाएर अलपत्र छाडिएको छ । मनसुन सुरु भएपछि पहिरो खस्न सुरु भएको छ । कतै भित्तो काटेर अलपत्रै छाडिएको छ । ढुंगामाटो सडकमै असरल्ल छाडेकाले जोखिम बढेको छ । हिलामा गाडी फस्ने र चिप्लिएर दुर्घटनामा पर्ने गरेका छन् ।

‘बेनी–जोमसोम सडक विस्तार कार्यक्रमले बर्खामा दुर्घटनाको जोखिम बढाएको छ । भित्तामा वाल नलगाई डोजरले काटेर मात्र छोडेकाले भित्तो भत्केर सडक हिलाम्य छ । सडक अवरोध र साँघुरो बन्दा गाडी चलाउन हैरान भएका छौं,’ बसचालक दुर्गाबहादुर पाइजाले भने, ‘झन् बेगखोला, घट्टेखोलाजस्ता खहरेमा पुल नहुँदा गाडी नै बगाउने जोखिम छ ।’

मुस्ताङको लेतेबाट तल गहिरो खोँचभित्र छिर्ने कालीगण्डकी बेनी ४४ किलोमिटर क्षेत्रका प्राय: सबै पहाड ८० डिग्रीभन्दा बढी भिराला छन् । केही ठाउँमा त सडक र नदी दुवै ओढारभित्रबाट बग्छन् ।

भूगर्भविदहरूका अनुसार नदीले बनाएका यस्ता गल्छीमा चट्टानी पहिरो (रक एभलान्च) को सम्भावना रहन्छ । जहाँ पटक–पटक पहिरोले नदी थुनिने गरेका उदाहरण छन् ।

‘कालीगण्डकी नदी लेतेदेखि तल बेनीसम्मकै खोंचका पहाडमा हिमालयन क्षेत्रमा पाइने कमजोर चट्टान (फिलाइट) पनि छन् । यस्तो पहाडको टुप्पोमा कमजोर माटोको थुप्रो छ, त्यसमाथि बस्ती छ,’ भूगोलमा विद्यावारिधि गरेका डा.वसन्तराज अधिकारीले भने, ‘धेरै ठाउँ पहिरोका लागि तयारी अवस्थामा बसेजस्ता छन् ।’

उच्च भागबाट जमिन भत्केर तल खस्ने प्राकृतिक क्रिया वा भूस्खलनलाई पहिरो भनिन्छ । पहिरो दुई कारणले हुन्छ । वनजंगल फँडानी, अव्यवस्थित सडक निर्माणजस्ता मानव सिर्जित गतिविधि र अतिवृष्टिजस्ता प्राकृतिक कारणले । प्राकृतिक पहिरो रोक्न सम्भव छैन । त्यसैले सतर्कता अपनाउनुको विकल्प छैन ।

‘कुनै प्राविधिक योजना र भौगर्भिक अध्ययनबिना ग्रामीण डाँडापहरामा डोजर लगाएर सडक खनिएको छ । निक्लेको माटो व्यवस्थापन नहुनु र डोजर चलाउँदा कम्पनले पहिरोको जोखिम बढाएको हो,’ भूसंरक्षण अधिकृत दिवाकर पौडेलले भने, ‘पहिरो नियन्त्रण गर्न विस्तृत सर्वेडिजाइन भए पनि न्यून बजेटले टालटुले काम गर्दा हिउँदमा भरिएका ग्याभिनलाई बर्खा पहिरोले बगाउने गर्छ ।’

प्रकाशित : असार ३२, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?