मुक्त कमैया शिविरमा हात्ती

मोहन बुढाऐर

धनगढी — विपतपुरस्थित मनिकापुर मुक्त कमैया शिविरका बासिन्दा शुक्रबारदेखि ढुक्कले निदाउन पाएका छैनन् । भारतको दुदुवा राष्ट्रिय निकुञ्ज भएर जंगली हात्तीको झुण्ड गाउँ पसेपछि उनीहरूको निद्रा खोसिएको छ । स्थानीय राति आँगो बाल्छन् । थाल ठटाएर हात्ती भगाउँदैमा रात छिचोलिन्छ ।

मुक्त कमैया शिविरमा हात्ती

दुदुवा निकुञ्जको परम्परागत बाटो हँुदै हात्तीको झुण्ड बसन्ता जैविक मार्गभित्र छिरेको हो । हात्तीको बाटामै पर्छ, विपतपुरको मनिकापुर मुक्त कमैया शिविर । हात्तीले स्थानीय कालुराम चौधरीको घर भत्काइदिएको छ । मनिकापुर र विपतपुरका स्थानीय मिलेर होहल्ला गरेपछि थप क्षति हुन पाएन ।

‘स्थानीयको होहल्लापछि हात्तीको झुण्ड उत्तरतर्फको वसन्ता जंगल क्षेत्रभित्र पसेको छ,’ वसन्ता रेन्जपोस्टका वनरक्षक प्रताप खडकाले भने, ‘यहाँबाट अन्यन्त्र नगएसम्म रखवाली गरिरहनुपर्छ । त्रासैत्रासमा रात बित्छ ।’

परम्परागत बाटो पहिल्याउँदै जंगली हात्तीको झुण्ड भारतको दुदुवा राष्ट्रिय निकुञ्ज हँुदै कैलालीको वसन्ता जैविक मार्गभित्र प्रवेश गरेपछि स्थानीय आतंकित छन् । वनरक्षक खडकाका अनुसार हात्तीको २०/२२ को संख्या वसन्ताभित्र पसेको हो । हात्तीको झुण्ड देखा परेपछि शुक्रबार र शनिबार राति स्थानीय राम्रोसँग निदाउन नपाएका हुन् ।

जिल्ला वन अधिकृत नवराज काफ्लेले हरेक वर्ष दुदुवा राष्ट्रिय निकुञ्जबाट हात्तीको बथान वसन्ता जैविक मार्गमा प्रवेश गर्ने बताए । यहाँबाट चुरेको फेदी हँुदै कर्णाली तरेर पूर्व रौतहटको चन्द्रनिगाहपुर सम्म पुग्छन् । केही महिनाको अवधिमा हात्ती पुन: यही मार्ग प्रयोग गरी भारततफै फर्किन्छन् ।

भारतको जिम कार्बेट र दुदुवा हुँदै कञ्चनपुरको ब्रह्मदेव, शुक्लाफाँटा, लालझाडी, मोहना र वसन्ताबाट हात्ती नेपाल प्रवेश गर्छन् । ‘साउन र असोजमा यो बाटो प्रयोग गरेको देखिन्छ,’ वसन्ता रेन्जपोस्टका रेन्जर राम अवतार चौधरीले भने, ‘यसपटक एउटा झुण्डको यात्रा साउनमै सुरु भएको जस्तो छ ।’ उनले असोजमा आउने हात्तीले धानबालीमा ठूलो क्षति पुर्‍याउने गरेको बताए ।

झुण्डको नेतृत्व पाको हात्तीले गर्छ । स्मरणशक्ति बलियो हुन्छ । झुण्डमा एकपटक हिँडेको छावाले कहिल्यै त्यो मार्ग बिर्सिंदैन । अध्ययनबाटै हात्ती सय वर्षपछि पनि आफ्नो बाटो फर्केर आउन सक्ने पुष्टि भइसकेको छ ।

वन अधिकृत काफ्लेले हात्तीको परम्परागत मार्गमा मानवीय क्रियाकलाप बढेपछि क्षतिका घटना हुने गरेको बताए । ‘हात्ती हिँड्ने बाटामा घर बनेका छन्,’ उनले भने, ‘सदियौंदेखि हिँडै आएको बाटामा बनेको घर हात्तीले किन नभत्काउने ।’ त्यसैले जैविक मार्ग व्यवस्थित गर्न र वन्यजन्तु तथा मानव बीचको द्वन्द्व न्यूनीकरण गर्न तराई भूपरिधि कार्यक्रम लागू भएको उनको भनाइ छ ।

काफ्लेले वसन्ता अन्तर्राष्ट्रिय जैविक मार्गभित्रको अतिक्रमित बस्ती हटाउन आवश्यक भएको बताए । अतिक्रमण हटाउन नसकिए जैविक मार्ग संकटमा पर्ने उनको धारणा छ । ‘हात्ती आफ्नो बाटो कहिल्यै बिर्संदैन र हिँड्न पनि छोडैन,’ उनले भने, ‘मान्छेले उनीहरूको परम्परागत बाटो मास्नुभएन, अतिक्रमण गर्नुभएन ।’

वसन्ता जैविक मार्ग दक्षिणमा भारतको दुदुवा राष्ट्रिय निकुञ्जदेखि उत्तरमा चुरे क्षेत्रसम्म फैलिएको छ । पूर्वमा कर्णाली करिडोरलाई जोडै बर्दिया राष्ट्रिय निकुञ्जसम्म छुन्छ ।

प्रकाशित : असार ३२, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?