मुगु औलोको उच्च जोखिममा

राजबहादुर शाही

मुगु — हिमाली जिल्लामा पटक–पटक औलोका बिरामी भेटिएपछि यो उच्च जोखिममा परेको छ । चालु आर्थिक वर्षमा खत्याड गाउँपालिका– ८, ९ र ११ मा एक सय ३८ जनामा मलेरिया रोगको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

मुगु औलोको उच्च जोखिममा

कार्यालयका अनुसार रिघामा मात्र एक सय २० जनालाई मलेरिया देखापरेको हो । यसवर्ष ४ वर्षमुनिका २२ जना, ५ देखि ९ वर्षसम्मका ३० जना र १० देखि १४ वर्षका ३३ जनामा मलेरियाको संक्रमण देखिएको छ ।


त्यस्तै १५ वर्षमाथिका ५६ जनामा मलेरियाको संक्रमण देखिएको कार्यालयका सूचना अधिकारी बलीबहादुर बुढाले बताए । उनका अनुसार घरदैलोमार्फत उपचार गरिएपछि ७० प्रतिशत रोग नियन्त्रणमा आएको छ । ‘भदौदेखि कात्तिकसम्म जिल्लामा मलेरिया फैलिने गरेको छ,’ उनले भने, ‘लामखुट्टे बढी पाइने क्षेत्रमा मलेरिया संक्रमणको खतरा बढी छ ।’


अनुसन्धानका क्रममा रिघा गाउँमा एनोफिलिज म्याकुलेटस, एनोफिलिज एनुलाटिज र एनोफिलिज क्युम्याटिलिज जातको मलेरिया फैलाउने लामखुट्टे भेटिएको रोग नियन्त्रण महाशाखा, काठमाडौंका भेक्टर कन्ट्रोलर अधिकृत उत्तमराज प्याकुलरेल बताए ।


उनका अनुसार उक्त जातको लामखुट्टे तराईबाट हिमाली जिल्लामा पुगेको हो । नेपालमा ७० प्रकारका लामखुट्टे पाइने उनले जनाए ।


‘मलेरिया सार्ने तीन किसिमका लामखुट्टे रिघा गाउँमा फेला परे,’ उनले भने, ‘हिमाली जिल्लामा मलेरिया रोग फेला परेपछि नियन्त्रण गर्न सरकारलाई चुनौती देखिएको छ ।’


समुद्र सतहदेखि करिब १२ सय मिटर उचाइमा रहेको रिघा गाउँको तापक्रम ३८ डिग्री पुगेकाले लामखुट्टे बढी रहेको अनुसन्धान टोलीले जनाएको छ ।


गत वर्षदेखि खत्याड गाउँपालिकाको रिघामा देखापरेको मलेरिया नियन्त्रण गर्न समस्या भएको स्वास्थ्यकर्मीले जनाएका छन् । बिरामीले १४ दिनसम्म औषधि सेवन नगर्दा रोग नियन्त्रणमा समस्या भएको लामखुट्टे विशेषज्ञ रोहित शाहले बताए ।


रिघा गाउँपारि बाजुरा जिल्लाको बोल्डिकमा पनि एक/दुईमा मलेरियाको लक्षण देखापरेको अनुसन्धान टोलीले जनाएको छ ।


मलेरियाको उच्च जोखिमलाई मध्यनजर गरी रिघामा हेल्थ डेक्स स्थापना गर्ने, औषधि र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरिएको कार्यालयले जनाएको छ ।


जिल्लामा रगत परीक्षण गर्ने उपकरण र विशेषज्ञको अभावका कारण रोग नियन्त्रणमा बेलैमा ध्यान पुर्‍याउन नसकिएको स्वास्थ्यकर्मीको भनाइ छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले औषधि र जनशक्तिको कुनै कमी हुन नदिन जिल्ला स्वास्थ्यलाई निर्देशन दिइएको बताए ।

प्रकाशित : असार ३२, २०७५ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?