१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोमामा फर्केका छोरालाई भेट्न आमा

होम कार्की

काठमाडौँ — प्यूठानको गाउँमुखी–२ की ५३ वर्षीया पच्ची थापा बुहारी डोरमतीसँग आइतबार काठमाडौं आइपुगिन् । गाउँको सबभन्दा नजिकको परिचित बजार बाघदुला कटेर जिल्ला नछाडेका पच्ची र डोरमतीको पहिलो काठमाडौं यात्रा थियो ।

कोमामा फर्केका छोरालाई भेट्न आमा

आठ वर्षअघि मलेसिया गएका छोरा देवकुमार पाँच महिना (मार्च ३) अघि सडक दुर्घटनामा परी कोमामा पुगेका थिए । होसमा नआएका देवकुमारलाई लिनु थियो । ‘गाउँमा कोदो रोप्ने माचो छ । एक्लै आउने विचार गरेको थिएँ । तर आमा (पच्ची) ले मान्नुभएन,’ डोरमतीले भनिन्, ‘जेजस्तो भए पनि छोराको मुख हेर्छु भन्न थाल्नुभयो ।’

बेहोस छोरालाई लिएर अब पच्ची कहाँ जाउन् ? गाउँसम्म लैजाने स्थिति छैन । घर नजिकको स्वास्थ्यचौकीमा उपचार सम्भव छैन । जिल्ला अस्पतालले कोमामा बिरामी राखेर उपचार नहुने जानकारी दिएको छ ।

आठ वर्षअघि देवकुमार मलेसिया गएका थिए । चार दाजुभाइ, दुई बहिनी, बाबुआमा मात्रै रहेका घरमा डोरमती १५ वर्षको उमेरमा भित्रेकी थिइन् । त्यसपछि एक छोरा र एक छोरी जन्मिए । ‘सबैजना सगोलमै बस्थे । भाइबहिनी सानै थिए । बच्चाहरू पनि हुर्कन थाले । घर व्यवहार चलाउन गाह्रो भयो,’ डोरमतीले भनिन्, ‘उहाँ आफैंले मलेसियाको बाटो रोज्नुभयो ।’

देवकुमार सोमबार साँझ नेपाल एयरलाइन्समार्फत ७:१५ मा नेपाल आउने कार्यतालिका थियो ।

उनीहरूलाई प्यूठानबाट आएका आफन्त मित्र थापा र होमबहादुर थापा मगरले सोमबार बिहानै पशुपति मन्दिरको दर्शन गर्न लिएर गए । पशुपतिको एउटा छेउमा विदेशमा मृत्यु भएका एक जना नेपालीको शव जलिरहेको थियो । ‘आमा विदेशमा मृत्यु भएकालाई जलाउने ठाउँ यही हो,’ मित्रले पच्चीलाई देखाए । मित्रले पशुपतिको दर्शन गराएर सिधै त्रिभुवन विमानस्थलभित्र लगिदिए । बेलुका पच्ची र डोरमतीलाई विमानस्थल लैजाने योजना मित्रको थिएन । देवकुमारसँग अस्पतालमै भेट्टाउने उनको योजना थियो । ‘यस्तै जहाजबाट देवकुमार आउँछ,’ धावनमार्गमा भर्खरै अवतरण भइरहेको कतार एयरवेजको जहाज देखाउँदै मित्रले भने ।

‘जहाजबाट ओर्लेर सिधै बाहिर आउन पाउँदैनन् । भित्र अपिस (अध्यागमन) बाट पास भएपछि मात्रै बाहिर आउन पाइन्छ,’ उनले भने । कीर्तिपुर बसेर अंग्रेजीमा स्नाकोत्तर गर्दैै गरेका भतिज होमबहादुरलाई सिनामंगलस्थित जहाजको म्युजियमबारे जानकारी थियो । उनले त्यस म्युजियममा लगेर जहाज चढाइदिए । उनीहरूले केही बोलेनन् । हेरिरहे मात्रै ।
**

साढे ७ बजे डाक्टरको मेडिकल स्कटिङसहित देवकुमार आइपुगे । देवको साथमा दुई जना नर्स र एक जना डाक्टर थिए । देवको उपचारका लागि झन्डै ५० हजार रिङगेट खर्च भएको थियो । दूतावासकै पहलमा उपचार खर्च मिनाहा भएको थियो । टिकट जुटेको थियो । प्रवासी नेपाली समन्वय समितिको संयोजनमा देवकुमारलाई वीर अस्पतालको ट्रमा सेन्टरमा लगियो । मलेसियाबाट आएको स्वास्थ्य टोलीले ट्रमा सेन्टरको इमर्जेन्सी विभागमा कार्यरत डाक्टरलाई देवको अवस्थाबारे ब्रिफिङ गरे । छेउमा रहेका पच्ची र डोरमती भने देवलाई एकोहोरो हेरिरहेका थिए ।

प्रकाशित : श्रावण १, २०७५ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?