अब हिसाब खुल्ला

सुशील पौडेल

काठमाडौँ — लामो समयदेखि नेपाली चलचित्र निर्माताको गुनासो रहँदै आएको छ– फिल्मले व्यापार त राम्रै गरेको हो तर हलवाला र वितरक मिलेर हिसाब गोलमाल गरे । वितरकले चुरोटको खोलमा फिल्मको कमाइको हिसाब लेखेर दिने जमानाबाट अब भने नेपाली बक्स अफिसले डिजिटलमा फड्को मार्ने भएको छ ।

डिजिटल क्यामेराले फिल्म निर्माण र मल्टिप्लेक्सले प्रदर्शनमा परिवर्तन ल्याए पनि कमाइको हिसाब पारदर्शी र कर तिर्ने कुरामा नेपाली फिल्ममा ‘गोलमाल’ रहँदै आएको थियो ।

मंगलबारदेखि काठमाडौं उपत्यकाका फिल्म हलमा बक्स अफिस सिस्टम लागू हुने भएपछि अब निर्माताको गुनासो समाप्त हुनेछ । साथै केही लाखको आम्दानी गरेको फिल्मले पनि करोडौंको व्यापार गरेको प्रचार गरेर नयाँ ‘मुर्गा फसाउने’ प्रवृत्तिको पनि अन्त्य हुने ठानिएको छ ।

Yamaha

बक्स अफिससँगै पहिलो पटक नेपाली फिल्म व्यवस्थित रूपमा राज्यको कर प्रणालीमा पनि जोडिने छ । यो नयाँ व्यवस्थापछि प्रत्येक हलका सबै सोको दर्शक संख्या, बिक्री भएको टिकट र जम्मा भएको रकमको सूचना बक्स अफिस सेन्टरमा जम्मा हुन्छ । निर्माताले सोझै आफ्नो फिल्मले कमाएको हिसाब हेर्न पाउँछन् ।

काठमाडौं उपत्यकाभित्रका सिंगल स्क्रिन र मल्टिप्लेक्स गरी झन्डै पाँच दर्जन थिएटरले गर्ने टिकट बिक्रीलाई सरकारले बक्स अफिस प्रणालीमार्फत करको दायरामा ल्याउन लागेको हो । चलचित्र विकास बोर्डले बक्स अफिस प्रणाली जडानका लागि ब्रेन डिजिट आईटी सोलुसनलाई जिम्मा लगाएको हो । करिब दुई साताको परीक्षणपछि साउन १ देखि बक्स अफिस व्यवहारमा ल्याउन लागिएको हो ।

‘कतिपय मल्टिप्लेक्समा पहिल्यैदेखि आन्तरिक रूपमा बक्स अफिस थियो । अब ती सफ्टवेयरका कोड पनि मूल प्रणालीमै जोडिनेछ भने सिंगल स्क्रिन थिएटरमा बोर्ड आफैंले सफ्टवेयर जडान गरिदिएको छ,’ बक्स अफिस कार्यान्वयन समितिका अध्यक्ष तथा चलचित्र विकास बोर्ड सदस्य नरेन्द्र महर्जनले कान्तिपुरलाई भने । एकैचोटि देशभर बक्स अफिस लागू गर्दा प्राविधिक कठिनाइ आउला भनेर पहिलो चरणमा काठमाडौं उपत्यकामा मात्र लागू गरिएको पनि उनले बताए । ‘दोस्रो चरणअन्तर्गत माघ १ देखि काठमाडौंबाहिर पनि जडान हुनेछ,’ फिल्म वितरकसमेत रहेका महर्जनले भने ।

बक्स अफिस लागू भएपछि टिकट बिक्रीको सबै जानकारी डाटा सेन्टरमा आउनेछ । बक्स अफिसको सूचना आन्तरिक राजस्व कार्यालय, चलचित्र विकास बोर्ड, सम्बन्धित फिल्म निर्माता र वितरक चार पक्षले पाउने गरी तयार पारिएको छ ।

समितिका अर्का सदस्य तथा चलचित्र संघ अध्यक्ष प्रदीपकुमार उदयले भने, ‘सम्बन्धित कर कार्यालयदेखि प्रदर्शित फिल्मका निर्माता, वितरकले जुनसुकै ठाउँबाट पनि सही कलेक्सन रिपोर्ट पाउनेछन् । अब भोलिदेखि फिल्मले गरेको साँचो व्यापार थाहा हुनेछ । फ्लप फिल्मले पनि करोड कमायो भनेर होहल्ला गर्दै मुर्गा फसाउने प्रवृत्ति मत्थर हुन्छ कि ?’

आधा शताब्दी लामो इतिहास भए पनि नेपाली फिल्मको व्यापार प्रणाली भने सुरुवाती दिनको भन्दा केही बदलिन सकेको छैन । कम्प्युटर प्रणालीमा टिकट बिक्री नहुँदा दर्शक संख्या र टिकट बिक्रीको संकलित रकम पारदर्शी हुन सकेको थिएन भने सरकारले फिल्म व्यापारलाई करको दायरामा ल्याउन सकिरहेको थिएन ।

हिसाब पारदर्शी नहुँदा निर्माता, वितरक र प्रदर्शकबीच सधैं लेनदेनलाई लिएर किचलो हुनुका साथै कर छलीका विभिन्न उपायहरू अपनाउने गरिएको थियो । हलवालाले शो संख्या लुकाउनेदेखि दर्शक संख्या घटाएर कर छल्ने गरेको आरोप पनि खेप्दै आएका थिए । हलवालाले कर छल्नका लागि आफूहरूलाई समेत मर्कामा पार्ने गरेको निर्माताको आरोप हुने गथ्र्यो ।

एक दशकयता निर्माताहरूले बक्स अफिस लगाउनुपर्ने माग उठाउन थालेपछि यसको चर्को विरोधमा वितरकहरूको संस्था चलचित्र संघ अग्रपंक्तिमा थियो । यसले गर्दा वितरक र हलमा लाग्ने गरेको आरोपलाई बल पुगेको थियो । बोर्ड अध्यक्ष भएका बेला राजकुमार राईले फिल्मसम्बद्ध सबै संघसंस्थालाई सहमतिमा ल्याएपछि बक्स अफिस लागू गर्ने बाटो खुलेको थियो ।

राईले नै बक्स अफिस सफ्टवेयरका लागि टेन्डर आहवान गर्नेदेखि निर्माण प्रक्रियासमेत अघि बढाएका थिए । निवर्तमान अध्यक्ष निकिता पौडेलले बक्स अफिसलाई निरन्तरता दिइन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले मंगलबार बक्स अफिसको उद्घाटन गर्ने भएका छन् । बक्स अफिस कार्यान्वयन समितिका अध्यक्ष महर्जन यसले निर्माता र वितरकबीच रहेको अपारदर्शी व्यापारको शंका निवारण हुने बताउँछन् ।

Esewa Pasal

प्रकाशित : श्रावण १, २०७५ ०७:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चुलिँदो ब्याजदरको चुनौती

बजार ब्याजदरलाई प्रभाव पार्न लगानी गर्नसक्ने क्षमतामा परिवर्तन ल्याउन सक्नुपर्छ ।
सुशील पौडेल

काठमाडौँ — नेपाल सरकारले लिएको आ.व. २०७५/७६ को ८.० प्रतिशत आर्थिक वृद्विको लक्ष्य पूरा गर्न आ.व. २०७४/७५ को २,६०१ अर्ब बराबरको कुल गार्हस्थ उत्पादनलाई (उत्पादन मूल्यमा प्रक्षेपित मुद्रास्फिति ६.५ प्रतिशत कायम रहँदा) २,९९२ अर्ब पुर्‍याउनपर्ने देखिन्छ । अहिलेको सिमान्त पुँजी उत्पादन ५.२ रहेको अवस्थामा थप ३९१ अर्ब उत्पादन बढाउन २,०३१ अर्ब पुँजी निर्माण हुनुपर्ने देखिन्छ ।

केन्द्रीय, प्रदेश र स्थानीय सरकारसहित पुँजीगत खर्च करिब ५०० अर्ब रहने प्रक्षेपण रहेकोमा थप १,५३१ अर्ब पुँजी निर्माण निजी तथा वैदेशिक क्षेत्रबाट हुनुपर्ने देखिन्छ । सरकारी पुँजीगत खर्चको ३ गुणाको हाराहरीमा पुँजी निर्माण निजी क्षेत्रबाट हुने गरेको छ । हाम्रो जस्तो मुलुकमा लगानीको प्रमुख स्रोत भनेको स्वपुँजी अथवा बैंक/वित्तीय संस्थाबाट लिन सकिने ऋण हो । त्यसैले ब्याज नै लगानीको मुख्य आधार हो । ब्याजदर बढी रहँदा थोरै परियोजनाहरू मात्र नाफायोग्य हुन्छ । अल्पकालीन लगानीको लागि अहिलेको ब्याजदर निर्णायक हुन्छ भने दीर्घकालीन लगानीको लागि दीर्घकालीन ब्याजदर निर्णायक रहन्छ । तसर्थ निजी क्षेत्रबाट अत्यधिक मात्रामा लगानी परिचालन गर्न ब्याजदर न्यून रहनुपर्ने हुन्छ ।

लगानीयोग्य कोषको माग र आपूर्तिको अवस्थाले ब्याजदर निर्धारण हुन्छ । आपूर्ति बढ्दा ब्याजदर घट्छ भने माग बढ्दा ब्याजदर बढ्छ । नेपालमा विप्रेषको वृद्धिदर घट्दो, आयातको वृद्धिदर बढ्दो, निकासी वृद्धिदर घट्दो, बचतमा रहने गरेको सेवा व्यापार अहिले घाटामा रहेको, वैदेशिक लगानी न्यून मात्रामा भित्रिएको र वैदेशिक अनुदान र ऋण बजेटको प्रक्षेपणको तुलनामा न्यून परिचालन हुनेगरेको हुँदा आपूर्तिमा चाप रहेको छ । गार्हस्थ बचत १५ प्रतिशत र बजेट घाटा २६७ अर्बको हुँदा आपूर्तिमा केही राहतको अवस्था छ ।

भूकम्प पश्चातको पुनर्निर्माण र आन्तरिक लगानीमा वृद्धि भई कुल पुँजी निर्माण ५२ प्रतिशत पुगेको र सरकारले घाटा पूर्ति गर्न १३६ अर्ब ऋण आन्तरिक बजारबाट उठाउनुपरेकोले ऋणको माग बढिरहेको छ । घरजग्गा र सेयर बजार कारोबारमा लागेको मन्दिले उक्त क्षेत्रमा गएको कर्जा ब्याज तिर्दै नवीकरण भइरहेको अवस्थाले गर्दा माग कम हुने अवस्था छैन । ग्राहक आकर्षित गर्ने दौडमा बैंक/वित्तीय संस्थाहरूले दिनदिनै ब्याज बढाइराखेको र हालै छाता संगठनले बचतमा ब्याज नबढाउन विज्ञप्ति जारी गरेको छ । यसले अहिले बैंक/वित्तीय संस्था बीचमा भइरहेको ब्याज वृद्धिको तीव्र प्रतिस्पर्धालाई कम गर्न सक्छ । तर बचत निरुत्साहित भई आगामी दिनमा आपूर्तिमा अझै चापपर्ने देखिन्छ ।

२०७४ वैशाखमा औसत ब्याजदर निक्षेपमा ५.५१ प्रतिशत र कर्जामा १०.६९ प्रतिशत रहेकोमा २०७५ वैशाखमा निक्षेपमा ६.६१ प्रतिशत र कर्जामा १२.३२ प्रतिशत रहेको तथ्यले नेपालमा लगानीयोग्य कोषको आपूर्तिमा सुधार नहुँदासम्म अथवा बैंक/वित्तीय संस्थामा लगानीको मागमा चाप कम नहुँदासम्म ब्याजदर घट्ने सम्भावना न्यून रहेको देखिन्छ ।

बजारले निर्धारण गरेको ब्याजदर राज्य अनुकूल नरहेको अवस्थमा केन्द्रीय बैंकले मौद्रिक उपकरणको प्रयोग गरी यसलाई अनुकूल अवस्थामा ल्याउने गर्छन् । मुद्रास्फिति लक्षित गर्ने देशहरूले मुद्रास्फितिको लक्ष्यसाथै वर्तमान र सम्भाव्य उत्पादन अन्तरको अवस्था हेरी उपयुक्त ब्याजदर नीति निर्धारण गर्छन् ।

अर्थतन्त्रमा समग्र माग बढेर मूल्य वृद्धिमा चाप परेको अवस्थामा मौद्रिक नीतिको कार्यदिशा संकुचन हुन्छ र केन्द्रीय बैंकको प्रयास ब्याजदर बढाउने हुन्छ भने समग्र माग कम भई मूल्यमा चाप नरहेको अवस्थामा मौद्रिक नीतिको कार्यदिशा खुकुलो हुन्छ र केन्द्रीय बैंकको प्रयास ब्याजदर घटाउने हुन्छ । केन्द्रीय बैंकले आफ्नो मौद्रिक नीतिमार्फत मध्यमकालीन तथा दीर्घकालीन ब्याजको लक्ष्य प्रस्तुत गर्छन् । केन्द्रीय बैंकले खुला बजार कारोबार सञ्चालन तथा नीतिगत दरको परिवर्तनद्वारा बैंक/वित्तीय संस्थासंँग रहेको लगानीयोग्य कोषको आपूर्ति तथा लागतमा प्रभाव पार्छ ।

यसको असर अन्तरबैंक ब्याजदरका साथै अल्पकालीन निक्षेप तथा कर्जामा रहेको ब्याजदरमा पर्छ । लक्षित ब्याजदर भन्दा बजार ब्याजदर फरक भएमा केन्द्रीय बैंकले खुला बजार कारोबार सञ्चालन तथा नीतिगत दरहरूको परिवर्तन गरी बजारको ब्याजदरलाई पुन: लक्षित बाटोमा फर्काउँछ । उक्त उपकरणको निरन्तर प्रयोगबाट केन्द्रीय बैंकले मध्यमकालीन तथा दीर्घकालीन ब्याजदरलाई आफ्नो लक्षित बाटोमा राख्न सफल हुन्छन । केन्द्रीय बैंकले आफ्नो कार्यदिशा अनुरुपको लक्ष्य निरन्तर रूपमा प्राप्त गर्दै जाँदा केन्द्रीय बैंकले उद्घोषमार्फत नै ब्याजदरलाई चाहेको बाटोमा डोर्‍याउन सक्छ ।

नेपाल राष्ट्र बैंकले आ.व. २०७३/७४ को मौद्रिक नीतिमार्फत मौद्रिक योगांकका साथै ब्याजदरलाई पनि लक्ष्यको रूपमा राख्ने युगको थालनी गरेको छ । आ.व. २०७४/७५ को नीतिले ब्याजदरलाई अपेक्षित सीमाभित्र राख्ने र ब्याजदरमा हुने उतार–चढावलाई न्यूनीकरण गर्ने उल्लेख गरेको छ । बैंकले अन्तरबैंक ब्याजदरलाई ३–५ प्रतिशतको सीमाभित्र राख्ने उद्देश्यले आंशिक रूपमा ब्याजदर करिडरलाई कार्यान्वयनमा ल्याएको छ ।

यस अन्तर्गत बैंकले बजारमा ब्याजको अवस्था हेरी ३ प्रतिशतमा २ हप्ते डिपोजिट कबुल गरी तरलता संकुचन गर्ने तथा ५ प्रतिशतमा २ हप्ते रिपोमार्फत तरलता प्रवाह गर्ने उल्लेख गरेको छ । २०७४ पुसयता अन्तरबैंक ब्याजदरलाई बैंकले आफ्नो लक्षित करिडोरभित्र राख्न सफल भएको छ । केन्द्रीय बैंकले आफ्नो अन्तरिम लक्ष्यको रूपमा रहेको अन्तरबैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्न सफल भए पनि वास्तविक क्षेत्रसँंग प्रत्यक्ष सरोकार राख्ने कर्जा तथा निक्षेप ब्याजदरको उकालिँदो अवस्थालाई नियन्त्रणमा राख्न थप प्रयत्न गर्न‘पर्ने देखिन्छ ।

केन्द्रीय बैंकको नीतिगत दर र खुला बजार कारोबारले अन्तरबैंक ब्याजदरमा र अन्तरबैंक ब्याजदरले अल्पकालीन ब्याजदरमा पार्ने प्रभावलाई ‘पास थ्रु’ भनिन्छ । नेपालको सन्दर्भमा स्थिर विनिमय दर प्रणाली, अनुमतिमा आधारित पुँजी खाता परिवर्तन प्रणाली, बैंक/वित्तीय संस्थामा संस्थागत सुशासनको पालनामा कमी, कर्जा प्रोभिजनिङमा अनियमितता, धितोमुखी ऋण प्रणाली, सट्टेबाजी तथा घरजग्गा क्षेत्रमा अत्यधिक ऋण प्रवाह, छाता संगठनहरूबाट प्रतिस्पर्धामा हस्तक्षेप, न्यून ब्याज कर्जा लचकता, आधारहीन पुँजी बजार उतार–चढाव, बैंक/वित्तीय संस्थाबीच सीमित मुद्रा बजारको दायरा, सरकारी न्यून वित्त पूर्तिमा बाह्यभन्दा आन्तरिक ऋण परिचालनमा जोड, क्रेडिट रेटिङ निकायहरूको अभाव, नोक्सानी सम्भाव्यताको आधारमा नभई बक्यौता समयको आधारमा कर्जा प्रोभिजनिङ गर्ने व्यवस्था र केन्द्रीय बैंकले राखेको लक्ष्य प्राप्त नहुँदा के हुने भन्ने जफावदेही प्रणाली नरहेको अवस्थामा नेपालमा ‘पास थ्रु’ न्यून हुनु स्वाभाविक हुन्छ । साथै केन्द्रीय बैंकको आन्तरिक नीतिगत कमीले पनि ‘पास थु्र’को प्रभावकारिता घटाइराखेको हुन्छ ।

बैंकले तरलता सम्बन्धी जोखिम कम गर्ने प्रयोजनका लागि न्यूनतम वैधानिक तरलता अनुपातको व्यवस्थाका साथै कर्जासंँग प्राथमिक पुँजी तथा निक्षेप अनुपात बढीमा ८० प्रतिशत हुनुपर्ने प्रावधान गरेको छ । संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा प्राथमिक पुँजीको ३० प्रतिशतसम्म मात्र लगानी गर्न पाइने व्यवस्था छ । बैंक/वित्तीय संस्थाको पछिल्लो वासलात हेर्दा पुँजी र निक्षेपको अनुपात १४ प्रतिशत र कुल सम्पत्ति निक्षेपको अनुपात १२८ प्रतिशत रहेको छ ।

यस अवस्थामा कर्जासँंग प्राथमिक पुँजी तथा निक्षेप अनुपात बढीमा ८० प्रतिशत हुनुपर्ने प्रावधानलाई कर्जा निक्षेप अनुपात ९१.२ प्रतिशत र संगठित संस्थाको सेयर तथा डिबेन्चरमा निक्षेपको ४.२ प्रतिशतमात्र लगानी गर्न पाइने भन्न सकिन्छ । तसर्थ निक्षेपको १२८ प्रतिशत रहेको सम्पत्तिमा कर्जा ९१.२ प्रतिशत बढीमा, सेयर लगानी ४.२ प्रतिशत बढीमा र स्थायी तथा अन्य सम्पत्तिमा १० प्रतिशत लगानी हुँदा न्यूनतम पनि तरल सम्पत्तिमा २२.६ प्रतिशत लगानी गर्नुपर्ने देखिन्छ । अहिले बैक/वित्तीय संस्थाको कर्जा र प्राथमिक पुँजी तथा निक्षेप अनुपात लगभग ८० प्रतिशतको रहेको अवस्थामा बैंक/वित्तीय संस्थाले थप निक्षेप परिचालन नगरी थप कर्जा परिचालन गर्नसक्ने स्थिति छैन ।

बैंकले तोकेको न्यूनतम वैधानिक तरलता अनुपातभन्दा धेरै सम्पत्ति तरल सम्पत्तिमा राख्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा केन्द्रीय बैंकले प्रवाह गर्ने तरलता बैंकहरूले तरल सम्पत्ति विविधीकरण अथवा तरल सम्पत्तिको आय वृद्धि गर्न अथवा तरलतामा नगदको मात्रा व्यवस्थापन गर्नमात्र प्रयोग गर्छन् । यसले अन्तरबैंक ब्याजदरलाई प्रभावित गर्न सक्छ । तर कर्जा तथा निक्षेपको व्याजदरलाई असर पार्दैन । बजार ब्याजदरलाई प्रभाव पार्न लगानी गर्नसक्ने क्षमतामा परिवर्तन ल्याउन सक्नुपर्छ । साथै अत्यधिक रूपमा तरल सम्पत्ति राख्नुपर्दा उक्त लागतसमेत सीमित कर्जाबाट पूर्ति गर्नुपर्दा ब्याज बढी लिनुपर्ने हुन्छ । तसर्थ कर्जा निक्षेप अनुपात सम्बन्धित व्यवस्था पुनरावलोकन नगरी बैंकले ब्याजदरलाई आफ्नो नियन्त्रणको दायरामा राख्न सक्ने देखिँदैन ।

बैंकहरूले अत्यधिक रूपमा अस्थिर प्रकृतिका गैरनिक्षेप परिचालन गरेका कारण २००८ को मन्दी निम्तिएको हुँदा संस्थामा स्थायी प्रकृतिको स्रोतको आपूर्ति बढाउन कर्जा निक्षेप अनुपातको व्यवस्था सुरु गरिएको थियो । तर अहिले कर्जा निक्षेप अनुपातले कर्जा तथा निक्षेपको अवस्था, समयावधि, विविधीकरण र स्थायित्वजस्ता प्रवृतिलाई महत्त्व नदिने हुँदा धेरै मुलुकले यस व्यवस्थालाई त्यागेको देखिन्छ ।

त्यसैले पनि तरलता जोखिम कम गर्न वासेल ३ ले सिफारिस गरेको लिक्विडिटी कभरेज अनुपात, नेट स्टेवल फन्डिङ अनुपात र तरलता अनुगमन गर्ने मापदण्ड सम्बन्धी व्यवस्था पूर्णरूपमा कार्यान्वयनमा ल्याई कर्जाको पुँजी तथा निक्षेप अनुपात सम्बन्धी व्यवस्थालाई त्याग्न जरुरी छ । योसंँगै एक वर्षभित्र बुझाउनुपर्ने सावाँ–ब्याज र आम्दानीको अनुपातको उच्चतम सीमालाई कार्यान्वयनमा ल्याई धितोमा आधारित कर्जालाई आम्दानीमा आधारित बनाई कर्जा जोखिम कम गर्न‘पर्ने देखिन्छ । यस व्यवस्थाले सट्टेबाजी क्षेत्रमा गएका कर्जाको ब्याज तिर्दै नवीकरण गरी ओगटेर राख्ने कर्जाको माग कम हुने, तरलता व्यवस्थापन स्थिर हुने र कर्जा ब्याजप्रति बढी लचक हुनुका साथै उत्पादनशील क्षेत्रमा बढीभन्दा बढी कर्जा परिचालित हुने देखिन्छ ।

पौडेल नेपाल राष्ट्र बैंकका उपनिर्देशक हुन्।
यो लेखकको व्यक्तिगत विचार हो ।
sushil.poudel@gmail.com

प्रकाशित : असार २९, २०७५ ०७:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT