२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

मार्सी भातले ‘माफियालाई राहत’

एक–दुई जना मान्छे मर्न दिऊँ केही बिग्रँदैन : प्रसाईं
घनश्याम खड्का

काठमाडौँ — डा. गोविन्द केसी जुम्लामा पुगेर अनशन सुरु गर्नेबित्तिकै एउटा पदावली एकाएक चर्चामा आयो, मार्सी चामलको भात । जुम्लामा पाइने यो चामल अनशन बसेका सत्याग्रही केसीले खाने कुरै थिएन । बरु यो खैरो चामलको भात पाकेको थियो, झापाको प्रस्तावित मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको चुलोमा । अनि त्यो खान पुगेका थिए, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ।

मार्सी भातले ‘माफियालाई राहत’

चरेसको थालमा मार्सी चामलको भात टेबलमा राखेर प्रसाईंले दुवै नेतालाई खुवाइरहेको र आफू पनि खाइरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । यसरी मार्सी चामलको भात फाइदा र लेनदेनको प्रतीक बनेर आएका बेला यसलाई पकाउने र खुवाउने प्रसाईंको एउटा भिडियो अन्तर्वार्ता भाइरल भयो, जसमा उनले डा. गोविन्द केसीजस्ता एक–दुई जना नमरी यो देश उँभो नलाग्ने बताएका छन् ।

भनेका छन्, ‘ए बाबा, एक जना अधिकारी मरे त यार अनशनकै क्रममा । एक–दुई जना मान्छे अनशनमा मर्छन्, देश परिवर्तन गर्नका लागि बीसौं हजार मान्छे मर्छन् । तीन लाख मान्छे एकै दिन मरेको फ्रान्सको युद्धबारे हामीले सुनेका छौं । एक–दुई जना मान्छे मर्न दिऊँ, केही बिग्रँदैन ।’

प्रसाईंले भनेजस्तै सरकारले यस पटक डा. केसीको अवस्था असाध्यै खस्किँदासम्म पनि निजी मेडिकलवालाकै पक्षपोषण गर्ने गरी चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता गरेको छ । के सरकार डा. केसीको जीवनको बदलामा माफिया पोस्ने विधेयक ल्याउन चाहन्छ ? ‘मार्सी चामलको भात’ सँग विधेयकको कति नजिकको सम्बन्ध छ ? यतिखेर सर्वत्र प्रश्न उठ्न थालेको छ ।

सरकारले माथेमा प्रतिवेदनलाई लत्याएर निजी मेडिकल कलेजका सञ्चालकलाई फाइदा पुग्ने गरी ल्याएको यो विधेयकको विरोधमा केसीले मार्सी चामलै पाइने ठाउँमा पुगेर अनशन बसिरहेका बेला काठमाडौंमा केही दिनअघि कंग्रेस नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले भनेका थिए, ‘सरकारको यो विधेयकले चरेसको थालमा मार्सी चामलको भात खानेहरूलाई फाइदा पुर्‍याएको छ, गरिब नेपाली जनतालाई होइन ।’

नेकपाका दुई अध्यक्षलाई मार्सी चामलको भात खुवाउने प्रसाईंको झापामा ९ सय ५० शय्याको बीएन्डसी टिचिङ हस्पिटल छ । भूमिगतकालमै माओवादीमा लागेका प्रसाईंले आफ्ना ससुरा भगवान गिरी र सासू चन्द्रमाया गिरीको स्मृतिमा यो अस्पताल खोल्ने आशयपत्र पाएका थिए, २०६८ माघ १४ मा । काठमाडौं विश्वविद्यालयसँग बर्सेनि १ सय ५० विद्यार्थी पढाउने गरी अनुबन्धन लिएपछि अस्पतालको उद्घाटन २०७१ फागुन १८ मै भएको प्रसाईंले बताए । तर, मेडिकल कलेजका लागि आवश्यक मापदण्ड र पूर्वाधार नपुगेकाले उनले हालसम्म विद्यार्थी भर्ना गरी पढाउन र लगानी उठाउने गरी अस्पताल चलाउन भने पाएका छनन् । त्यसलाई रोक्न बल दिएको छ, उनै डा. केसीको सत्याग्रहले ।

‘डा. केसीको अनशनले मलाई डुबायो,’ ६ अर्ब लगानी गरेर अस्पताल खोलेको बताउने प्रसाईं भन्छन्, ‘सरकारले अब उनको कुरा सुन्नु हुन्न ।’ प्रधानमन्त्री ओलीको बोलीमा पनि प्रसार्इंकै भनाइ झल्कन्छ । अनावश्यक सम्झौता नगर्ने र सरकारले अघि बढाएकै विधेयक संसद्बाट पास गराउने कुरा उनले सार्वजनिक रूपमै बताउँदै आएका छन् ।

दाहाल यसबारे खासै नबोले पनि आफ्नै पार्टीमा सुरुदेखि नै लागेका प्रसाईंहरूकै पक्षमा ओली पहिलेदेखि नै छन् । दाहाल र ओली नजिकिँदै गर्दा प्रसाईंको हिमचिम पनि ओलीसँग निकै बढेको बताउँछन् प्रधानमन्त्री कार्यालयका एक सहयोगी । ‘ओली र प्रसाईंको पहिले आवतजावत भएको हामीलाई थाहा थिएन,’ उनी भन्छन्, ‘तर अचेल बाक्लो उठबस छ ।’

कतिसम्म भने मार्सी चामलको त्यो सामूहिक भोजनको सर्वत्र टिप्पणी हुन थालेपछि ओलीले त्यसको ढाकछोप गर्दै हालै भनेका थिए, ‘नातिको घरमा खान पनि जान नपाउनु ?’ तर ओली र प्रसाईंबीच त्यस्तो कुनै नाता नभएको झापाकै प्रसाईं थरका एक मानव अधिकारवादी बताउँछन् । ‘दुर्गा प्रसाईं नातामा हाम्रा दाजुभाइ पर्छन् तर ओलीसँग चाहिँ हाम्रो कुनै साइनो पर्दैन,’ उनी भन्छन्, ‘कसरी ओली उनका हजुरबा हुन पुगे, त्यो मलाई थाहा छैन ।’

ओलीसँगको नाताबारे केही नबताए पनि दुर्गा प्रसाईंले मार्सी भातको प्रसंग भने खुलाए । ‘त्यो मैले पार्टी एकता हुने बेला दुई नेताको बैठक घरमा राख्दाखेरि खुवाएको भात हो, मलाई त मार्सी चामलको हो भन्ने पनि थाहा थिएन,’ दुर्गा भन्छन्, ‘घरमा आएका पाहुनालाई मैले भात खुवाउँदा यत्रो रडाको भयो, मलाई माफियासम्म भने ।’

प्रकाशित : श्रावण १, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?