१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन

काठमाडौँ — धरान उपमाहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारको क्रममा मंगलबार निधन भएको छ । विगत एक सातादेखि 'सिभियर' निमोनिया भएपछि काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेको सुब्बाको बिहान ११ बजे निधन भएको हो ।

धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन

अस्पतालका अनुसार सुब्बालाई अाठ दिन अघि निदान अस्पतालले रिफर गरी ग्राण्डी पठाएको थियो । उच्च रक्तचाप र मधुमेहका राेगी समेत रहेका सुब्बाको तीन वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण समेत गरिएको अस्पतालले जानकारी दिएको छ।

तेह्रथुमको खाम्लालुङमा २०२३ साल माघ १८ गते जन्मिएका सुब्बा २०३७ सालमा धरानको शिक्षा निकेतन हाइस्कुलमा भर्ना भएपछि अनेरास्ववीयू पाँचौबाट राजनीतिक जीवन सुरु गरेका थिए ।

०४६ को जनआन्दोलनमा धरानको भानुचोकबाट पक्राउ परी केही दिन प्रहरी हिरासतमा समेत परे । २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ) सुनसरीको संस्थापक समेत रहेका उनी दुई कार्यकालसम्मे जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।

०५४ को स्थानीय निर्वाचनमा धरान १७ बाट वडा सदस्यमा निर्वाचि भई उनले जिल्ला विकास समितिमा इलाका नं. २ को सदस्यको जिम्मवारी पुरा गरेका थिए ।

गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई हराउदै तत्कालीन एमालेबाट धरान उपमहानरपालिका प्रमुख बनेका सुब्बाका श्रीमती इन्दु राई सुब्बा र एक छोरा छन् ।

धरान-११ मंगलबारे चोक नजिकै बस्दै आएका सुब्बाले धरान उपमहानगरपालिकालाई पूर्वको पर्यटकीय स्थलको केन्द्र, स्मार्ट सिटी, बगैंचाको सहर र व्यापारिक ट्रान्जिट सिटि बनाउन ‘मास्टर प्लान’ बनाइरहेका थिए ।

प्रकाशित : श्रावण १, २०७५ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?