कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संगठित सुन तस्करी : अनुसन्धान समितिको म्याद सकियो

जनकराज सापकोटा

काठमाडौँ — सनम शाक्यको हत्या र हराएको ३३ केजी सुनको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिको म्याद सकिएको छ । चैत ३० मा मन्त्रिपरिषद्‍को निर्णयबाट गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको संयोजकत्वमा गठित नौ सदस्यीय समितिको म्याद सोमबार रातिदेखि सकिएको हो ।

संगठित सुन तस्करी : अनुसन्धान समितिको म्याद सकियो

संगठित सुन तस्करीमा संग्लन ‘ठूला माछा’ को पहिचान नै नभई र सुन तस्करीका विभिन्न घटनाक्रमको अन्तरसम्बन्ध केलाउन बाँकी नै रहेका बेला समितिको म्याद सकिएको हो । सरकारले म्याद नथप्ने भएपछि समितिले अहिलेसम्मको अनुसन्धानको निचोड समेटेर प्रतिवेदन बुझाउने अन्तिम तयारी थालेको छ ।

संगठित सुन तस्करीका ‘ठूला माछा’ समात्ने विश्वास राखेको समितिले अहिलेसम्मको अनुसन्धानको आधारमा एम के भनिने मोहनकृष्ण अग्रवाल, राजेन्द्र शाक्य र विमल पोदार संगठित तस्करीको सुनको मुख्य लगानीकर्ता भएको र भुजुङ गुरुङ, छिरिङ वाङदेल, महावर गोल्यान, गोरे भनिने चुणामणि उप्रेती, सञ्जय खेतान, बिरगंजका ब्यापारी राजु दारुका, दुबईमा रहेका हरिशरण खडका, बेनु श्रेष्ठ र चेतन भण्डारी पटके लगानीकर्ता रहेको निष्कर्ष निकालेको छ ।


अनुसन्धान समितिका सदस्य एसएसपी वसन्त लामाका अनुसार समितिकै अनुसन्धानका आधारमा एसएसपी श्याम खत्री, पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकास खनाल, एसएसपी दिवेश लोहनी र डीएसपी सञ्जय राउत पुर्पक्षका लागि थुनामा छन् । समितिले संगठित सुन तस्करीमा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका कर्मचारी कसरी संलग्न भएका थिए भन्ने तथ्य सतहमा ल्याएको छ ।


त्यस्तै विमानस्थलमा संलग्न सुरक्षाकर्मीको संलग्नता र सहयोग, हुन्डी कारोबारीसँगको कनेक्सनजस्ता विषय बाहिर ल्याएको गरेको छ । समितिले पाँच वर्षको अवधिमा भएको ३८ क्विन्टल सुन तस्करीमा मोहनकृष्णलगायतको लगानी रहेको निष्कर्ष निकालेको छ । तर उनीभन्दा माथिल्लो तहमा कसले लगानी गरेको थियो, दुबई हुँदै काठमाडौं भित्रिने सुन कहाँ जान्थ्यो भन्ने प्रश्नको उत्तर फेला परेको छैन । अनुसन्धान सुरु भएलगत्तै फरार अग्रवाल अहिलेसम्म पक्राउ परेका छैनन् ।


समितिका एक सदस्यले सरकारले हराएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्याको मात्रै अनुसन्धान गर्ने म्यान्डेट दिएकाले समिति त्यसैमा बढी केन्द्रित भएको बताए । एसएसपी लामाका अनुसार संगठित सुन तस्करीमा पोदारबाहेक अन्य भारतीय नागरिकको संलग्नताका विषयमा पनि समिति निचोडमा पुग्न सकेन । समितिले संगठित सुन तस्करीमा राजनीतिक संरक्षणबारे पनि कुनै तथ्य बाहिर ल्याएन ।


समितिले अनुसन्धान कसरी भएको थियो, अनुसन्धानका उपलब्धिहरू के–के थिए, के कस्ता जटिलता देखापर्‍यो र संगठित सुन तस्करी रोक्न के–के सुधार गर्न सकिन्छ भन्ने सुझाव समेटेर प्रतिवेदन बुझाउने तयारी गरेको छ । एसएसपी लामाले कान्तिपुरसँग भने, ‘यो नै कप्लिट अनुसन्धान त हैन तर हामीलाई दिइएको म्यान्डेटअनुसार एउटा पाटो पूरा भएको छ ।’ गृहस्रोतका अनुसार समितिको म्याद सकिएलगत्तै सरकारले बाँकी काम प्रहरीको कुनै विशेष युनिटलाई जिम्मा लगाउने तयारी थालेको छ ।


भारतीय नागरिक विमल पोदार पक्राउ परेपछि उनका व्यापारिक साझेदारलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान थाले पनि वस्तुगत प्रमाणको अभावमा समितिले उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाउन नसकिएको समितिका एक सदस्यले बताए । ‘संगठित सुन तस्करीको एउटा समूहको जालो तोडियो, तस्करीको सन्जाल पर्दाफास भयो । कसरी सुन आइरहेछ र कसरी बजारमा गइरहेछ पत्ता लाग्यो । त्यो पनि ठूलो उपलब्धि हो,’ एसएसपी लामाले भने ।

प्रकाशित : श्रावण १, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?