चट्याङले लिन्छ वार्षिक २ सयको ज्यान

न्यूनीकरणका उपाय शून्य
अमृता अनमोल

बुटवल — नेपालमा वार्षिक करिब २ सयको चट्याङका कारण मृत्यु हुने गरेको छ । गृह मन्त्रालयका अनुसार पूर्वी झापादेखि रूपन्देहीसम्मको क्षेत्र चट्याङ अति प्रभावित हो । 

यहाँ चैतदेखि असारसम्म पर्ने चट्याङले दिनहुँ सरदर २ जनाको ज्यान जाने गरेको छ । चट्याङ प्रकोपले बर्सेनि धनजनको क्षति भइरहे पनि समाधानको पहल भने भएको छैन ।

Yamaha


अन्य प्रकोपसरह एकै ठाउँमा नआउने र एकै ठाउँमा धनजनको क्षति नहुने भएकाले चट्याङ प्रकोप व्यवस्थापनमा ध्यान नगएको सरोकारवालाको भनाइ छ ।

चट्याङ सम्बन्धमा जानकारहरूका अनुसार जमिनबाट पानीको कण वास्पीकरण भएर बादल बन्ने क्रममा धनात्मक र ऋणात्मक चार्ज उत्पन्न हुन्छ । त्यही चार्जबीचको टक्कर हुँदा करेन्टका रूपमा चट्याङ पर्छ । अमृत साइन्स क्याम्पसका प्राध्यापक तथा चट्याङविज्ञ डा. श्रीराम शर्माका अनुसार चुरे क्षेत्रका कारण नेपाल चट्याङको बढी जोखिममा छ ।

यसबारे जनचेतना अभाव र कुनै पनि सावधानी नअपनाउँदा चट्याङबाट बढी क्षति हुने गरेको हो । धेरै क्षति घर तथा भवन बनाउँदा आकाशबाट आउने करेन्ट रोक्ने उपकरण प्रयोग नगर्दा भएको छ । ‘घर तथा सार्वजनिक भवनमा धातुको प्रयोग गर्ने र चट्याङ रोक्ने उपकरण लगाउने हो भने केही हदसम्म यो प्रकोपको क्षति कम गर्न सकिन्छ,’ शर्माले भने, ‘भवन आचारसंहितामा भूकम्प प्रतिरोधी घर बनाउन अनिवार्य गरेजस्तै चट्याङ प्रतिरोधी बनाउन पनि अनिवार्य गर्नुपर्छ ।’

सरकारले सबैभन्दा पहिले विद्यालय, अस्पताललगायत सरकारी र सामुदायिक भवन चट्याङ प्रतिरोधी बनाउनुपर्ने उनले सुझाव छ । यसो गरे नागरिकलाई प्रतिबद्ध बनाउन र निजी घर बनाउँदा पनि लागू गर्न सकिने उनले बताए ।

चट्याङबारे अर्का जानकार मान थापाले यसबारे सामान्य कुरा जाने पनि बच्न सकिने बताए । ‘चर्को घाम लाग्ने समयमा सामान्यतया दिउँसो ३ देखि ८ बजेको समयमा चट्याङ बढी पर्छ,’ उनले भने, ‘घरको छत वा छानोमा फलामका रड वा धातुको प्रयोग बढी गरे घरभित्र चट्याङ पर्दैन ।’

खेतबारीको कान्लामा यो बढी पर्छ । साधारण किसानले पनि बिहान र दिउँसोको समयमा खेतबारीमा काम गर्ने तर अपराह्नपछिको समय घरमा दिने हो भने पनि क्षतिबाट बच्न सकिन्छ । प्रकोपपछिको प्रतिकार्य प्रणाली अर्थात् उद्धार र उपचारका लागि केही तदारुकता देखाउने हो भने पनि चट्याङ लागेकालाई बचाउन सकिने उनले बताए ।

गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले बाढीपहिरोपछि बढी प्रकोप ल्याउने चट्याङ भए पनि समाधानमा पहल नभएको स्वीकारे । ‘एकै ठाउँमा क्षति नभएका कारण बेवास्तामा परेको छ,’ उनले भने, ‘अब भने निर्देशिका नै बनाएर संघ, प्रदेश र स्थानीय तहले अनिवार्य चट्याङ प्रतिरोधी घर बनाउनुपर्ने चेतना जगाउने काम गर्न निर्देशित गर्ने योजना छ ।’

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले ३ तहमा सरकार बनेकाले अब प्रत्येक प्रकोपमा ध्यान दिने बताए ।

चट्याङको प्रकोप कम गर्न प्रदेश कानुन बनाउँदा चट्याङ प्रतिरोधी घर बनाउन अनिवार्य गर्ने उनले जनाए । ‘चट्याङको प्रकोपबाट हुने क्षति घटाउन संघको समन्वयमा सीप र ज्ञान दिनेछौं,’ उनले भने, ‘स्थानीय तहसितको समन्वयमा चेतना अभिवृद्धिका कामसमेत गर्नेछौँ ।’

प्रकाशित : श्रावण १, २०७५ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

संगठित सुन तस्करी : अनुसन्धान समितिको म्याद सकियो

जनकराज सापकोटा

काठमाडौँ — सनम शाक्यको हत्या र हराएको ३३ केजी सुनको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिको म्याद सकिएको छ । चैत ३० मा मन्त्रिपरिषद्‍को निर्णयबाट गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको संयोजकत्वमा गठित नौ सदस्यीय समितिको म्याद सोमबार रातिदेखि सकिएको हो ।

संगठित सुन तस्करीमा संग्लन ‘ठूला माछा’ को पहिचान नै नभई र सुन तस्करीका विभिन्न घटनाक्रमको अन्तरसम्बन्ध केलाउन बाँकी नै रहेका बेला समितिको म्याद सकिएको हो। सरकारले म्याद नथप्ने भएपछि समितिले अहिलेसम्मको अनुसन्धानको निचोड समेटेर प्रतिवेदन बुझाउने अन्तिम तयारी थालेको छ।
संगठित सुन तस्करीका ‘ठूला माछा’ समात्ने विश्वास राखेको समितिले अहिलेसम्मको अनुसन्धानको आधारमा एम के भनिने मोहनकृष्ण अग्रवाल, राजेन्द्र शाक्य र विमल पोदार संगठित तस्करीको सुनको मुख्य लगानीकर्ता भएको र भुजुङ गुरुङ, छिरिङ वाङदेल, महावर गोल्यान, गोरे भनिने चुणामणि उप्रेती, सञ्जय खेतान, बिरगंजका ब्यापारी राजु दारुका, दुबईमा रहेका हरिशरण खडका, बेनु श्रेष्ठ र चेतन भण्डारी पटके लगानीकर्ता रहेको निष्कर्ष निकालेको छ।

अनुसन्धान समितिका सदस्य एसएसपी वसन्त लामाका अनुसार समितिकै अनुसन्धानका आधारमा एसएसपी श्याम खत्री, पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकास खनाल, एसएसपी दिवेश लोहनी र डीएसपी सञ्जय राउत पुर्पक्षका लागि थुनामा छन् । समितिले संगठित सुन तस्करीमा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका कर्मचारी कसरी संलग्न भएका थिए भन्ने तथ्य सतहमा ल्याएको छ ।

त्यस्तै विमानस्थलमा संलग्न सुरक्षाकर्मीको संलग्नता र सहयोग, हुन्डी कारोबारीसँगको कनेक्सनजस्ता विषय बाहिर ल्याएको गरेको छ । समितिले पाँच वर्षको अवधिमा भएको ३८ क्विन्टल सुन तस्करीमा मोहनकृष्णलगायतको लगानी रहेको निष्कर्ष निकालेको छ । तर उनीभन्दा माथिल्लो तहमा कसले लगानी गरेको थियो, दुबई हुँदै काठमाडौं भित्रिने सुन कहाँ जान्थ्यो भन्ने प्रश्नको उत्तर फेला परेको छैन । अनुसन्धान सुरु भएलगत्तै फरार अग्रवाल अहिलेसम्म पक्राउ परेका छैनन् ।

समितिका एक सदस्यले सरकारले हराएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्याको मात्रै अनुसन्धान गर्ने म्यान्डेट दिएकाले समिति त्यसैमा बढी केन्द्रित भएको बताए । एसएसपी लामाका अनुसार संगठित सुन तस्करीमा पोदारबाहेक अन्य भारतीय नागरिकको संलग्नताका विषयमा पनि समिति निचोडमा पुग्न सकेन । समितिले संगठित सुन तस्करीमा राजनीतिक संरक्षणबारे पनि कुनै तथ्य बाहिर ल्याएन ।

समितिले अनुसन्धान कसरी भएको थियो, अनुसन्धानका उपलब्धिहरू के–के थिए, के कस्ता जटिलता देखापर्‍यो र संगठित सुन तस्करी रोक्न के–के सुधार गर्न सकिन्छ भन्ने सुझाव समेटेर प्रतिवेदन बुझाउने तयारी गरेको छ । एसएसपी लामाले कान्तिपुरसँग भने, ‘यो नै कप्लिट अनुसन्धान त हैन तर हामीलाई दिइएको म्यान्डेटअनुसार एउटा पाटो पूरा भएको छ ।’ गृहस्रोतका अनुसार समितिको म्याद सकिएलगत्तै सरकारले बाँकी काम प्रहरीको कुनै विशेष युनिटलाई जिम्मा लगाउने तयारी थालेको छ ।

भारतीय नागरिक विमल पोदार पक्राउ परेपछि उनका व्यापारिक साझेदारलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान थाले पनि वस्तुगत प्रमाणको अभावमा समितिले उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाउन नसकिएको समितिका एक सदस्यले बताए । ‘संगठित सुन तस्करीको एउटा समूहको जालो तोडियो, तस्करीको सन्जाल पर्दाफास भयो । कसरी सुन आइरहेछ र कसरी बजारमा गइरहेछ पत्ता लाग्यो । त्यो पनि ठूलो उपलब्धि हो,’ एसएसपी लामाले भने ।

प्रकाशित : श्रावण १, २०७५ १८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT