डा. केसी अनशन : औपचारिक वार्ता हुन सकेन
काठमाडौँ — जुम्लामा १८ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका मागका विषयमा मंगलबार पनि औपचारिक वार्ता हुन सकेन । सरकारी टोलीले पहिला डा.केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेपछि मागका विषयमा छलफल हुन नसकेको डा. केसीका प्रतिनिधिले बताएका छन् ।
उनीहरूले सोमबार र मंगलबारको अनौपचारिक वार्तापछि सरकार पेलेर अघि बढ्ने रणनीतिमा रहेको निष्कर्ष निकालेका छन् ।
मंगलबार बिहान ९ बजेदेखि दुवै पक्ष छलफलमा जुटे पनि औपचारिक वार्ता नभएको डा. केसीका प्रतिनिधिले बताए । ‘बिहान ९ बजेदेखि सरकारी पक्षसँग बस्दा पनि वार्ताको न्यूनतम वातावरण बन्न सकेन,’ छलफलमा संलग्न डा.अभिषेकराज सिंहले कान्तिपुरसँग भने, ‘सरकारले पेलेर जाने रणनीति लिएजस्तो देखिन्छ ।’
सरकारी पक्षले डा. केसीलाई उपचारका लागि काठमाडौं नल्याएसम्म कुनै कुरा नगर्ने अडान लिएको उनले बताए । ‘सरकारी टोलीसँग एजेन्डा र मागबारे कुनै कुरा भएन, उहाँहरूले डा.केसीलाई काठमाडौं ल्याउन हेलिकप्टर तम्तयार राखेको मात्रै बताउनुभयो,’ डा.केसीका प्रतिनिधि अधिवक्ता ओमप्रकाश अर्यालले भने । सरकारी टोलीले चिकित्सा शिक्षा विधेयक फिर्ता लिने विषयमा छलफल गर्नै नचाहेको उनले बताए ।
सरकारले स्वास्थ्य रक्षाका कारण देखाउँदै डा.केसीलाई जसरी भए पनि काठमाडौं ल्याउने र संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने रणनीति लिएको डा. केसीका प्रतिनिधिले आरोप लगाएका छन् । ‘दुई दिनयता करिब १० घण्टा छलफल भए पनि सरकारी टोलीको स्थिति म्यान्डेटविहीन वार्ताकारको भएकाले समय लम्ब्याउने उद्देश्य मात्रै देखिएको छ,’ अर्यालले भने ।