१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फेरि डुब्यो गोबरगाढा

मेयर भन्छन्, बस्ती स्थानान्तरण नै विकल्प
अवधेशकुमार झा

गोबरगाढा (सप्तरी) — पछिल्लो ६ दिनदेखि हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोबरगाढामा कोसी नदी पसेको छ । त्यहाँ ४० परिवारका २ सय ५० जना त्रासमा बाँचिरहेका छन् । नदी पार गर्न सक्नेहरू सुरक्षित स्थानतिर लागिसकेका छन् ।

फेरि डुब्यो गोबरगाढा

पहाडी क्षेत्रमा निरन्तर वर्षासँगै कोसीमा ६ दिनदेखि बहाव बढेपछि गोबरगाढाको पूर्व र पश्चिम दुवैतर्फको मूल भँगालो बस्तीको बीचमा बगेको छ । ३ फिटसम्म पानी जमेकाले कोही विद्यालयमा र कोही डुबेकै घरमा खाटमाथि बसेर गुजारा गरिरहेका छन् ।


‘६ दिनदेखि खाटमा बसेर ज्यान जोगाएका छौं,’ मुसहरी बस्तीकी सुगनीदेवी सदाले भनिन्, ‘अब हामी कहाँ जाने ?’ केही स्थानीय डुंगा चढेर सुरक्षित स्थानतिर लागेको उनले जानकारी दिइन् । विद्यालयमा ७४ जनाले आश्रय लिइरहेको वडाध्यक्ष विन्देश्वर यादवले बताए ।


कोसीको टापुमा रहेकाले यो बस्ती हरेक वर्ष डुबानमा पर्छ । दुई वर्षअघि भारतले कोसी ब्यारेजको २८ नम्बर ढोकाअघि पाइलट च्यानल बनाएर नदीको बहावलाई पश्चिम फर्काएपछि गोबरगाढा डुबानमा पर्न थालेको स्थानीय बताउँछन् । हनुमाननगर बजारबाट डुंगामा गोबरगाढा पुग्न अहिले कम्तीमा चार घण्टा लाग्छ । ठूला र साना गरी ७ वटा भंगालो तरेपछि मात्रै गोबरगाढा पुगिन्छ । ९ सय ५० जनाको बसोबास रहेको उक्त वडाका धेरै जना अन्यत्र सरिसकेका छन् । अहिले ४० परिवारका २ सय ५० जना मात्र त्यहाँ बस्छन् ।


‘पानी नपसेको घर छैन,’ शान्तिदेवी सदाले भनिन्, ‘केही घर भत्केका छन्, बस्तीमै पनि सुरक्षित ठाउँ छैन । हामी अहिले बेसहारा भएका छौं ।’ बाढीले गोबरगाढा बस्तीका १० वटा घर भत्काएको छ । अन्य २० वटा जीर्ण छन् ।


विद्यालयमा शरण लिएर बसेकामध्ये २० भन्दा बढी बालबालिका बिरामी परेका छन् । उनीहरूमा आँखा पाक्ने, कान सुन्निने, ज्वरो र रुघाखोकीको समस्या देखिएको स्वास्थ्य स्वयंसेविका सुशीलादेवी रजकले जानकारी दिइन् । उनका अनुसार बस्तीमा बिरामीको संख्या बढिरहेको छ तर गोबरगाढा स्वास्थ्य चौकी दुई महिनादेखि बन्द छ । स्वयंसेविका रजकका अनुसार इञ्चार्ज नरेन्द्र सिंह दुई महिनादेखि गाउँ फर्केका छैनन् । ‘जेठमै खोप लगाएर जानुभएको, त्यसपछि देखा पर्नुभएको छैन,’ उनले भनिन् ।


बालबालिका बिरामी पर्न थालेपछि औषधिसहित पठाइएको स्वास्थ्यकर्मीको टोली मंगलबार गोबरगाढा जान नसकेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनकै संयोजकत्वमा भएको छलफलपछि गोबरगाढामा स्वास्थ्यकर्मीको टोली पठाइएको थियो । तर समयमा डुंगा उपलब्ध नभएको र नदीको कुनै–कुनै भँगालोमा पानीको सतह घटेकाले डुंगामा जान समस्या परेको भन्दै टोली हनुमाननगर बजारबाटै फर्किएको थियो । बुधबार बिहान आवश्यक प्रबन्ध मिलाएर औषधिसहित स्वास्थ्यकर्मीको टोली गोबरगाढा पठाउने पौडेलले बताए ।


खाद्यान्न अभाव
दैनिक मजदुरी गरेर खाने स्थानीयवासी बाढीका कारण काममा जान सकेका छैनन् । जोहो गरेर राखेको खाद्यान्न सकिन लागेको उनीहरूले बताएका छन् । ‘घरमा बस्नै नसक्ने अवस्था भएपछि बालबच्चा लिएर विद्यालयमा आएकी छु,’ छोटकीदेवी सदाले भनिन्, ‘खानेकुरा सकिन थालेको छ ।’ स्थानीय पसल पनि रित्तिन थालेका छन् ।


‘कहाँबाट ल्याउनु सामान ? चारैतिर कोसी छ, सामान लिन हनुमाननगर जानुपर्छ ।’ विद्यालयमा आश्रय लिएकालाई सोमबार नगरपालिकाले च्युरा, भुजालगायत सामग्री वितरण गर्‍यो । ‘एक पाउ भुजा र च्युरा दिए, त्यसले कति दिन चलाउने ?’ फुलियादेवी सदाले भने । एक घरबाट अर्को घर पुग्न पनि डुंगाको सहारा लिनुपर्ने अवस्था छ । नगरपालिकाले एउटा डुंगा व्यवस्था गरिदिएको छ तर त्यसले बस्तीका सबैलाई सेवा दिन सक्ने अवस्था छैन । ‘वल्लो–पल्लो घर जान पनि डुंगा चढ्नुपर्छ, यस्तो दु:ख भगवानले कसैलाई नदिऊन्,’ परमेश्वरीदेवी यादवले भनिन् ।


बस्तीमा बाढी पसेपछि धेरैलाई अहिले खानेपानीको समस्या छ । ट्युबवेल डुबेकाले धमिलो पानी आउन थालेको छ । ‘धमिलो पानी खानुपरेको छ,’ तुलियादेवी यादवले भनिन्, ‘शौचालय पनि पानीमा डुबेको छ, दिसापिसाब पनि पानीमै गर्नुपर्‍या छ ।’


यहाँको समस्याबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए पनि चासो नदिएको वडाध्यक्ष यादवले बताए । ‘पटक–पटक प्रमुख जिल्ला अधिकारीलाई समस्याबारे जानकारी गराएको छु तर उहाँले कुनै चासो दिनुभएको छैन,’ उनले भने । प्रमुख जिल्ला अधिकारी पौडेलले भने गोबरगाढाका बाढीपीडितलाई सुरक्षित स्थानमा सार्ने र खानपानको व्यवस्था मिलाउनेबारे छलफल भइरहेको जानकारी दिए ।


मेयर शैलेश साहले डुबानमा परेका बासिन्दा सुरक्षित स्थानमा सर्न नमानेको दाबी गरे । हरेक वर्ष डुबानमा पर्ने भएकाले बस्ती स्थानान्तरण नै विकल्प भएको उनले बताए । ‘हामीले दीर्घकालीन समाधानका लागि बस्ती नै स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएका छौं,’ उनले भने, ‘तत्कालका लागि नगरपालिकाको सहयोगमा बसोबास व्यवस्था मिलाउने तयारी गरिए पनि उनीहरूले मानेका छैनन् ।’

प्रकाशित : श्रावण २, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?