कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विकासले निम्त्याएको विनाश : पहिरोले गाउँ विस्थापित

भीमबहादुर सिंह

जाजरकोट — पहिरोको कारण नलगाड नगरपालिका ८, कायखेतका १० घर परिवार विस्थापित भएका छन् । गत असार २७ गतेयता लगातारको वर्षापछि खसेको पहिरोले उक्त गाउँका बासिन्दा विस्थापित भएका हुन् ।

विकासले निम्त्याएको विनाश : पहिरोले गाउँ विस्थापित

पहिरोले २ सय रोपनी पाखो तथा खेतमा लगाएको धान र मकै बाली समेत नष्ट गरेको छ ।


पहिरोले कायखेतका हुम प्रकाश सिंह, हिरालाल खत्री, नेवबहादुर खत्री, धुव्र सिंह, धनबहादुर शाही, प्रकाश शाही, खड्क बहादुर शाही, हरि बहादुर सिंह, नरजंग शाहीलगायत १० घर परिवार विस्थापित भएका छन् । विस्थापित भएका उनीहरु छिमेकी गाउँ कायमैदेमा बसाई सरेका छन् ।


माथिबाट आएको पहिरोले कायखेत गाउँका ४ घर पुरिनुको साथै अन्य ३५ घरपरिवार जोखिममा परेका छन् । त्यस्तै पहिरोले अमर शाही, टीकाराम शाही, खड्क बहादुर शाही, कृष्ण बहादुर खत्री, धीरेन्द्र शाही, कमला शाही, भीमकुमारी शाही, गोविन्द शाही, सर्जन चनारा, हस्त बहादुर चनारा, जय बहादुर शाही, प्रकाश शाही, हरि बहादुर सिंह लगायत २० घर परिवारको २ सय रोपनी खेतबारीमा लगाएको धान तथा मकै बाली नष्ट गरेको छ ।


पहिरोले बस्ने घर र २० मुरी धान उब्जने खेत पुरिदिएपछि के खाने?, कहाँ बस्ने? भन्ने समस्या भएको स्थानीय हुम प्रकाशले बताए । पहिरोको कारण घर न घाटको भएको उनको भनाई छ । पहिरोले सुकुम्बासी बनाउदा ७ जनाको परिवार छिमेकमा आश्रय लिन वाध्य भएको उनले बताए ।


कायखेत गाउँमाथिबाट जथाभावी सडक खन्ने काम गर्दा पहिरोको जोखिम बढेको सर्जन चनाराले बताए । विकासले उल्टै विनाश निम्त्याएको चनाराले बताए । नलगाड नगरपालिकाले कायखेत–ताँसे–जिकुवा कृषि सडक, मन्मै गारकमद जिकुवा हलचौर सडक र जिकुवा काव्रा लुपाना भरगाउँ सडकको अन्धधुन्द निर्माण गर्दा पहिरोको जोखिम बढेको उनले बताए ।


वातावरणीय प्रभाव मुल्यांकन तथा अध्ययन बिना नै जथाभावी उक्त मोटरबाटो खन्दा वन जंगल विनाश भई पहिरो खसेको उनले बताए । गाउँ माथिबाट आएको पहरोले १३ रोपनी खेतको धानबाली पुरेको स्थानीय कर्णबहादुर शाहले बताए । कायखेत नलगाड नगरपालिकाको सबै भन्दा बढी जोखिममा रहेको नगर प्रमुख टेकबहादुर रावलले बताए । जथाभावी रुपमा मोटर बाटो खन्ने कार्य गर्दा पहिरोका जोखिम बढेको प्रमुख रावलको पनि भनाई रहेको छ ।


पहिरोको कारण छिन्चु–जाजरकोट, खलंगा–पाँचकाटीया, खलंगा–थलह, खलंगा–रिम्नालगायत सडकमा यातायात अवरुद्ध भएको छ ।


सडकको दर्जनौं स्थानमा पहिरो खसेपछि यातायातका साधन नचल्दा यात्रुहरु ठाउँठाउँमा अलपत्र परेका छन् । यसैगरी अविरल बर्षापछि सदरमुकाम खलंगा पनि पहिरोको उच्च जोखिमा परेको छ । खलंगा बजार भित्रको सडक भासिन गई जोखिममा परेको हो ।

प्रकाशित : श्रावण २, २०७५ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?