१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बिहीबार आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

अतुल मिश्र

काठमाडौँ — नेपाल चिकित्सक संघले बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबार आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले उक्त निर्णय गरेको हो । साथै राजधानीमा रहेका स्वास्थ्यकर्मीहरु दिउँसो १२ बजे माइतीघर मण्डलमा भेला भएर प्रदर्शन गर्नेसमेत उसले जनाएको छ ।


'एक दिन बन्द गर्दा देशभरका स्वास्थ्यकर्मीको आवाज सरकारले सुन्छ भने हामी त्यसको लागि तयार छौँ' बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने, 'एक दिने बन्दपछि पनि सरकारले चासो नदिएमा त्यसपछि अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने छौँ ।'


डा. केसीले सरकारले हालै संसदमा पेश गरेको मेडिकल शिक्षा सम्बन्धी विधेयक फिर्ता लिएर यसअघि डा. केदारभक्त माथेमाको संयोजकत्वमा यस सम्बन्धमा गठित समितिको प्रतिवेदनको आधारमा कानुन बनाउन माग गरेका छन् । उनी विगत १९ दिनदेखि जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरन छन् । यो उनको १५ औं अनशन हो ।


सरकारले सोमबार साँझ डा. केसीका प्रतिनिधिसंग वार्ताका लागि टोली गठन गरेको छ । डा. केसीका प्रतिनिधि र टोलीबीच दुई पटक अनौपचारिक छलफल भएपनि सहमति भएको छैन । डा. केसी संसदबाट विधेयक फिर्ता हुनुपर्ने अडानमा छ भने सरकारी पक्षले उनलाई जुम्लाबाट काठमाडौं आउन तयार हुनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित : श्रावण २, २०७५ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?