१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अघिल्लो अध्यादेशअनुसारको विधेयक ल्याउन कांग्रेसको आग्रह

रासस

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ । 

अघिल्लो अध्यादेशअनुसारको विधेयक ल्याउन कांग्रेसको आग्रह

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा यथास्थितिमा चिकित्सा शिक्षा विधेयक पेस गरे प्रतिवाद गर्ने निष्कर्ष निकालेको जनाएको छ ।


बैठकले माथेमा आयोगको भावना र मर्मविपरीतको विधेयक ल्याए संघीय संसद्सँगै सातै प्रदेशका प्रदेशसभामा पनि सोहीअनुसारको सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पदाधिकारी बैठकमा बिहीबारदेखि शुरु हुने पार्टीको विरोधसभालाई प्रभावकारी र व्यवस्थित बनाउने सम्बन्धमा समेत छलफल भएको प्रवक्ता शर्माले बताए । कांग्रेसले सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन ३ गतेदेखि विरोधसभा गर्ने जनाएको छ ।


बैठकमा सभापति देउवाले भातृ संस्था नेपाल विद्यार्थी संघमा देखिएको विवाद तत्काल मिलाउन निर्देशन दिएका थिए । साथै पार्टीको विधान मस्यौदा समिति बनाउने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको बताउँदै उनले भने, “सम्भवतः भोलि नै ९ देखि ११ सदस्यीय विधान मस्यौदा समिति गठन हुनेछ ।”


कांग्रेसको गत वैशाख १६ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनःसंरचना मुताविक पार्टीको पुनःसंरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन समिति बनाउने निर्णय गरेको थियो । पार्टीका विभिन्न तहबाट रायसुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत कार्यका लागि अर्को महिना कांग्रेसको महासमिति बैठक बस्ने तयारी छ ।


बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, प्रवक्ता शर्मा, मुख्य सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाललगायत उपस्थित थिए ।



कांग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दाहाल


यसैगरी कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पुरुषोत्तम दाहाल नियुक्त भएका छन् ।


पार्टी उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले बुधबार उनलाई पार्टीको विधानबमोजिम नियुक्त गरेको पार्टी कार्यालयले जनाएको छ ।


ओखलढुंगा निवासी दाहाल विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् भने विगत ३४ वर्षदेखि प्राध्यापन पेसामा संलग्न छन् । विसं २०३१ देखि नेपालको लोकतान्त्रिक आन्दोलनमा संलग्न दाहाल मानव अधिकारकर्मी तथा साहित्यकारसमेत हुन् ।


दाहालले विसं २०४१ देखि २०५६ सम्म कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर कामसमेत गरिसकेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : श्रावण २, २०७५ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?