१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ओली र दाहाललाई मार्सी चामलको भात खुवाउने प्रसाईं को हुन् ?

अर्जुन राजवंशी

बिर्तामोड (झापा) — नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएको तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ भएसँगै एउटा नाम निकै चर्चामा आयो– दुर्गा प्रसाईं । उनी झापाको बिर्तामोडस्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक हुन् । 

ओली र दाहाललाई मार्सी चामलको भात खुवाउने प्रसाईं को हुन् ?

बिर्तामोड निवासी प्रसाईंले भक्तपुरस्थित घरमा पनि वाम एकता हुनुअघि फागुन ६ मा दुवै अध्यक्षलाई मार्सी भातको ‘मेजमानी’ पस्किएका थिए । साविक शनिश्चरे गाविसमा जन्मिएका उनले शनिश्चरे माविमा कक्षा ८ सम्म अध्ययन गरेका छन् ।


नजिकैको बिर्तामोडमा सहरीकरण बढदै गएपछि उनले आफ्नो बसाइ पनि त्यहीँ सारे । भैंसी चराउँदै बाल्यकाल बिताएका प्रसाईंले कुनै बेला भैंसीपालन व्यवसाय गरेका थिए । उनले केही समय फर्निचर व्यवसाय र भिट्टा व्यापारसमेत गरे । प्रसाईंले एकाएक बिर्तामोडमा मेडिकल कलेज खोल्छु भन्दा धेरैले उनको मजाक उडाए । कतिपयले त ‘बहुलायो’ सम्म भन्न भ्याए ।

उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘गरिब थिएँ, सबैले हेलाँको दृष्टिले हेर्थे । तर, आज तिनीहरूकै अगाडि यत्रो हस्पिटल खोलेको छु । यो गर्वको कुरा हो । म सपना देखेपछि पूरा गर्ने मान्छे हुँ ।’ उनले भनेका छन्, ‘हिजोका दिनमा भैंसी चराउने र दूध बेच्ने काम गर्थे । कुकिज र चिया खाएर काम गरेको अहिले पनि झल्झली याद आउँछ । मलाई मन नपराउनेहरूले खेदो गरेकाले नै मैले प्रगति गर्ने मौका पाएँ ।’ प्रसाईं पिता कृष्णप्रसाद र माता कौशिलाका साइलो छोरा हुन् ।

झापाको बिर्तामोडस्थित बीएन्डसी हस्पिटल । तस्बिर : अर्जुन/कान्तिपुर

बिर्तामोडमा एक बिघामा अस्पताल र धाइजनमा १६ बिघामा मेडिकल कलेजको संरचना निर्माण भएको छ । हस्पिटल २०७१ फागुनदेखि सञ्चालनमा छ । प्रसाईंले कलेजका लागि ६ अर्ब लगानी गरेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘तीन सय करोड बैंकमा ऋण छ । दुई सय करोड बजारमा ऋण छ । बाँकी बिर्तामोडको जग्गा बेचेर पुर्‍याएको हुँ ।’


९ सय ५० शय्याको शिक्षण अस्पताल सञ्चालनमा रहेको दाबी गरिए पनि अहिले बीएन्डसीमा त्यति संख्यामा बेड छैनन् । अस्पताल प्रसाईंका ससुरा भगवान गिरी र सासू चन्द्रमाया गिरीको स्मृतिमा खोलिएको हो । अस्पतालको अध्यक्षमा उनकी जेठी सासू इन्दिरा गिरी र सञ्चालकमा सालो डा. रामबाबु गिरी छन् ।


प्रसाईंबारे नजिकबाट जानकारी राख्नेहरूका अनुसार अस्पतालमा इन्दिरा र रामबाबुको लगानी धेरै छ । भगवान गिरीका कान्छी श्रीमतीतर्फका तीन सन्तान इन्दिरा, उमा र रामबाबु हुन् । दुर्गा उमा गिरीका पति हुन् ।


गिरी परिवारमा अंशसम्बन्धी विवाद भएपछि इन्दिरा, उमा र रामबाबुलाई अंश दिलाउन दुर्गाले लामो समय अदालती मेहनत गरेका थिए । अंश मुद्दा पर्दा सालो रामबाबु नाबालक थिए । दुर्गाले नै संरक्षकको भूमिका निर्वाह गर्दै रामबाबुलाई डाक्टरी पढाएका हुन् ।


इन्दिरा, उमा र रामबाबुले मुद्दा जितेपछि दुर्गाको दैनिकीमा परिवर्तन आएको निकटस्थहरूको भनाइ छ । तर, प्रसाईंले आफ्नो बुबाको एक सय बिघा जमिन भएको र पैत्रिक सम्पत्तिबाटै मेडिकल कलेज खोलेको दाबी गरेका छन् । प्रसाईंका एक छोरा निराजन र छोरी आर्जु छन् । निराजनले एमबीबीएस सकेका छन् भने आर्जु एमबीबीएस अध्ययन गरिरहेकी छन् ।


प्रसाईंले अनशनरत डा. गोविन्द केसीको मागअनुसार नै आफूले सुदूरपूर्वमा मेडिकल कलेज सञ्चालनमा ल्याउन लागेको बताए । प्रसाईं तत्कालीन माओवादी केन्द्रनिकट हुन् । उनले भूमिगत कालमा पार्टीलाई महत्त्वपूर्ण सहयोग गरेको नेता गोपाल प्रसाईंले बताए । ‘पार्टी कामका सिलसिलामा दुर्गाजीलाई २०५६ देखि चिन्छु । त्यतिबेला पार्टीलाई महत्त्वपूर्ण सहयोग गर्नु भएको थियो । शान्ति प्रक्रियापछि भने पार्टीमा संगठित भएर अघि बढ्नुभएको हो । उहाँलाई पार्टीमा संगठित गराउन मैले नै भूमिका खेलेको हुँ ।’ प्रसाईं सैनिक हिरासतमा समेत बसेका थिए ।


उनी छोटो समयमै अध्यक्ष पुष्पकमल दाहालको विश्वास पात्र बन्न सफल भएको पार्टीका जिल्ला नेताहरूको भनाइ छ ।

प्रकाशित : श्रावण २, २०७५ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?