१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बढ्ने भए पाटे बाघ !

साउन १३ मा नयाँ तथ्यांक सार्वजनिक गरिने 

काठमाडौँ — विश्वमै दुर्लभ मानिने पाटे बाघको संख्या सन् २०१३–१४ को भन्दा बढ्ने देखिएको छ । सन् २०१३–१४ को गणनाअनुसार पर्सादेखि शुक्लाफाँटासम्मका निकुञ्जमा १ सय ९८ वयस्क बाघ थिए । 

बढ्ने भए पाटे बाघ !

बाघ गणना प्राविधिक समितिका संयोजक गोपालप्रकाश भट्टराईले यसपटकको गणनाले बाघको संख्या उल्लेख्य बढ्ने संकेत मिलेको बताए ।


बाघ गणना गर्न राखिएका स्वचालित क्यामेरा (क्यामेरा ट्रयापिङ) ले पर्सा निकुञ्जदेखि शुक्लाफाँटा निकुञ्जसम्म झन्डै बाघका ८ हजारवटा तस्बिर कैद गरेका थिए । मंसिर १३ देखि माघ अन्तिमसम्म बाघ गणना गरिएको थियो ।


‘क्यामेरामा कैद भएका बाघका तस्बिर केलाउँदा हामी उत्साही भएका छौँ,’ संयोजक भट्टराईले कान्तिपुरसँग भने । यो गणनाले ५ वटा निकुञ्जमा बाघको संख्या २ सयभन्दा बढी हुने अनुमान विशेषज्ञको छ ।


विशेषज्ञ सम्मिलित प्राविधिक समितिले क्यामेरामा कैद भएका बाघको तथ्यांक विश्लेषण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ ।


समितिमा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा.नरेश सुवेदी, डब्लूडब्लूएफ नेपालका डा. कञ्चन थापा, जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) नेपालका डा. भगवान दाहाल र भोगेन्द्र रायमाझी, विभागका इकोलोजिस्ट लक्ष्मण पौडेल र सहायक इकालोलोजिस्टद्वय ऋषि रानाभाट तथा भूपेन्द्र यादव छन् ।


समितिले आगामी साता बाघको संख्या यकिन गर्नेछ । आगामी साउन १३ (२९ जुलाई) मा मनाइने विश्व बाघ दिवसका अवसरमा नयाँ तथ्यांक सार्वजनिक गर्ने गरी काम भइरहेको संयोजक भट्टराईले बताए ।


२०१३/२०१४ को गणनाअनुसार चितवन निकुञ्जमा १२०, बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा ७ र बाँके निकुञ्जमा ४ वयस्क बाघ थिए । बाघको संख्या बढाउनकै लागि पर्सा र शुक्लाफाँटालाई निकुञ्ज बनाइएको छ ।


प्राविधिक समितिका एक सदस्यले शुक्लाफाँटाबाहेकका निकुञ्जमा बाघको संख्या बढेको जानकारी दिए ।


भट्टराईले अहिलेकै गतिमा वृद्धि हुने हो भने सन् २०२२ मा बाघको संख्या २५० पुग्ने दाबी गरे । सन् २०१० मा बाघ पाइने १२ देशका प्रमुखहरूको सम्मेलन रुसको पिटर्सबर्गमा भएको थियो । उक्त सम्मेलनले सन् २०२२ सम्म विश्वभर बाघको संख्या ३५ सयको दोब्बर पार्ने संकल्प गरेको थियो ।


सन् २००८/१० : १२१

सन् २०१३/२०१४ : १९८

सन् २०१७/२०१८ : २०० प्लस

सन् २०२२ : २५० प्लस

प्रकाशित : श्रावण २, २०७५ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?