डा. केसीलाई पुरानै अनशनस्थलमा राखियो [अपडेट]

मुलुकभरका अस्पतालमा सेवा प्रभावित

काठमाडौं, जुम्ला — डा. गोविन्द केसीलाई राजधानी ल्याएलगत्तै त्रिवि शिक्षण अस्पतालको ‘ईएनटी’ भवनस्थित पुरानो अनशनस्थलमै राखिएको छ । यसअघि पनि शिक्षण अस्पताल परिसरमै उनी १४ पटक अनशन बसेका थिए । केसीतर्फका वार्ता टोलीका सदस्यको मागअनुसार नै उनलाई शिक्षण अस्पतालमा राखिएको हो ।

डा. केसीलाई पुरानै अनशनस्थलमा राखियो [अपडेट]

शिक्षण अस्पतालका चिकित्सकका अनुसार उनको स्वास्थ्य स्थिति जटिल छ । केसीको स्वास्थ्य अवस्था जटिल बनेका कारण काठमाडौं ल्याइएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । ‘डा. केसीको स्वास्थ्य रिपोर्ट हेरेपछि काठमाडौं ल्याएर उपचार गर्न विलम्ब गर्नु हुँदैन भनेर उद्धार टोली पठाएका हौं,’ उनले भने । पोखरेलका अनुसार जुम्लामा आईसीयू नभएका कारण उनलाई काठमाडौं ल्याउनुपरेको हो ।

बालुवाटारमा बुधबार राति बसेको प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीको बैठकले केसीलाई राजधानी ल्याउनैपर्ने निर्णय गरेको थियो । बैठकको निर्णयअनुसार बिहीबार सरकारी टोली केसीलाई लिन जुम्ला पुगेको थियो । केसीसँगै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिलामन्त्री नरेश भण्डारी पनि काठमाडौं आएका छन् । ‘सरकारले पहिलो कार्यादेश नै केसीको जीवन रक्षा गर्नू भनेको थियो, सोहीअनुसार उहाँलाई राजधानी ल्याएका छौं,’ सरकारी वार्ता टोली संयोजक बरालले भने, ‘अब सरकारले जे कार्यादेश दिन्छ, त्यहीअनुसार हामी वार्ता गर्छौं ।’

डा. केसीलाई राजधानी ल्याएपछि बालुवाटारमा राति अबेरसम्म शिक्षामन्त्रीसहित नेकपाका शीर्ष नेताको बैठक बसेको छ । उक्त बैठक केसीका मागको सम्बन्धमा सरकारले लिने रणनीति तयार पार्न केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ । डा. केसीलाई लिन टोली जुम्ला पठाएपछि मन्त्री पोखरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर विधेयकको टुंगो संसद्बाटै लाग्ने दोहोर्‍याएका थिए । ‘चिकित्सा शिक्षा विधेयक संसद्मा गएको छ, संसद्बाटै टुंगो लाग्छ,’ उनले भने, ‘अनशन बस्नुपर्ने र स्वास्थ्य संस्था बन्द गर्नुपर्ने कुनै कारण छैन ।’ मन्त्रिपरिषद्बाट स्वीकृत भएर संसद्मा पुगेको विधेयक फिर्ता नहुने उनले प्रस्ट पारे ।

आकस्मिकबाहेक सेवा बन्द

नेपाल चिकित्सक संघ आबद्ध स्वास्थ्यकर्मीको आन्दोलनका कारण बिहीबार देशभरका अस्पतालको सेवा प्रभावित भयो । सरकारी, निजी, सामुदायिक, शिक्षण अस्पतालका बहिरंग विभागमा उपचार गराउन आएका सर्वसाधारण मर्कामा परे । राजधानीका वीर, त्रिवि शिक्षण, कान्ति बाल अस्पतालमा बिहानैदेखि आकस्मिकबाहेक सेवा रोकिएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहान ओपीडी सुचारु भए पनि दिउँसो बन्द गरिएको थियो । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा भने बहिरंग सेवा सुचारु भएको निर्देशक डा. जागेश्वर गौतमले बताए ।

शिक्षण अस्पतालमा केही कर्मचारी र रेजिडेन्ट चिकित्सकबीच सेवा रोक्ने विषयमा भनाभनसमेत भएको थियो । विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीका आफन्तले बहिरंग सेवा बन्दको विरोधसमेत जनाएका थिए । धेरैजसो अस्पतालमा टाढाबाट आएका बिरामीलाई नफर्काई आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो । यो बन्दप्रति चिकित्सक संघले ऐक्यबद्घता प्रकट गर्दै सघाएको थियो भने नेकपानिकट राष्ट्रिय चिकित्सक संघलगायत केही स्वास्थ्यकर्मी संघसंस्थाले विरोध गरेका थिए । चिकित्सक संघले अर्को निर्णय नभएसम्म दिनहुँ बिहान स्वास्थ्य संस्था परिसरमा एक घण्टा धर्ना कार्यक्रम जारी रहने जनाएको छ ।

संघले अनशनरत स्थलमा भएको धरपकडको निन्दा गरेको छ । संघले धरपकड, लाठी प्रहारलगायत घटनाको छानबिन गरी दोषीमाथि कारबाही माग गरेको छ । डा. केसीको जीवन रक्षा गर्न माग गर्दै बिहीबार पनि राजधानीमा र्‍याली र प्रदर्शन भएको छ । नागरिक अगुवा, चिकित्साकर्मी, विद्यार्थीलगायत विभिन्न पेसा, व्यवसायमा आबद्घले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.................................

बीस दिनदेखि जुम्लामा आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई बिहीबार काठमाडौं ल्याइएको छ । जुम्लामै वार्ता गर्नुपर्ने अडानमा रहेका केसीलाई सरकारले अन्तत: बल प्रयोग गरी नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएको हो ।

केसीलाई ल्याइएको हेलिकप्टर टुँडिखेलमा अवतरण गरिएको थियो । त्यसपछि उनलाई तत्काल उपचारका लागि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्ज लगिएको सरकारी वार्ता टोलीका सदस्य एवं स्वास्थ्य सेवा विभागका महानिदर्शेक गुणराज लोहनीले जानकारी दिए ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका लागि भन्दै डा. केसी असार १६ गतेदेखि जुम्लामा अनशनरत थिए ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकको सिफारिसका आधारमा उनलाई काठमाडौं ल्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

गृह मन्त्रालयको विज्ञप्ति

डा. केसी टिचिङ लगिने भएपछि परिचालित सुरक्षाकर्मी

.....

जुम्लामा २० दिनदेखि आमरण अनसन बसिरहेका प्राडा. गोविन्द केसीलाई सरकारले अन्तत: बल प्रयोग गरी काठमाडौं लगेकाे छ । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जुम्लास्थित नेपाली सेनाकाे ब्यारेकमा अवतरण गरेकाे हेलिकप्टरमा राखेर काठमाडौं लगिएको हो ।

'हामी डा. केसीलाई लिएर जुम्लाबाट काठमाडौंका लागि उड्यौं,' स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लाेहनीले फोनमा भने । उक्त हेलिकप्टरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अान्तरिक मामिला मन्त्री नरेश भण्डारीसहित शिक्षा मन्त्रालयका सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लाेहनी र प्रहरीको टोली सवार छ ।

सेना स्रोतका अनुसार जुम्लाबाट उडेको हेलिकप्टर २५ मिनेटमा सुर्खेत पुगेर अवतरण गर्ने छ । त्यहाँ रिफ्युलिङ गरेपछि मात्रै काठमाडौंका लागि उड्ने छ । सुर्खेतबाट काठमाडौं अाउन हेलिकप्टरलाई घटीमा एक घण्टा पाँच मिनेट लाग्ने बताइएको छ ।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच डा. केसीलाई अस्पतालबाट बाहिर निकाल्न लाग्दा स्थानीय महिलाहरुले अवरोध गरेपछि प्रहरीले पुन: लाठी चार्ज गरेको थियो । अस्पताल भित्र र बाहिर प्रहरीले गरेको लाठी चार्ज पछि जुम्लाको अवस्था पुन: तनाव ग्रस्त बनेको छ ।

सेनाकाे ब्यारेक बाहिर अहिले स्थानीयहरु जम्मा भएर नाराबाजी गरिरहेका छन् ।

प्रकाशित : श्रावण ३, २०७५ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?