कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीले भने–‘रेलमा पानी पठाउनुस् पानी’ 

दीपक परियार

लेखनाथ — प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादकत्व वृद्धि गरी निर्यात गर्ने हैसियतमा मुलुकलाई पुर्‍याउने बताएका छन् । गण्डकी प्रदेशसभा बैठकलाई बिहीबार पोखरामा सम्बोधन गर्दै उनले मुलुकमा भएका असाधारण तत्वलाई चिन्न नसकेको बताए ।

प्रधानमन्त्रीले भने–‘रेलमा पानी पठाउनुस् पानी’ 

उनले खनिज पदार्थ मिसिएको मिनरल वाटर नेपालबाहेक अन्त नपाइने दाबी गरे । उनले भने, ‘हाम्रोमा हिउँ पर्छ । त्यो उचाइमा हिउँ पर्दा पानीलाई किटनाशक बनाइसक्छ । त्यसपछि त्यो पानी फूलमा पर्छ । पातमा पर्छ । बोटमा पर्छ । अनि त्यसको औषधीय गुण लिँदै जरामा जान्छ । जराको औषधीय गुण लिँदैभित्र पहरामा पस्छ । मिनरल भनेको त्यो पहराभित्र हुन्छ । त्यो पहराभित्र गएर मिनरल तत्व पानीले लिन्छ र मूलको पानी स्प्रीङ वाटर हुन्छ, जुन मिनरल वाटर हो । संसारमा कही खोजे पनि यो पाइदैन, यहीँ मात्रै हो । ल्याबमा लगेर टेस्ट गर्नुस् औषधीमय छ ।’


‘हाम्रोमा बाहेक दुनियाँमा मिनरल वाटर झुठो कुरा हो,’ उनले प्रश्न गरे, ‘छानेको पानी मिनरल वाटर हुन्छ ?’


उद्यमी बन्न चाहनेले पानी मात्रै उठाएर बोटलिङ गरेर बेच्न सके मालामल हुने उनले जनाए । भने, ‘रेल बनाएपछि उताबाट त सामान आउँला यहाँबाट पठाउने के भन्नेलाई मेरो उत्तर– पानी पठाउनुस् पानी ।’


विश्वका कैयन देशमा ताजा पानी नहुने भएकोले प्रशस्त निर्यात गर्न सकिने उनले जनाए । ‘पानी देखेर हुँदैन । पानी नभएका देशको कुन आपत् छ । कतारमा सर्फेस् वाटरको थोपै छैन । इजरायलले समुन्द्रको पानीलाई पिउने पानी बनाउँछन् । सिंगापुरले त्यही गरिरहेछ,’ उनले भने, ‘हामीसँग असाधारण कुरा छ, त्यो असाधारण कुरा हामीले चिनेका छैनौँ ।’


उनले गण्डकी प्रदेश हरेक क्षेत्रमा अथाह सम्भावना बोकेको क्षेत्र भएको चर्चा गरे । उनले फिल्म सिटी पनि गण्डकीमा सबैभन्दा बढी उपयुक्त हुने विचार राखे । फिल्म सिटीकै अध्ययनको लागि केही दिनमा भारतीय टोली आउन लागेको जानकारी उनले दिए ।


बिहीबार नै उनले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका थिए । विमानस्थल निर्माणमा खटिएका चिनियाँ अधिकारीसँगको भेटमा उनले काम सन्तोषजनक नै भएको अभिव्यक्ति दिए । उनले रन वे विस्तार गर्ने, ह्याङगरलाई आवश्यक जमिन थप्ने, अग्ला डाँडा काट्नुपर्ने जति काट्ने लगायत आवश्यक काम गर्न निर्देशन समेत दिए । बिहीबार नै उनी पोखरा विश्वविद्यालयको १९ औँ साधारणसभामा पनि सहभागी भएका थिए ।

प्रकाशित : श्रावण ३, २०७५ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?