‘नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिन्छ’

१२ औं इक्यान शैक्षिक मेला सुरु

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिने बताएका छन् । ‘नेपाल बुद्धिजम अध्ययन गर्ने संसारकै सबैभन्दा उत्कृष्ट थलो हो,’ मन्त्री ज्ञवालीले भने, ‘यहाँ सांस्कृतिक, माउन्टेनियरिङ, आदिवासीय ज्ञानजस्ता खास–खास विषयको अध्ययन गर्ने गन्तव्य बनाउन सकिन्छ ।’ 

‘नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिन्छ’

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको १२ औं शैक्षिक मेलाको बिहीबार उद्घाटन गर्दै मन्त्री ज्ञवालीले उक्त विचार व्यक्त गरेका हुन् । समारोहमा न्युजिल्यान्ड, अस्ट्रेलिया, भारत, रुस, बेलायत तथा जापानका नेपालस्थित कूटनीतिक नियोगका राजदूत तथा प्रतिनिधि सहभागी थिए ।


उनले विदेशमा पढेर स्वदेश फर्किने वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण भएको पनि बताए । ‘अहिलेसम्म नेपालका युवा विदेश अध्ययनको निहुँमा विदेशिए,’ मन्त्री ज्ञवालीले भने, ‘अब नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्य बनाउन आवश्यक छ । त्यसनिम्ति शैक्षिक परामर्शदाता संस्थाहरूको प्रयास जरुरी छ ।’


शैक्षिक परामर्श संस्थाले नाफामात्र नभई सेवामा ध्यान दिनसमेत ज्ञवालीले सुझाव दिए । आफ्नो सन्तानका निम्ति सम्पत्ति जोहो गर्ने नेपाली परम्परा अब नरहेको उल्लेख गर्दै उनले शिक्षामा लगानी गर्नुलाई सम्पत्ति ठान्ने आधुनिक चेतनाको विस्तार भएको उनले बताए ।


इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेका अनुसार १२ औं बृहत् शैक्षिक मेलामा स्वदेशी शैक्षिक परामर्शदाता र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधि सहभागी छन् । मेलामा २ सय २६ भन्दा बढी स्टल तथा १७ वटा पेभिलियन छन् । ‘मेलामा एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुकहरूको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिइनेछ,’ अध्यक्ष पाण्डेले भने । अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, जापान, श्रीलंका, डेनमार्क, भारत र चीनका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिले परामर्श दिनेछन् ।


प्रकाशित : श्रावण ३, २०७५ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?