कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जबर्जस्ती उठाइए केसी

जुम्ला/सुर्खेत — डा. गोविन्द केसीको अनशनबारे कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही दिन अघि भनेका थिए– यो संघीय सरकारको मामिला हो । तर, बिहीबार बिहान तिनै मुख्यमन्त्रीलाई संघीय सरकारले जुम्ला पठायो । समन्वयकर्ताका रूपमा भनिए पनि नेपाली सेनाको हेलिकप्टरमा आएका मुख्यमन्त्री नेतृत्वको टोलीलाई स्पष्ट निर्देशन थियो– केसीलाई जसरी पनि जुम्लाबाट उठाएर काठमाडौं पुर्‍याउनू ।

जबर्जस्ती उठाइए केसी

यही निर्देशन कार्यान्वयनका क्रममा बिहीबार दिनभर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रणमैदानमा परिणत भयो । डा. केसीको काठमाडौं नजाने अडान र उनका समर्थकको कुनै पनि हालतमा लैजान नदिने योजनामाथि सरकारले धावा बोल्यो । प्रहरीका साथै स्वास्थ्यकर्मी, विद्यार्थी र स्थानीय घाइते भए । अन्तत: दिउँसो ४ बजे सरकारी टोलीले डा. केसीलाई सैनिक हेलिकप्टरमा राखेर काठमाडौं पठायो ।

मुख्यमन्त्री शाहीका साथै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसहितको टोली बिहान करिब ९:३० बजे जुम्ला पुगेको थियो । केसीलाई काठमाडौं लैजाने योजनाअनुरूप प्रतिष्ठान पुगेका उनीहरूलाई विद्यार्थी, स्वास्थ्यकर्मी र स्थानीयले अस्पतालभित्र प्रवेश गर्न दिएनन् । अवरोध छिचोल्न नसकी उनीहरू फर्किए । उनीहरू फर्किएको केहीबेरमै प्रहरी बलपूर्वक अस्पताल पस्यो ।

हेलिकप्टरमा जुम्ला पुगेका प्रहरी प्रधान कार्यालयका एसपी सोमेन्द्रसिंह राठोरको कमान्डमा प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेको थियो । ‘प्रहरीले यसरी गेटै फोडेर भित्र आई अन्धाधुन्ध लाठीचार्ज गर्ला भन्ने हामीले सोचेका थिएनौं,’ अस्पतालका सुरक्षा गार्ड दत्त शाहीले भने, ‘हेर्दाहेर्दर्ै अस्पताल रगताम्य भयो, बिरामी र कुरुवाको समेत बिचल्ली भयो ।’

झडपमा प्रहरी प्रधान कार्यालयका एसपी सोमेन्द्रसिंह राठोर घाइते भए । अस्पतालका विशेषज्ञ चिकित्सक डा. सन्दीप श्रेष्ठ, डा. सूर्यमान लिम्बू, डा. सिद्धार्थ थामीलगायत घाइते भएका छन् । बिरामीका कुरुवा, कर्मचारी, एचए र स्टाफ नर्स विद्यार्थीका साथै केही स्थानीयसमेत घाइते भएका छन् । प्रहरी बालबालिका वार्डमै प्रवेश गरेपछि बिरामी बच्चालाई अन्यत्र सारिएको थियो ।

जुम्लाका प्रहरी प्रमुख डीएसपी डा. तपनकुमार दाहालले अस्पतालमा भेला भएको भीड तितरबितर गर्न बल प्रयोग गरिएको बताए । ‘सरकारी टोलीले डा. केसीलाई भेट्नै पाएन, यस्तो अवस्थामा भीड हटाउनुको विकल्प रहेन,’ उनले भने, ‘त्यसैले हामीले सामान्य बल प्रयोग गर्नुपरेको हो ।’ बिहीबार दिनभर भएको झडपमा अस्पतालका फर्निचर, बेड र उपकरणमा क्षति पुगेको अस्पतालले जनाएको छ ।

२० दिनदेखि अनशनरत डा. केसीलाई सरकारले बलजफ्ती उठाएपछि जुम्लाका महिलाले फूलमालाले बिदाइ गरेका छन् । सरकारले एक सत्याग्रहीलाई अपहरणको शैलीमा उठाएकाले ससम्मान बिदाइ गरिएको द्वन्द्वपीडित महिला संघकी अध्यक्ष हरि महतले बताइन् । ‘उहाँका सबै माग हामीजस्ता जनताको पक्षमा छन्,’ उनले भनिन्, ‘सरकारले भने माग पूरा गर्नुको सट्टा अधिनायकवादी शैलीमा काठमाडौं लग्यो । त्यसैले हामीले सम्मानसाथ बिदाइ गर्‍यौं ।’ बल प्रयोग गर्नुपर्ने अवस्था नभए पनि प्रहरीले ठूलै आतंक सिर्जना गरेको उनले बताइन् ।

अस्पतालमा बल प्रयोगको विरोध
अस्पताल परिसरमा सरकारले गरेको बल प्रयोगको सर्वत्र विरोध भएको छ । ‘सरकारले डा. केसीलाई मनाएर सहमति गरी काठमाडौं लैजान सक्थ्यो, तर आतंक सिर्जना हुने गरी बल प्रयोग गरियो,’ नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भने, ‘यसले अस्पतालमा दीर्घकालीन असर पर्ने गरी त्रास छोडेको छ ।’

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले सुन्दर र शान्त नगरपालिकालाई सरकारले हिंसात्मक बनाएको भन्दै आपत्ति जनाइन् । स्थानीय सरकारसँग समन्वय नै नगरी अस्पतालजस्तो संवेदनशील क्षेत्रमा प्रवेश गर्नु लोकतन्त्रमाथिको प्रहार भएको उनले बताइन् । ‘अस्पतालभित्र गोली चलाउनु कहाँसम्मको पराकाष्ठा हो ?’ उनले भनिन्, ‘यस्तोखाले दमनले नगरमा त्रास उब्जाएको छ ।’

पत्रकारमाथि दुर्व्यवहार
डा.केसीलाई अनशन स्थलबाट बाहिर ल्याउन अस्पतालभित्र प्रवेश गरेको प्रहरीले जुम्लाका कान्तिपुरकर्मी एलपी देवकोटासहितका पत्रकारमाथि दुव्र्यवहार गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा प्रहरीले चिकित्सक र विद्यार्थीमाथि लाठीचार्ज गरिरहेको फोटो खिच्ने क्रममा प्रहरीले देवकोटाको क्यामरासमेत खोसेको थियो ।

प्रहरीले पत्रकारमाथि लाठीचार्जसमेत गर्‍यो । प्रहरीको लाठीचार्जबाट एपीवान टेलिभिजनका प्रकाश उपाध्याय घाइते भएका छन् । उनको दायाँ हातमा चोट लागेको छ । दुवै जनाको हातमा क्यामरा देखेपछि प्रहरीले उनीहरूमाथि दुव्र्यवहार गरेको थियो । प्रहरीले फोटो र भिडियो नखिच्न चेतावनी दिएको थियो ।

सुर्खेत एयरपोर्टमा नेपाली सेनाका कर्णेल सागर थापाले मुख्यमन्त्रीकै सामु पत्रकारलाई अश्लील गाली गरे । पत्रकारको आग्रहमा मुख्यमन्त्रीले आफ्ना प्रेस सल्लाहकार धु्रवविक्रम जीसीलाई हेलिकप्टरमा रहेका डा. केसीको तस्बिर खिच्न भनेका थिए । सोहीअनुसार अघि बढेका जीसीलाई कर्णेल थापाले अश्लील गाली गर्दै नजिकै नआउन चेतावनी दिएका थिए । वरिष्ठ सैन्य अधिकृतको व्यवहारप्रति ‘निरीह’ मुख्यमन्त्री त्यसपछि केही नभनी भीआईपी कक्षतिर लागेका थिए ।

अस्पतालभित्रै गोली चल्यो
प्रहरीले अस्पतालभित्रै गोली फायर गर्दा प्रहरी जवान कमल आचार्य गम्भीर घाइते भएका छन् । दायाँ छातीमा गोली लागेका उनलाई प्रतिष्ठानको शिक्षण अस्पतालमै उपचारपछि साँझ मनाङ एयरको हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ । प्रहरीले गोली फायर नभएको दाबी गरे पनि अस्पतालका एक चिकित्सकले उनको छातीमा फलामको टुक्रा भेटिएको बताए । आचार्यलाई जुम्लास्थित शिक्षण अस्पतालमा प्रारम्भिक शल्यक्रिया गरिएको थियो ।

नरसंहार रोक्न सम्झौता गरें : डा. केसी
डा. केसीले राज्य आतंककारीको शैलीमा उत्रेको र नरसंहार हुने सम्भावना बढेपछि आफू काठमाडौं जान तयार भएको बताएका छन् । ‘म यही पवित्र भूमिमा देहत्याग गर्न पनि तयार थिएँ,’ उनले सञ्चारकर्मीसँग भने, ‘तर राज्यले जनतामाथि दमन गर्दै अपहरणको शैलीमा मलाई काठमाडौं लैजान खोज्यो ।’ प्रहरीले अधिक बल प्रयोग गर्दा जुम्ली जनतालाई क्षति हुने भएपछि काठमाडौं जाने परिस्थितिसँग सम्झौता गरेको उनले बताए । सरकारको ‘गुन्डागर्दी’ शैलीले अस्पतालमा धेरै क्षति भएको डा. केसीले बताए ।

‘यसले शान्तिपूर्ण रूपमा आन्दोलन गर्न पाउने अधिकार हरण गरेको छ । अस्पतालभित्रै गोली चल्नुभन्दा ठूलो विडम्बना के हुन सक्छ ?’ प्रहरीले एम्बुलेन्समा राखेर हेलिप्याडतिर लैजानुअघि उनले भने, ‘राज्यले गरेको यो क्षतिको जिम्मा कसले लिने ?’

प्रकाशित : श्रावण ४, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?