दिउँसो घर राति टेन्टमा

गोरखा — वर्षापछि आएको पहिरोले सहिद लखन गाउँपालिका–६ घैरुङका ५० घरपरिवार विस्थापित भएका छन् । पहिरोको त्रासले घैरुङको तीनघरेका ३० र अँधेरीका २० परिवारले घर छाडेका हुन् । ‘दिउँसो घर जान्छाैं । खाना पकाएर खान्छौं, गाईबस्तु हेर्छाैं,’ स्थानीय गणेश थापाले भने, ‘रात परेपछि ओढ्ने, ओछ्याउने बोकेर टेन्टमा सुत्छौं ।’

दिउँसो घर राति टेन्टमा

पहिरोले गाउँ घेरिएको छ । गाउँको दायाँबायाँ दुवैतिर पहिरो गएको छ । ‘हिजो रातिको पानीले लेक, पखेरा र पँधेरा खोलाको ठाडो पखेरामा दुवैतिरबाट झन्डै तीन सय मिटर लामो पहिरो गयो,’ उनले भने, ‘गाउँमाथिको पहिरोले बस्तीसम्म आउन रोके पनि जोखिम बढेको छ ।’ वर्षा हुन छाडे घरमै फर्कने नत्र राति केही दिन टेन्टमै बस्ने स्थानीय बताउँछन् । ‘पानी परेन र दिन राम्रो हुँदै गए घरमै सुत्न सक्ने अवस्था आउला, नत्र रातभर पहिरोले बगाउँछ कि भनेर चिन्ता लिएर कसरी सुत्नु ?,’ थापाले भने । तीनघरेका स्थानीयले रेडक्रसद्वारा वितरित टेन्ट टाँगेर सुरक्षित भनिएको घले डाँडामा रात कटाउने गरेका छन् । चिसापानीको तीन घर पनि जोखिममा छन् ।

उक्त गाउँपालिकाको वडा नम्बर–६ कै अँधेरीका २० घरपरिवार पनि पहिरोको त्रासले विस्थापित भएका छन् । उनीहरू स्थानीय दुर्गा प्राविको भवन, पुडासैनी गाउँ र गैरीगाउँको महिला समूहको भवनमा बस्न थालेका छन् । दुर्गा प्राविमा ६, पुडासैनी गाउँमा ७ र महिला भवनमा ७ परिवारलाई राखिएको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए । अँधेरीमा बुधबार बिहान गएको पहिरोमा परी ८ महिने बालकसहित तीन जनाको ज्यान गएको थियो । अँधेरीका पाँच घरका आँगन र करेसामा पहिरो खसेको अध्यक्ष थापाले बताए । ‘जोखिममा परेका घरको लगत संकलन गरेका छाैं,’ उनले भने, ‘वर्षा कम भएपछि हिजोभन्दा आज सहज बन्दै गएको छ ।’

तीनघरेको वल्लोगाउँबाट पल्लोगाउँ जाने बाटोमा गएको पहिरो बिहीबार दिनभर लगाएर खोलेको उनले बताए । ‘रानीस्वारा र तीनघरेको बीचमा अलि ठूलो पहिरो छ,’ उनले भने, ‘करिब दुई किलोमिटर सडकको क्षेत्रमा ठाउँठाउँमा पहिरो छ, अब सुकेपछि त्यो बाटो पनि खोल्छौं ।’ उक्त मार्ग बुधबार नै एस्काभेटरको सहायताले खोल्ने प्रयास गरे पनि असफल भएको थियो । ‘मान्छे, मोटर सबै हिंड्न र गुड्न बन्द भएको छ,’ उनले भने ।

प्रकाशित : श्रावण ४, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?