कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सोसल मिडियामाथि नियमन हुन्छ : सञ्चारमन्त्री

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सोसल मिडियामा आएका सबै सूचना सही हुन नसक्ने भन्दै त्यसमाथि नियमन गरिने बताएका छन् । मूलधारका सञ्चारमाध्यम नियम कानुनको दायरामा हुने भए पनि सोसल मिडियाका कैयन् अभिव्यक्ति समाजका लागि हानिकारक हुन सक्ने भएकाले त्यसका लागि सम्बद्ध व्यक्तिलाई नै जिम्मेबार बनाइने उनले बताए ।

सोसल मिडियामाथि नियमन हुन्छ : सञ्चारमन्त्री

पत्रकारिता समाजको ऐना भएकाले यसले गर्ने आलोचनाबाट सरकार नडराउने पनि उनले बताए । कान्तिपुर दैनिकको स्थलगत भ्रमणमा बिहीबार आएका मन्त्री बाँस्कोटाले भने, ‘यो सरकारका कमजोरी नै छैनन् म भन्दिनँ, नराम्रा कुराको पछाडि मिडिया लाग्नैपर्छ, आलोचनाले अघि बढ्न सघाउँछ । यसबाट सरकार तर्सनु हुँदैन तर अफवाह फैलाइन्छ भने त्यसको प्रतिवाद गर्ने अधिकार सरकारलाई पनि रहन्छ ।’

मंसिरमा चुनाव जिते पनि तीन महिनापछि मात्रै सरकार गठन भएको र पुरानै अवस्थामा काम गर्नुपरेकाले सरकारले परिणाममुखी काम गर्न नसकेको उनको तर्क छ । ‘यो सरकारको दिनगन्ती साउन १ देखि सुरु हुन्छ किनभने आफ्नो ढंगको बजेटअनुसार काम सुरु भएको छ र परिणाम आउन एक वर्ष लाग्छ,’ उनले भने, ‘त्यसैले प्रेसले केही धैर्य गरे हुन्थ्यो । बच्चा पनि जन्मनेबित्तिकै हिँड्दैन, टुकुटुकु हिँड्न समय लाग्छ ।’

मूलधारको पत्रकारिता समाजको ऐना मात्रै नभएर नेतृत्वकर्तासमेत भएको उनले बताए । ‘यसले वास्तविकता देखाउने मात्रै होइन, मार्गनिर्देशन पनि गर्नुपर्छ । प्रतिपक्षीय भूमिका मात्रै सञ्चारको भूमिका हुनु हुँदैन,’ उनले भने, ‘मिडिया आलोचक हुनुपर्छ, आरोपकर्ता होइन । त्यसो भयो भने सरकारले सराहना गर्छ ।’

छापामाध्यमको परम्परागत पत्रकारितामा मात्रै नभएर विद्युतीय समाचार माध्यममा पनि कान्तिपुरले विश्वसनीय समाचार दिएर आफूलाई अब्बल साबित गरेकामा एक पूर्व पत्रकारका हैसियतले लोभ र ईष्र्यासमेत लागेको उनले बताए ।

सरकारले कुनै पनि बहानामा मिडियामाथि अंकुश लगाउने काम नगर्ने उनले बताए । ‘सरकारले कानुन बनाएर कस्नेभन्दा सञ्चारजगत् स्वनियमन हुनुपर्छ,’ उनले भने, ‘नयाँ छाता कानुन निर्माण गर्ने प्रक्रियामा छौं । त्यतिबेला मिडिया जगत्ले सरकारलाई सुझाव दिनेछ भन्ने लाग्छ ।’ विश्वसनीय अखबारलाई सामाजिक सञ्जालमा जथाभावी सम्प्रेषण गरिने सूचनाले दिग्भ्रमित तुल्याएको भन्दै त्यसलाई रोक्न सरकारले कानुन ल्याउन लागेको उनले बताए ।

सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता भएको र त्यसले प्रकाशन तथा प्रसारणको अधिकार नराख्ने भन्दै बास्कोटाले झूटा परिचय खडा गरेर जथाभावी लेख्ने र चरित्रहत्या गर्नेलाई कारबाहीको दायरामा ल्याउने तयारी सरकारले गरेको जानकारी दिए ।

मन्त्री बाँस्कोटाले सरकारले भर्खर काम गर्न थालेको र नयाँ आर्थिक वर्षदेखि मात्र यसको वास्तविक काउन्ट डाउन सुरु भएको जिकीर गरे । सरकारको मूल्यांकन गर्ने बेला नभइसकेको विचार राख्दै उनले कान्तिपुरमा केही दिनयताका सम्पादकीयप्रति असन्तुष्टि पनि खुला गरे ।

बाँस्कोटालाई कान्तिपुर मेडिया ग्रुप मुख्यालय, थापाथलीमा यसका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले स्वागत गरेका थिए ।

प्रकाशित : श्रावण ४, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?