डा केसीसँगको वार्ता अनिश्चित

रासस

काठमाडौँ — चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ ।

थप वार्ताबारे छलफल भएपनि अर्को निर्णय भइनसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बताएका छन् ।

यसअघि केसी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको र सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको हो । डा केसीले अधिकारसहितको वार्ता टोलीको पनि माग गरेका छन् ।

सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । डा केसी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अघिल्लो सरकारले ल्याएको १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन रोक्काको व्यवस्था भएको चिकित्सा शिक्षा अध्यादेशको मर्मअनुसार नै विधेयक आउनुपर्ने अडान छ भने सरकार विधेयकलाई संसदीय प्रक्रियाबाट टुंगो लगाउने पक्षमा छ ।

डा केसीलाई ल्याउनु अत्यावश्यक भएकाले विहीबार बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् ।

अनशनरत डा केसीलाई हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रकाशित : श्रावण ४, २०७५ १०:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डा. केसीको जीवन रक्षा माग गर्दै तनहुँमा प्रदर्शन

प्रताप रानामगर

दमौली — अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल विद्यार्थी संघ तनहुँले शुक्रबार दमौलीमा प्रर्दशन गरेको छ । जुम्लामा अनसनरत डा.केसीलाई सरकारले अपहरण शैलीमा काठमाडौ लगिएको भन्दै संघले विरोध जनाएको छ । 

भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसबाट डा. केसीको समर्थन र सकारकारको विरोध गर्दै बृहत र्‍याली निकालेको थियो । क्याम्पसबाट सुरु भएको र्‍याली गणेशमानचोक, सफासडक हुदै दमौलीको मुख्य चोकमा कोणसभा गरेका थिए ।

र्‍यालीमा सहभागीहरुले डा.केसीको साथमा छौं, डा.केसीको जीवन रक्षा गर, सरकारी गुण्डागुर्दी अन्त्य गर, चिकित्सा शिक्षा ऐन पारित गर, माफिया तन्त्र अन्त्य गर, माथेमा प्रतिवेदन लागु गर, माफियाको मिसन, सिटामोलमा कमिसन लगाएतका नारासहित प्रदर्शनमा उत्रिएका थिए ।

माथेमा कार्यदलको सुझावअनुसार चिकित्सा विधेयक बनाउनका लागि दबाबमूलक प्रर्दशन गरिएको संघले जनाएको छ । प्रदर्शनमा नेपाल मानव अधिकार संगठन तनहुँले ऐक्यबद्धता जनाएको छ ।

प्रकाशित : श्रावण ४, २०७५ १०:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT