समृद्धिका लागि सहयोग जारी रहनेछ : अमेरिकी राजदूत

काठमाडौँ — अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले नेपाल समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताएकी छन् । उनले राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएकाले यसको उपयोगमा नेताहरू नचुक्ने विश्वास आफ्नो रहेको बताइन् ।

समृद्धिका लागि सहयोग जारी रहनेछ : अमेरिकी राजदूत

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कनुअघि उनी नेपाली नेताहरूसितको बिदाइ भेटमा व्यस्त छिन् । उनले शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसित भेट गरेकी थिइन् ।


नेपालमा रहेर काम गर्न पाउँदा निकै खुसी लागेको उल्लेख गर्दै राजदूत अलैनाले नेपालको विकासमा अमेरिकी सहयोग र साथ सधैं रहने बताइन् । उनले दाहालले शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नेपालको दिगो शान्तिको कामनासमेत गरिन् । पूर्वप्रधानमन्त्री दाहालले टेप्लिट्जको कार्यकाल सफल रहेको बताए । ‘नेपालको विकास र प्रगतिमा तपाईंले खेलेको भूमिका सकारात्मक रह्यो । नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायित्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहने आशा छ,’ उनले भने ।


उनले आगामी दिनमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकारको सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे । राजदूत टेप्लिट्जले बिहीबार प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासित समेत बिदाइ भेट गरेकी थिइन् ।


प्रकाशित : श्रावण ४, २०७५ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?