३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तोडिँदै सम्बन्धहरू

विराटनगर — मोरङको एक गाउँका वृद्धवृद्धा सम्बन्धविच्छेद गर्न निवेदन लिएर जिल्ला अदालत पुगे । श्रीमतीका तर्फबाट दिइएको निवेदनपछि अदालतले वृद्ध अवस्थामा किन अलग बस्ने भन्दै दुवैलाई मनाएर सहमति गर्ने प्रयास गर्‍यो तर सम्भव भएन ।

तोडिँदै सम्बन्धहरू

६८ वर्षका श्रीमान्सँग ६५ वर्षीया श्रीमतीले सम्बन्धविच्छेद गर्न चाहेकी थिइन् । करिब ५० वर्षको वैवाहिक सम्बन्ध वृद्धावस्थामा आएर तोड्नुको कारण थियो– श्रीमान्ले भारतको असममा अर्को विवाह गरेर उतै घरजम गर्नु ।

‘सहमतिको अवस्था नभएपछि आखिर उनीहरू छुट्टिए,’ जिल्ला अदालतको मेलमिलाप शाखामा एक वर्ष काम गरिसकेका कर्मचारी हर्कबहादुर ढकालले भने, ‘आआफ्ना नाममा रहेको सम्पत्ति सम्बन्धितकै नाममा हुने गरी सम्बन्धविच्छेद भयो ।’ उनका अनुसार अनेक कारणले सम्बन्धविच्छेद गर्नेको संख्या बढिरहेको छ ।

अदालतको तथ्यांकले ढकालको भनाइलाई पुष्टि गरेको छ । प्रेमविवाह होस् वा मागी, सम्बन्धमा खटपट, शंकालु प्रवृत्ति र उमेर अनि स्वभाव नमिल्नेजस्ता कारणले कतिपय दम्पती अलग बस्न चाहने गरेको ढकालको अनुभव छ ।

गत वर्ष महानगर ६ का एक मारवाडी दम्पतीले बिहेको १५ दिनमै सम्बन्ध विच्छेद गर्‍यो । श्रीमतीका तर्फबाट आएको निवेदन पछि अदालतले सकेसम्म सहमति गराउने प्रयत्न गर्‍यो । तर श्रीमतीसँगै बस्न मञ्जुुर नभएपछि सम्बन्धविच्छेद भयो । ‘यो केसचाहिँ सम्पत्ति कारण देखियो,’ अदालतका एक कर्मचारीले भने, ‘सम्बन्धविच्छेदपछि श्रीमान्का तर्फबाट पाइने अंशमा लाखौं रुपैयाँ लेनदेन भयो ।’ कतिपय यस्ता मुद्दा सम्पत्तिसँग सम्बन्धित हुने गरेको उनी बताउँछन् । असार अन्तिम साता अदालतमा भेटिएकी एक युवतीले पतिसँग सधैं असमझदारी भइरहने भएकाले सम्बन्धविच्छेदका लागि अदालत आउनुपरेको बताइन् ।

‘सानो–सानो कुरामा पनि झगडा भइरहने, अपमानित भएको महसुस गर्नुपर्ने अवस्था आएकाले सँगै बस्न मन लागेन,’ उनले भनिन्, ‘अवस्था सामान्य होला कि भनेर पर्खंदापर्खंदै ढिलो भइसकेपछि कानुनी रूपमै अलग हुने निर्णय लिएकी हुँ ।’ यस्तै, एउटा बैंकका जागिरे र उनकी श्रीमतीबीच बिहे भएको केही समयमै अनौठो कारणले सम्बन्धविच्छेद भयो । बिहेको केही समय सँगै बसेका उनीहरूबीच अविश्वास बढेपछि सम्बन्ध तोड्नुपर्ने अवस्था आएको अदालत स्रोतले जनाएको छ ।

‘श्रीमती शंकालु भएकाले श्रीमान् कसैसँग बोल्दा वा भेटदासमेत झगडा गरिहाल्ने बानी रहेछ,’ अदालतको मेलमिलाप शाखाकी भूमिका सुवेदीले भनिन्, ‘यही कारणले अविश्वास बढेपछि बेग्लाबेग्लै बस्न थालेका उनीहरूले आखिरमा सधैंका लागि अलग रहने निर्णय गरे ।’

यो मुद्दामा श्रीमतीले बेग्लै बस्दै आएकाले अंश पाऊँ भनेर निवेदन दिएकी थिइन् । तर श्रीमान्ले अंश मात्र होइन, अब बेग्लाबेग्लै बस्नुपर्छ भन्दै सम्बन्धविच्छेदै गरौं भने । यसमा मञ्जुरी जनाउँदै श्रीमतीले सम्बन्धविच्छेदकै निवेदन अदालतसमक्ष दिएकी थिइन् । उनीहरू अलग हुने भएपछि श्रीमतीले विराटनगरको एक स्थानमा २१ धुर जग्गामा बनेको घर र साढे ८ लाख रुपैयाँ ‘मानो चामल’ र अंशबापत पाएकी थिइन् । विपन्न परिवारकी एक युवतीले सम्पन्न परिवारका युवकसँग बिहे गरेको केही महिनामै सम्बन्धविच्छेद गरेको अर्को उदाहरण पनि अदालतमा छ । यो मुद्दामा बिहेपछि युवतीले श्रीमान्बाट ८० लाख रुपैयाँ लिएर सम्बन्धविच्छेद गरेकी थिइन् ।

जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार भर्खरै विवाह गरेकादेखि दशकौं सँगै बसेका जोडीले समेत विभिन्न कारणले सम्बन्धविच्छेद गर्ने गरेका छन् । ‘सुरुमा हामी सकेसम्म दुवैलाई मिलाउने प्रयत्न गर्छौं,’ उनले भने, ‘तर कसैगरी सहमतिमा आउन नचाहेपछि नियमअनुसार सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाउने गरेका छौं ।’ दम्पतीबीचको निरन्तर झगडा, श्रीमान्ले सधैं मादक पदार्थ खाएर झगडा गर्ने, अन्यत्र सम्बन्ध राख्ने, श्रीमतीलाई कुटपिट गर्नेजस्ता विभिन्न कारणले सम्बन्धविच्छेद हुने गरेको छ । यो वर्षको असार मसान्तसम्म जिल्ला अदालतमा सम्बन्धविच्छेदका ९ सय ९४ निवेदन दर्ता भएका छन् ।

तीमध्ये ८ सय ३५ वटा मुद्दामा सम्बन्धविच्छेदको फैसला भएको थियो । यसैगरी गत वर्ष ८ सय ७६ मुद्दा दर्ता भएकामा ७ सय १३ जोडीले सम्बन्धविच्छेद गरेको अदालतले जनाएको छ । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा गत वर्ष सम्बन्धविच्छेदका २२ निवेदन दर्ता भएका थिए । स्थानीय तहले पनि यस्तो मुद्दामा सकेसम्म मेलमिलाप गराउँछ । नभए मुद्दा जिल्ला अदालतमा पठाउने गरेको छ । स्नातकोत्तर क्याम्पस विराटनगरमा समाजशास्त्रका प्राध्यापक डिल्ली प्रसाईं पछिल्लो समय बढेको खुलापन तथा महिला पक्षका कानुन हाबी हुनुले पनि सम्बन्धविच्छेदको संख्या बढिरहेको बताउँछन् ।

प्रकाशित : श्रावण ५, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?