१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

जुम्लामा गोली चलेको होइन : रक्षामन्त्री पोखरेल 

देवनारायण साह

मोरङ — उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा प्रहरीले गोली नचलाएको दाबी गरेका छन् । 

जुम्लामा गोली चलेको होइन : रक्षामन्त्री पोखरेल 

विराटनगरमा शनिबार पत्रकारसँगको कुराकानीमा मन्त्री पोखरेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको झुटो भएको भएको बताए । ‘प्रतिष्ठानमा गोली चलेको समाचार कुन सञ्चारमाध्यमले बाहिर ल्यायो त्यो गलत, दुखद र शतप्रतिशत झुटो हो,’ उनले भने, ‘डा. केसीलाई अपहरणको शैलीमा बल प्रयोग गरेर नभई जीवन रक्षाका लागि काठमाडौं ल्याइएको हो ।’


‘कुनै चिकित्सकलाई समातेर लगेको भन्नु पनि वकवास कुरो हो, उहाँहरुलाई बोलाएर छलफलका लागि लगिएको हो ।’ पोखरेलले भने । उनले डा. केसीलाई कुनै राजनीतिक स्वार्थको कब्जामा जानुबाट बचाउनु अत्यन्तै जरुरी भएको बताए ।


डा. केसीको आन्दोलन गर्ने तरिका सर्वसत्तावादी, अधिनायकवादी भएको भन्दै उनले कुनै एक जना व्यक्तिको भनाईको पछि सरकार लाग्न नसक्ने बताए । ‘डा. केसीलाई कुनै विषय राम्रो लाग्दैमा बिना छलफल दबावमा निर्णय गर्नु गलत हुन्छ र लोकतन्त्रको बिरुद्ध हुन्छ,’ उनले भने ।


शिक्षण अस्पतालहरुलाई राष्ट्रियकरण गर्ने फैलाइएको हल्लाको पछि सरकार लाग्न नसक्ने उनले बताए । ‘शिक्षा र स्वास्थ्य जनताका आधारभुत आवश्यकता हुन, ती पूरा हुनुपर्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा यी विषयहरु कसरी पूरा गर्ने हो त्यतातिर जानुपर्छ । तर यो भन्दा अलग ढंगले गए पूरा हुन सक्दैन ।’


शेरबहादुर देउवा नेतृत्वको सरकारले जाँदाजाँदै हतारहतारमा ल्याएको अध्यादेश जस्ताको तस्तै विधेयकको रुपमा ल्याउनु पर्ने भन्नु गलत भएको मनत्री पोखरेलले बताए । ‘देउवा सरकारले ल्याएको अध्यादेश जस्ताको त्यस्तै ल्याउनु पर्ने माग गलत हो,’ उनले भने, ‘हिजोको अध्यादेशलाई अहिले कतिपय विषयहरुमा संशोधन र परिमार्जन गरेर बिधेयकको रुपमा ल्याएका हौं र त्यसमा भएका राम्रा र नराम्रा पक्षको बारेमा सांसदहरुमाझ छलफल हुन्छ ।’


संसदले सबै कुरोको फैसला गर्ने भन्दै उनले विधेयक गलत भए प्रक्रियाबाट टुंगिनु पर्ने बताए । ‘कसैको आदेश र फरमानले राज्य व्यवस्था चल्न सक्दैन, कुनै एक व्यक्तिले भनेको कुरो मान्दै गयौं भने देश कहाँ पुग्छ,’ पोखरेलले भने, ‘संसदमा विधेयकमाथि छलफल गरेर गलत विषयहरुलाई सुधार गर्न सकिन्छ तर त्यो ल्याउनै पाउँदैनौं, संसदमा प्रस्तुत गर्न पाउँदैनौं भन्नु नै अधिनायकवाद, सर्वसत्तावाद हो ।’


संसदमा छलफलको क्रममा अल्पमत र बहुमत हुन सक्छ तर प्रतिपक्षले ल्याएको उत्कृष्ट संशोधन अल्पमतमा परेपछि जनतामा लग्नुपर्ने उनले बताए ।

प्रकाशित : श्रावण ५, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?