१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतमा नेपाली गाडीलाई सहज प्रवेश दिने सहमति

सुरेशराज न्यौपाने

नयाँ दिल्ली — भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्बाध प्रवेश पाउने भएका छन् । नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिवहन तथा राजमार्ग मन्त्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरूलाई सहज ढंगले भारत प्रवेश र आवागमन गर्न अनुमति दिन सहमत भएको हो ।

भारतमा नेपाली गाडीलाई सहज प्रवेश दिने सहमति
सन् २०१४ मा भएको नेपाल–भारत मोटर भेहिकल सम्झौताअन्तर्गत संयुक्त कार्य समूहको शुक्रबार नयाँ दिल्लीमा सम्पन्न बैठकमा उक्त विषयमा सहमति जुटेको हो । ‘बैठकमा नेपाली नम्बर प्लेटका सवारीसाधनलाई भारतीय गाडीहरूले पाएजस्तै पारस्परिक रूपमा सुविधा दिन र तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ नेपाली वार्ता टोलीका प्रमुख भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले कान्तिपुरसित भने ।

नेपाली नम्बर प्लेटका सवारीसाधनहरूले भारत प्रवेश गर्दा झन्झटिलो र लामो प्रक्रिया पूरा गर्ने बाध्यता रहेको हुँदा त्यसलाई भारतीय नम्बर प्लेटका सवारी साधानले नेपाल प्रवेश गर्दा पाएको जस्तो सुविधा उपलब्ध गराउन विगत लामो समयदेखि नेपाली पक्षले माग गर्दै आएको थियो ।

भारतीय नम्बर प्लेटका गाडीहरूले नेपाल प्रवेशका लागि अनुमति पाउन भन्सार विन्दुमा न्यूनतम शुल्क तिर्दै सामान्य प्रक्रिया पूरा गरे मात्र पुग्छ । त्यस्तो अनुमति लिएपछि ती गाडीहरू नेपालभर निर्बाध ढंगले गुड्ने गर्छन् । जबकि नेपाली नम्बर प्लेटका सवारीसाधनहरूले भारतीय भूमिमा प्रवेश गर्नुअघि लामो र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

नेपाली सवारीसाधनहरूले भारतीय दूतावास वा वीरगन्जस्थित भारतीय कन्सुलेटको कार्यालयबाट पूर्वअनुमति लिनुपर्ने बाध्यता छ । त्यसका अतिरिक्त लामो कागजी प्रक्रियासमेत पूरा गर्नुपर्ने हुन्थ्यो । त्यसैकारण नेपाली पक्षले विगत लामो समयदेखि भारतीय सवारीसाधनले जस्तै पारस्परिक हिसाबले सुविधा दिन माग गर्दै आएको थियो ।

यसबाहेक शुक्रबारको बैठकमा नेपाल र भारतबीच हाल सञ्चालनमा रहेका अन्तरदेशीय बस सेवाअन्तर्गत जनकपुर–अयोध्या रुटलाई समेत औपचारिक रूपमा समावेश गर्ने निर्णय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द मोदीको गत जेठमा भएको नेपाल भ्रमणका बेला जनकपुर–अयोध्या बस सेवाको सांकेतिक रूपमा उद्घाटन गरिएको थियो । तर, उक्त रुटले औपचारिकता नपाएका कारण जनकपुर–अयोध्या बस सेवा उद्घाटनमै सीमित थियो । शुक्रबार सम्पन्न सहसचिवस्तरीय बैठकले उक्त रुटलाई औपचारिकता प्रदान गरेको जानकारी नेपाली वार्ता टोलीका संयोजक सहसचिव शर्माले बताए ।

शर्माका अनुसार हाल सञ्चालनमा रहेका छवटा अन्तरदेशीय बससेवाका रुटमा जनकपुर–अयोध्यालाई पनि समावेश गर्ने निर्णय भएको छ । यसबाहेक हाल सञ्चालनमा रहेका रुटहरूलाई थप व्यवस्थित र सहज बनाउन विविध पक्षमाथि छलफल भएको शर्माले जानकारी दिए । ‘अन्तरदेशीय बस सेवालाई थप सहज र सरलीकृत बनाउने विषयमा छलफल केन्द्रित रह्यो,’ शर्माले बताए ।

दिल्लीमा सम्पन्न बैठकमा भारतीय पक्षको नेतृत्व सडक परिवहन तथा राजमार्ग मन्त्रालयकी सहसचिव लिना नन्दनले गरेकी थिइन् । यसअघि संयुक्त कार्य समूहको दोस्रो बैठक गत फेब्रुअरीमा काठमाडौंमा बसेको थियो । उक्त बैठकमा नेपाली सवारीसाधनका सम्बन्धमा नेपाली पक्षले राखेको चासोलाई ‘नोट’ गरेको जानकारी भारतीय पक्षले दिएको थियो । उक्त बैठकमा नेपाली पक्षको नेतृत्व सहसचिव शर्माले नै गरेका थिए । दिल्लीमा काठमाडौं बैठकमा उठेका विषयमाथि नै औपचारिक रूपमा छलफल भएको जानकारी शर्माले दिए ।


प्रकाशित : श्रावण ५, २०७५ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?