२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सम्पदाको देब्रे फन्को

प्रशान्त माली

ललितपुर — तिब्बती शब्द ‘कोरा’ को अर्थ हो– घडीको दिशामा तीर्थस्थल परिक्रमा गर्नु । उपत्यकाका प्रमुख तीर्थस्थल चोभार, स्वयम्भू, बूढानीलकण्ठ, चारुमती, पशुपतिनाथ, गुह्येश्वरी, बौद्ध स्तूपालगायतलाई शनिबार देब्रे दिशाबाट परिक्रममा गरियो– साइकल चढेर ।

सम्पदाको देब्रे फन्को

‘काठमाडौं कोरा २०१८ साइक्लिङ च्यालेन्ज’ मा सहभागी २ हजार २ सय १३ जना साइकल चालकको लक्ष्य भने ‘परिक्रमा’ मात्र थिएन । थियो– पर्यटन प्रवद्र्धन र जनसेवा ।


मन्दिरैमन्दिरको थलो काठमाडौं उपत्यकाको उपल्लो भागलाई फन्को लगाइएको सय किलोमिटरसम्मको साइकलयात्रा रमितालाग्दो थियो । व्यक्तिका फरक क्षमतालाई ध्यान दिई र्‍यालीलाई तीन तहमा बाँडिएको थियो । पचास, पचहत्तर र सय किलोमिटर । ५० किमि रुटमा पाटन दरबार क्षेत्र चोभार–कीर्तिपुर–नैकाप–सीतापाइला–बालाजु–धापासी–कपन–बौद्ध हुँदै पुन: पाटन पुगेर टुंगिएको थियो ।


७५ किमि कीर्तिपुर–मच्छेगाउँ–बलम्बु–इचंगु नारायण–बालाजु–टोखा–बाँसबारी–बौद्ध रुटमा थियो । सय किमि यात्रा बौद्ध–सुन्दरीजल–भक्तपुर केन्द्रित थियो । तीनवटै दूरीका र्‍याली पाटन दरबार क्षेत्रबाट सुरु भएर त्यहीं आइपुगेको थियो ।


सोसियल टुर्सले यही सिजनमा ८ वर्षदेखि यस्तो र्‍याली गर्दै आएको छ । नियमित सहभागी हुँदै आएका टोखाका कृष्णप्रसाद शाहीले शारीरिक अभ्याससँगै अरूको भलाई हुने भएकाले सामेल भएको बताए । पर्यटन गाइड पेसा रहेका उनले भने, ‘साइक्लिङ पेसा भएको र पर्यटन प्रवद्र्धन तथा सामाजिक हितमा सहयोग पुग्ने भएकाले किन नजाने भन्ने लाग्यो ।’


आयोजकका अनुसार काठमाडौंमा साइक्लिङ रुट पहिचान र अफ सिजनमा पर्यटन प्रवद्र्धन सम्भावनाको सन्देश दिन र्‍याली आयोजना गरिएको हो । यसमा ५३ जना विदेशीसमेत सहभागी थिए । र्‍याली पूरा गर्ने सबैलाई तक्मा दिएर सम्मान गरिएको थियो । ‘यो कुनै प्रतियोगिता होइन, सहभागी सबै विजेता हुन्,’ सोसियल टुर्सका निर्देशक राज ज्ञवालीले भने, ‘साइक्लिङले धार्मिक परम्परागत रुट पहिचान गर्न मद्दत गरेको छ । यसले उपत्यकामा साइक्लिङ गर्नेको संख्या पहिचान र उनीहरूको बर्सेनि भेटघाटसमेत गराउँछ ।’


साइक्लिङका क्रममा हालसम्म ६५ लाख रुपैयाँ संकलन गरेर सहयोग गरिएको छ । यस वर्ष ५ लाख संकलन भएको अनुमान छ । ज्ञवालीका अनुसार यस वर्ष संकलित रकम श्रीलंकामा साइकल दौड प्रतियोगितामा सहभागी भई मृत्यु भएका नारायणगोपाल महर्जनको परिवारलाई सहयोगार्थ र ‘लेडिज माउन्टेन ग्रुप’ लाई प्रोत्साहनस्वरूप प्रदान गरिनेछ ।


पहिलोपल्ट २०६८ मा सुरु र्‍यालीमा ३५ जना सहभागी थिए । २०६९ मा ३ सय ५० जना पुगे । उनीहरूबाट संकलित रकम रुकुमको प्रसूति केन्द्रलाई ९ लाख रुपैयाँ सहयोग गरिएको थियो । २०७० मा ८ सय जना सहभागीबाट संकलित १७ लाख बैतडी, २०७१ मा संकलित १५ लाखबाट ललितपुरको प्यूटार, २०७२ मा दोलखामा हेल्थपोस्ट बनाउन सहयोग गरेको आयोजकले बताएको छ ।


काठमाडौंका प्रशान्त श्रेष्ठ र्‍यालीमा चार पटक सहभागी भए । भन्छन्, ‘पहिला टोखाको उकालो चढ्न गाह्रो थियो, यस वर्ष सजिलैसँग पार गरें । आफूलाई पनि फाइदा गर्दोरहेछ । यात्रा अविस्मरणीय भयो ।’ अर्का सहभागी प्रकाश मानन्धरले थपे, ‘यात्राले निरन्तर साइक्लिङ गर्नुपर्ने प्रेरणा दिएको छ ।’


‘साइकलको देश भनेर नेदरल्यान्डलाई चिनिन्छ, त्यहाँ सरकारले सन् २०४० सम्ममा डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ,’ टुर्सका व्यवस्थापक विपिन महर्जनले भने, ‘विदेशमा साइकलयात्रीलाई विशेष सम्मान छ । नेपालमा झन् खस्कँदै गएको छ । यसको महत्त्व बुझाउन पनि प्रत्येक वर्ष र्‍याली आयोजना गर्दै आइरहेका हौं ।’


उनले कम खर्चबाट पनि यात्रा गर्न सकिने माध्यम साइकल भएकाले सरकारले पनि प्रोत्साहन गर्नुपर्ने बताए । उनका अनुसार ५० किमि यात्रामा सहभागीलाई एमेच्योर राइडर वा नवप्रवेशी भनिन्छ । ‘७५ र सय किमि यात्रा गर्नेलाई परिपक्व साइकलयात्री भनिन्छ,’ उनले भने, ‘र्‍यालीले नयाँ यात्रीलाई साइक्लिङ सिक्ने अवसरसमेत प्रदान गर्छ ।’

प्रकाशित : श्रावण ५, २०७५ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?