१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सीमाबाट फर्काइए महिला

कपिलवस्तु — गत आवमा सीमा–नाका कृष्णनगर हुँदै बाहिर जान लागेका १ सय ५२ महिलाको उद्धार गरिएको छ । दलालले विभिन्न प्रलोभन दिएर गैरकानुनी र असुरक्षित तरिकाले भारत र तेस्रो मुलुक लैजान लागेका बेला उनीहरूलाई शान्ति पुन:स्थापना गृहले उद्धार गरेको हो ।

सीमाबाट फर्काइए महिला

उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको छ । गत आवमा घरबाट भागेर र धेरै कमाउने प्रलोभनमा परेर उनीहरू देशबाहिर जान लागेका थिए । त्यस्तै कतिपयले नक्कली विवाहको कागजात बनाई भारत जान लागेका बेला गृहले उद्धार गरेको थियो । उद्धार गरिएकामध्ये ८२ जनालाई गृहले उनीहरूका अभिभावक बोलाएर बुझाएको थियो ।

थप बुझ्नुपर्ने भएका ६८ जनालाई प्रहरीमा बुझाएको थियो । उक्त अवधिमा ३ जनालाई भारतका विभिन्न ठाउँबाट उद्धार गरी ल्याइएको गृहका कार्यक्रम संयोजक भूमिराज भट्टराईले बताए । उद्धार गरिएकामध्ये अभिभावकले स्वीकार नगरेकी एक युवतीलाई गृहले आफ्नै पुन:स्थापना गृहमा राखेको छ । रोजगारको सीप दिएर उनलाई समाजमा पुन:स्थापना गर्ने संयोजक भट्टराईले बताए ।

गृहले सीमा–नाका कृष्णनगरमा ३ हजार २ सय ५६ महिलालाई मानव बेचबिखन तथा ओसारप्रसारविरुद्ध परामर्श दिएको छ । ‘अनेक रूपमा दलाल आउँछन्,’ संयोजक भट्टराईले भने, ‘बेलैमा दलालको पहिचान गरी सजग हुनुपर्छ । लहलहैमा लाग्न दिनुहुँदैन ।’ यस्तै उक्त अवधिमा केआई नेपालले कृष्णनगर नाकाबाट १ सय २७ महिला तथा बालिकालाई उद्धार गरेको जनाएको छ ।

सीमा–नाकाबाट बाहिरिने बेला उनीहरूको गतिविधि शंका लागि सोधपुछ गर्दा गलत तरिकाले गइरहेको पाइएकाले तत्काल उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये १४ जनालाई चितवनमा रहेको केआई नेपालको सुरक्षित आवास गृह संरक्षणमा राखिएको छ । परिवारले पुन:स्थापना गर्न नमानेका, गरिब, विपन्न रहेकालाई संरक्षणमा राखिएको छ । सीप सिकाइसकेपछि समाजमा पुन:स्थापना गरिनेछ ।

प्रकाशित : श्रावण ६, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?