२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सरकारले जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको देउवाको आरोप

रासस

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । 

सरकारले जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको देउवाको आरोप

छत्तीसौँ बीपी स्मृति दिवसका अवसरमा कांग्रेस केन्द्रीय समितिद्वारा आइतबार आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो भन्दै कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बीपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए । आमरण अनशनरत प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्मअनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले उनका माग सम्बोधन गर्न तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार नै विधेयक ल्याउनुपर्नेमा जोड दिए ।


कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीका विचारबाट पार्टी विचलित नभएको स्पष्ट पार्दै भने, “बीपीले परिकल्पना गरेअनुसार संविधानसभाबाट संविधान जारी भएको र ग्रामीण क्षेत्रको विकासका लागि २०४८ सालयता कांग्रेसले विभिन्न कार्यक्रम अघि बढाएको छ ।”


ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय चिकित्सा शिक्षा पुगोस् भन्ने प्रा डा केसीका माग उपेक्षा गरेर सरकार दमनमा उत्रिएको आरोप लगाए । कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बीपीले मार्गनिर्देशन गरेको सिद्धान्त आत्मसात् गरे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ भन्दै पार्टीभित्रका गुटउपगुटको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन नेतृत्वलाई सुझाव दिए ।


पार्टी कोषाध्यक्ष सीतादेवी यादवले बीपीले देखाएको मार्ग र प्रजातन्त्रका लागि गरेका योगदान सबै कांग्रेसीजनका मनमा भए पनि बाटो बिराएर पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राखेकी थिइन् । कांग्रेस नेता गोपालमान श्रेष्ठले बीपीका सपना पूरा गर्न संविधानसभाबाट संविधान जारी गरी कार्यान्वयन गर्ने लगायत काम कांग्रेस नेृतत्वमै सफल भएको बताए ।


कार्यक्रममा कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँण, नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी, कांग्रेस ललितपुरका सभापति मदन आमात्यलगायतले आगामी दिनमा कांग्रेसलाई सशक्त रुपले अघि बढाउन एक ढिक्का बनाउनुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित : श्रावण ६, २०७५ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?