२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पत्ता लाग्यो नयाँ उन्यू 

चेतनाथ आचार्य

बेइजिङ — पेकिङ विश्वविद्यालयमा पोस्टडक गरिरहेका नेपाली वैज्ञानिक डा. नवल श्रेष्ठले पत्ता लगाएको उन्युको वैज्ञानिक नाम उनकै थरबाट राखिएको छ ।

पत्ता लाग्यो नयाँ उन्यू 

श्रेष्ठले पत्ता लगाएको हुनाले नयाँ प्रजातिको वनस्पति (उन्यू) को नाम ‘हुपरजिया श्रेष्ठा’ राखिएको विश्वविद्यालयले जनाएको छ । पत्ता लगाउने व्यक्तिकै नाम या थरबाट नामकरण हुने पद्धतिअनुसार नयाँ प्रजातिको नाम राखिएको हो ।


कुनै प्रजातिको वैज्ञानिक नामकरण गर्न ल्याटिनीकरण गर्ने प्रचलन छ । जसले पत्ता लगाएको हो, त्यो प्रजातिको नाम राख्दा सम्बन्धित वैज्ञानिकको थरलाई ल्याटिनीकरण गरिन्छ । त्यही कारण उन्यूको नाम ‘श्रेष्ठा’ बनाइएको हो ।


आफ्नो नाममा नयाँ प्रजातिको उन्यू नामकरण हुँदा निकै खुसी लागेको श्रेष्ठले बताए । ‘नेपालका केही वैज्ञानिकको नाममा मात्र वनस्पति नामकरण भएको छ,’ उनले भने, ‘यस प्रकारको उपलब्धि मेरा लागि मात्र नभएर राष्ट्रकै लागि गौरवको कुरा हो ।’


यो नयाँ प्रजातिको उन्यू चीनका चच्याङ, फुचियान, क्वान्सीसहित म्यान्मार र भारतको आसाममा पनि पाइन्छ । खोज अनुसन्धान क्रममा उनले हुपरजिया नान्लिन्गेन्सिस चीनको हनान प्रान्तमा र हुपरजिया एसियाटिका नामक उन्यू चिलिन प्रान्तमा पत्ता लगाएका हुन् ।


उनको खोज तथा अनुसन्धानले चिनियाँ विश्वविद्यालयमा नेपाली वैज्ञानिकको उच्च क्षमता प्रदर्शन भएको विश्वविद्यालयले जनाएको छ । यसले गर्दा आगामी दिनमा चीनमा पीएचडी र पोस्टडक गर्न चाहने नेपाली वैज्ञानिकका लागि पनि सहज वातावरण सिर्जना भएको छ ।


विराटनगरका श्रेष्ठले चीनको चाइनिज एकेडेमी अफ साइन्सबाट वनस्पतिशास्त्रमा पीएचडी गरेका हुन् । उनी पीएचडी गर्न सन् २०११ मा चीन आएका थिए । सन् २०१४ मा पीएचडी सकेका उनले सन् २०१५ को जनवरीदेखि जुनसम्म पेकिङ विश्वविद्यालयको भिजिटिङ स्कलर्सका रूपमा काम गरे । सन् २०१५ को जुलाईदेखि सोही विश्वविद्यालयमा पोस्टडकमा अनुसन्धान गरिरहेका छन् ।


चीनमा पीएचडी गर्ने क्रममा उनले नेपालका हिमाली भेगमा पाइने जडीबुटीको औषधीय गुण तथा प्रयोग विधिबारे पनि अनुसन्धान गरेका छन् । लोपोन्मुख जडीबुटीको पहिचान र तिनमा भविष्यमा पर्न सक्ने खतराबारे पनि उनले अनुसन्धान गरेका छन् ।


उनले गुराँस फूलको उत्पत्ति साढे ६ करोड वर्षअगाडि उत्तरपूर्वी एसियाको समशीतोष्ण जलवायु भएको उच्च भूभागमा भई कालान्तरमा दक्षिणपश्चिम चीन हुँदै हिमालय तथा दक्षिणपूर्वी एसियामा फैलिएको तथ्यसमेत पत्ता लगाएका थिए ।

प्रकाशित : श्रावण ६, २०७५ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?