केसीको स्वास्थ्य गम्भीर तर स्थिर

अतुल मिश्र

काठमाडौँ — २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर भए पनि स्थिर छ । सरकारले जुम्लाबाट आफूलाई अपहरण शैलीमा ल्याएको भन्दै केसीले राजधानी आएदेखि नै स्वास्थ्य जाँच गराउन अस्वीकार गर्दै आएका छन् ।

केसीको स्वास्थ्य गम्भीर तर स्थिर

‘उहाँको स्वास्थ्य स्थिति क्रिटिकल (गम्भीर) भए पनि स्टेबल (स्थिर) छ,’ त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर स्पेसलिस्ट डा. प्रमेशसुन्दर श्रेष्ठले कान्तिपुरसँग भने, ‘उहाँले कुनै जाँच गर्न दिनुभएको छैन । त्यसैले यकिन भन्न सकिने स्थिति छैन ।’ उनले केसीमा छाती र मांसपेशी दुख्ने, चक्कर आउनेलगायत समस्या देखिएको बताए । ‘लामो अनशन र शरीरमा विभिन्न तत्त्वको कमीले यस्तो समस्या देखिएको हो,’ उनले भने । स्वास्थ्य जाँच गराउन नमानेका कारण चिकित्सकले उनको रगतमा पोटासियम, म्याग्नेसियम, क्याल्सियमलगायत इलेक्ट्रोलाइटको घटदो मात्राबारे कुनै जानकारी प्राप्त गर्न सकेका छैनन् ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहँदा नै उनको मुटुको चालमा गम्भीर गडबडी देखिएको त्यहाँका निर्देशक डा. पुजन रोकायाले बताए । ‘त्यतिबेला हामीले विज्ञसँग सम्पर्क गर्दा मुटुको यस्तो गडबडीले अनशन बसेका व्यक्तिको शरीरमा विभिन्न तत्त्वको कमी हुने भएकाले जोखिम रहेको बताएका थिए,’ उनले भने ।


आइतबार पनि वार्ता भएन

सरकार र डा. केसीबीच आइतबार पनि औपचारिक/अनौपचारिक वार्ता हुन सकेन । डा. केसीका प्रतिनिधि डा. अभिषेकराज सिंहले सरकारी पक्षबाट वार्ताका लागि कुनै पहल नभएको बताए । यसैबीच क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, पूर्वमन्त्री गोपाल किराँती, मानव अधिकारवादी नेता कृष्ण पहाडीले आइतबार अनशनस्थल पुगेर केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।


सबैभन्दा लामो अनशन

डा. केसीको यसपटकको आमरण अनशन सबभन्दा बढी दिनको हुने भएको छ । यसअघि उनी तेह्रौं अनशन २३ दिन बसेका थिए । उनको अनशन सोमबार २४ दिन पुग्दै छ ।


प्रकाशित : श्रावण ६, २०७५ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?