कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

देवदहमा अब बाच्छी मात्रै

दूध उत्पादन बढाउने र नश्ल सुधार गर्ने लक्ष्यअनुरूप अभियान सुरु
अमृता अनमोल

बुटवल — रूपन्देहीको देवदहका गाईले अब बाच्छी मात्रै जन्माउनेछन् । देवदह नगरपालिकाले दूध उत्पादन बढाउन गाईलाई सेक्स सिमोन (कृत्रिम गर्भाधानको एक विधि) दिन लागेको छ । यसपछि गाईले बाच्छी मात्रै जन्माउनेछन् ।

देवदहमा अब बाच्छी मात्रै

कृत्रिम गर्भाधानसँगै एक प्रकारको रसायनयुक्त वीर्य सुईका माध्यमबाट दिइन्छ । यसले महिला मात्रै बन्ने क्रोमोजोम तयार गर्छ । गाईलाई कृत्रिम गर्भाधान गराउँदा योसमेत सँगै दिइन्छ । केही विज्ञका अनुसार सेक्स सिमोनका माध्यमबाट गर्भाधान गराउँदा गाईले बाच्छी नै पाउने सम्भावना शतप्रतिशत रहन्छ ।


बाच्छा व्यवस्थापनको झन्झट रोक्न र दूध उत्पादन बढाउन सेक्स सिमोन अभियान ल्याएको नगरपालिका प्रमुख हीराबहादुर खत्रीले बताए । ‘दूध उत्पादनमा किसानको लगानी बढी र आम्दानी कम भएको गुनासो आइरहेको छ । यसको विकल्पमा पनि सेक्स सिमोन अभियान ल्याएका हौं,’ उनले भने, ‘गाईले बाच्छी मात्रै जन्माएपछि लगानी कम र आम्दानी बढी हुनेछ ।’ यसअघि नश्ल सुधार कार्यक्रममार्फत नगरपालिकाले दूध उत्पादन अभियान चलाएको थियो ।


नगरपालिकाले सेक्स सिमोन कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । यसबाट १ हजार गाईमा कृत्रिम गर्भाधान गराउने लक्ष्य छ । एक डोजलाई ३ हजार रुपैयाँ पर्ने अनुमानसहित १ हजार गाईका लागि ३० लाख रुपैयाँ बजेट छुट्याएको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण नेपालले बताए ।


नगरपालिकामा करिब ६ हजार ५ सय गाई छन् । यस वर्ष भने परीक्षण वर्षका रूपमा १ हजारमा मात्रै प्रयोग गरिनेछ । प्रमुख प्रशासकीय अधिकृत नेपालका अनुसार सेक्स सिमोन पशु प्रजनन केन्द्र पोखराले गराउँछ । देवदहमा भने पोखरा वा बाहिरी मुलुक कहाँबाट ल्याउने भन्नेबारे छलफल चलेको छ । ‘सेक्स सिमोनको खरिद र प्रयोगबारे धेरै अध्ययनपछि मात्रै कार्यक्रम ल्याएका हौं,’ उनले भने, ‘यसैले गर्भाधान प्रक्रिया पनि छिट्टै सुरु गर्नेछौं ।’


पहिले–पहिले बाच्छा हुर्केपछि जोत्नका लागि प्रयोग हुन्थे । टयाक्टरबाट जोत्न थालेपछि ती बेकामे भएका छन् । यसैमाथि उन्नत जातका बाच्छामा जुरो नहुने भएकाले पनि ती बाच्छा प्रयोगमा आउँदैनन् । गाईलाई लक्ष्मी मान्ने र बाच्छालाई बसाहका रूपमा पुज्ने भएकाले किनबेच कमै हुन्छ ।


सडक वा जंगलमा छोडदा पनि स्थानीय सरकारले जरिवाना लिन थालेका छन् । यसले हैरान भएका किसानका लागि पनि सेक्स सिमोन अभियान प्रभावकारी देखिएको छ । ‘घरमा पाल्न लागतले नभ्याउने, सडकमा छोडदा सजाय हुने । बाच्छाका कारण निकै समस्या थियो,’ देवदह खैरेनीका किसान बालकृष्ण भट्टराईले भने, ‘नगरपालिकाले बाच्छी मात्रै जन्माउने अभियान ल्याएपछि केही सहज होलाजस्तो लागेको छ ।’


नेपालमा करिब ३ वर्ष पहिलेदेखि सेक्स सिमोनको प्रयोग थालिएको हो । केन्द्र सरकारले विभिन्न क्षेत्रमा केही मात्रा प्रयोग गरेर परीक्षणसमेत गरेको छ । त्यसमा करिब ९९ दशमलव ९ प्रतिशत गाईले बाच्छी मात्रै जन्माएका छन् । स्थानीय तहले आफंै किनेर भने यसको प्रयोग कतै भएको छैन ।


दूध उत्पादन बढाउन नगरले नै बजेट व्यवस्थापन गरेर सेक्स सिमोन कार्यक्रम ल्याएको नगरप्रमुख खत्रीले बताए । ‘हामो नगर दूध उत्पादनमा नमुना हो । यो नमुना कायम राख्न चाहन्छौं,’ उनले भने, ‘लगानी न्यूनीकरण गरी आम्दानी बढाउन घाँसमा आधारित पशुपालन र पशुमा नश्ल सुधारको कार्यक्रमलाई पनि प्राथमिकतामा राखेका छौं ।’


नगरपालिकाका अनुसार देवदहमा करिब ८ हजार गाईभैंसी छन् । करिब २ हजार ५ सय किसानले व्यावसायिक दूध उत्पादन गर्छन् । ४० वटा फार्म र १२ दुग्ध सहकारी पनि दूधसित सम्बन्धित छन् । यो नगरबाट दैनिक झन्डै १८ हजार लिटर दूध बिक्री वितरण हुन्छ ।


दूधबाट मात्रै वार्षिक ३० करोडभन्दा बढी नगद आम्दानी हुन्छ । दूध संकलनका लागि डेढ दर्जन संकलन केन्द्र छन् । ९ वटा चिस्यान केन्द्र खोलिएका छन् । एउटा दुग्ध प्रशोधन केन्द्र छ । देवदह नगरपालिकाले करिब ५ वर्षअघिदेखि ‘एक नगर एक उत्पादन’ अभियानअन्तर्गत दुग्ध उत्पादन अभियान थालेको थियो ।

प्रकाशित : श्रावण ६, २०७५ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?