कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

मन्त्रीहरू कार्यालयभन्दा कार्यक्रमतिर

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राप्रति लक्षित गरिएको आफ्नो विवादास्पद टिप्पणीप्रति आइतबार सार्वजनिक रूपमा माफी मागे । शुक्रबार एउटा निजी विद्यालयको कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंकै शैलीमा विवादास्पद अभिव्यक्ति दिएका थिए ।

मन्त्रीहरू कार्यालयभन्दा कार्यक्रमतिर

बोल्दा होस नपुर्‍याउँदा मन्त्री तामाङ विवादमा त परे नै, सँगै यो घटनाले असम्बन्धित र महत्त्वहीन कार्यक्रममा मन्त्रीहरू बारम्बार किन पुग्ने गर्छन् भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

एक महिनाअघि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले गृहजिल्ला कास्कीमा भैंसी गोठ उद्घाटन गरेको तस्बिर सार्वजनिक भएपछि यस्तै चर्चामा तानिएका थिए । मन्त्री तामाङ र विश्वकर्माका यी दुई घटना दृष्टान्त मात्रै हुन्, तर अधिकांश मन्त्रीहरू दिनहुँँजसो कुनै न कुनै असम्बन्धित कार्यक्रममा सहभागी भएकै हुन्छन् । तर, सबै चर्चामा आउँदैनन् ।

मन्त्री तामाङका अनुसार राजनीतिक दलका नेताहरू कुन कार्यक्रममा सहभागी हुने, कुनमा नहुने भनेर
छुट्याउनै कठिन छ । प्रधानमन्त्री र मन्त्री भइसकेपछि त झनै गाह्रो रहेछ । चिनेजानेका साथीभाइको आग्रह टार्न नसक्दा तामाङ शुक्रबार यस्तै निजी विद्यालयको कार्यक्रममा पुगेका थिए । ‘निम्ता आएका ५० प्रतिशत कार्यक्रममा पुग्न सकिन्न, बाँकीमा जाने कोसिस गर्छु,’ उनी भन्छन्, ‘तर कहिलेकाहीँ शब्द छनोटमा ध्यान नपुग्दा यस्तै विवादमा तानिँदोरहेछ, अब संवेदनशील बन्छु ।’

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा अहिले २४ सदस्य मन्त्री छन् । दुई तिहाइ बढीको समर्थन प्राप्त सरकारको प्रमुख लक्ष्य र गन्तव्य ‘आर्थिक विकास एवं समृद्धि’ छ । त्यही उद्देश्यअनुसारको लक्ष्य प्राप्त गर्ने दिशामा अघि बढ्नुभन्दा मन्त्रीहरू यस्तै सामान्य कार्यक्रममा समय फाल्दै आएका छन् । ‘कतिपय त सान र मानका लागि मात्रै मन्त्री भएका हुन् कि जस्तो लाग्छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘मन्त्री भएको सान देखाउने र सस्तो लोकप्रियतामा रमाउने मन्त्रीहरू पनि छन् ।’

मन्त्रीहरू कस्ता कार्यक्रममा सहभागी हुने, के बोल्ने, के नबोल्ने भन्नेबारेमा सरकारी संहिता छैन । दोस्रो पटक सत्तारोहण गरेलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई तीनबुँदे निर्देशन दिएका थिए– समय खेर नफाल्नू, मितव्ययी बन्नू र भ्रष्टाचार नगर्नू । प्रधानमन्त्रीको यो निर्देशनबाहेक मन्त्रीहरूका लागि सरकारी आचारसंहिता छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल प्रधानमन्त्रीको निर्देशनलाई मन्त्रीहरूको संहिताका रूपमा व्याख्या गर्दै भन्छन्, ‘यसलाई साउन १ गतेदेखि कडाइका साथ पालना गर्न भनिएको छ । पालना भए/नभएको अब मूल्यांकन हुँदै जान्छ ।’

राजनीतिक विश्लेषक नीलाम्बर आचार्य मन्त्रीहरू असम्बन्धित कार्यक्रममा जान नहुने बताउँछन् । ‘सरकारी संहिताले भन्दा आफ्नो आचरणले काम गर्नुपर्छ,’ आचार्यको भनाइ छ, ‘मन्त्रीहरू कस्तो कार्यक्रममा जाने, कस्तोमा नजाने भन्ने निर्णय आफैंले गर्न सक्नुपर्छ । शिक्षाको क्षेत्रमा कानुनमन्त्री किन जानुपर्‍यो ?’ असम्बन्धित क्षेत्रको कार्यक्रममा सहभागी बन्दा त्यसबारे हुने विषयवस्तुको अज्ञानताले मन्त्रीहरू विवादमा तानिने गर्छन् । जसको पछिल्लो दृष्टान्त कानुनमन्त्री तामाङ बनेका छन् ।

मन्त्री तामाङ भने जनप्रतिनिधि, त्यसमा पनि मन्त्रीका लागि कार्यक्रममा नजाँदा समस्या बन्ने बताउँछन् । ‘कार्यक्रममा गएन भने साथीभाइ मन्त्री भएपछि ठूलो भयो भन्छन्, आफ्नो निर्वाचन क्षेत्रमा त सानै कार्यक्रममा पनि जानुपर्ने बाध्यता हुन्छ,’ तामाङले भने, ‘जनप्रतिनिधि सार्वजनिक कार्यक्रममा मात्रै होइन, विवाह, व्रतबन्ध, पास्नीदेखि आर्यघाटसम्म नै पुग्नुपर्ने हुन्छ ।’ प्रधामन्त्रीले समय खेर नफाल्न निर्देशन दिए पनि अधिकांश मन्त्रीहरू मन्त्रालयमा भन्दा बढी कार्यक्रममै व्यस्त हुने गर्छन् ।

राजनीतिक विश्लेषक आचार्य सामान्य कार्यक्रममा मन्त्री पुग्दा हौसला बढ्ने भए पनि मन्त्रीहरूले आफ्नो विषय र क्षेत्रसँग सम्बन्धित हो कि होइन भन्नेमा विचार पुर्‍याउन सुझाउँछन् । ‘मन्त्रीहरू राज्यको नीति निर्माण गर्नेदेखि सरकारको लक्ष्य प्राप्तिका लागि योजना र कार्यक्रम बनाउने दिशामा बढी खटिनुपर्ने हुन्छ,’ आचार्यले थपे, ‘जुन पायो त्यही कार्यक्रममा गएर समय बर्बाद गर्नु हुन्न । आफ्नो क्षेत्रमा पर्ने र दक्षता देखाउन सक्ने कार्यक्रममा सहभागी बन्नुपर्छ ।’

प्रकाशित : श्रावण ७, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?